PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

केन्द्रीय कमिटीको बैठकमा कसरी प्रस्तुत हुँदैछन् माओवादी केन्द्रका असन्तुष्ट नेता?



पहिलोपोस्ट

केन्द्रीय कमिटीको बैठकमा कसरी प्रस्तुत हुँदैछन् माओवादी केन्द्रका असन्तुष्ट नेता?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रणनीति अनुसार केन्द्रीय कमिटीको बैठकमा अघि बढने बताएको छ। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर पार्टीमा असन्तुष्ट देखिएको नारायणकाजी पक्षका नेताहरुले बैठकमा प्रचण्डको रणनीतिअनुसार अघि बढने बताएका हुन्। बैठक राष्ट्रिय सभागृहमा आज दिउँसो १ बजे बैठक बस्ने तय भएको छ।

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पारित गर्न अध्यक्ष प्रचण्डले सहयोग गरेको भन्दै श्रेष्ठ पक्षका नेताहरु असन्तुष्ट छन्। ८ औं महाधिवेशनबाट संसोधनबिना एमसीसी पारित नगर्ने पार्टी निर्णयलाई प्रचण्डले कुल्चिएको असन्तुष्ट नेताहरुको आरोप छ। असन्तुष्टिलाई दस्तावेजिकरण भने नगरिएको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए।

'अध्यक्ष कसरी प्रस्तुत हुनुहुन्छ त्यही आधारमा विवादलाई अघि बढाउछौँ। दस्तावेजिकरण भएको छैन्,'उनले भने।

बैठकमा एमसीसी सम्झौता, स्थानीय निर्वाचन, केन्द्रीय कमिटी पूर्णता, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थायी र पोलिटब्युरो गठन लगायतका एजेन्डा छन्। माओवादी केन्द्रमा एमसीसी सम्बन्धीको विवादले पार्टी विभाजनसम्म जानसक्ने भन्दै प्रचण्डले श्रेष्ठसँग लगातार मंगलवार,बुधवार र बिहीवार छलफल गरेका थिए।

श्रेष्ठले एमसीसीमाथिको विवादलाई सार्वजनिक गरेको भन्दै प्रचण्डले सोमवार आयोजित पत्रकार सम्मेलनमा एमसीसीको विरोध गर्दैमा नारायणकाजीको पछि नेता कार्यकर्ता नलाग्ने बताएका थिए। प्रचण्डको उक्त अभिव्यक्तिपछि माओवादी केन्द्रमा श्रेष्ठ समूह झनै चिढिएको छ।

यस्तै,माओवादी केन्द्रले केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेको छैन् भने पदाधिकारी चयनमा पनि अन्यौल कायमै रहेको छ। मुख्य पदहरुमा ककसलाई अघि बढाउने भन्नेमा माओवादी केन्द्रमा विवाद छ।

पार्टीको महासचिवका लागि नेताहरु जनार्दन शर्मा,वर्षमान पुन,पम्फा भुसाल,देव गुरुङ लगायतको नाम चर्चामा छ। पुस १८ गते प्रचण्डले २४६ जनाको मात्रै केन्द्रीय कमिटीको नाम बन्द सत्रको हलमा प्रस्तुत गरेका थिए। २९९ जनाको केन्द्रीय कमिटी हुनुपर्नेमा प्रचण्डले अपुरो कमिटी बनाएका थिए। त्यसयता केन्द्रीय कमिटीबाट पूर्णता दिने बताइएको भए पनि माओवादी केन्द्र अनिर्णित रहदै आएको छ।

सुरुमा नेता वर्षमान पुन चीनमा उपचार गराइरहेको भन्दै केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको थियो। त्यसपछि कोभिड-१९ संक्रमणलाई देखाएर माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सर्दै आएको थियो। केन्द्रीय कमिटीले नै पदाधिकारीको टुंगो लगाउने भनिए पनि हालसम्म अध्यक्ष प्रचण्ड बाहेकका पदाधिकारी माओवादीले चुन्न सकेको छैन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell