PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

केन्द्रीय कमिटीमा एमसीसीबारे प्रचण्डको ब्रिफिङ, पदाधिकारी चयन र रामवृक्ष यादवको शालिकमाथि छलफल हुँदै



पहिलोपोस्ट

केन्द्रीय कमिटीमा एमसीसीबारे प्रचण्डको ब्रिफिङ, पदाधिकारी चयन र रामवृक्ष यादवको शालिकमाथि छलफल हुँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक जारी छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ता गठबन्धनको सहमतिमा पारित भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्बन्धमा ब्रिफिङ गरेका छन्। 

माओवादीले गत पुसमा सम्पन्न भएको ८औँ महाधिवेशनका एमसीसी यथास्थितिमा पास नगर्ने प्रस्ताव पारित गरेको थियो। तर, अध्यक्ष प्रचण्डले अन्तिम समयमा १२ बुँदे व्याख्यात्मक घोषणालाई टेकेर एमसीसी पारित गर्न सहमति जनाएका थिए। त्यसपछि माओवादीमा चर्को विवाद उत्पन्न भएको छ।

विवाद चर्किँदै जाँदा प्रचण्डले त्यसलाई सम्बोधन गर्दै आफ्नो कदमको बचाउ गरेको एक नेताले जानकारी दिए। एमसीसी पारित भएसँगै सत्ता गठबन्धन निर्वाचन सम्मै जाने वातावरण बनेको उनले दाबी गरेका छन्।

बैठकमा ६ वटा एजेन्डामा छलफल हुँदै छ। बैठकमा अध्यक्ष प्रचण्डले रिपोर्टिङ गर्ने र एमसीसीको बारेमा छलफल गर्ने एजेन्डा तय भएको छ। त्यस्तै, संगठनात्मक कामबारे एजेन्डा तय भएको छ। जसअन्तर्गत केन्द्रीय समितिमा सदस्य थप गर्ने, पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी चयनलाई राखिएको छ। 

त्यस्तै, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, स्थानीय तहको निर्वाचनको तयारीको बारेमा छलफल गर्ने एजेन्डासमेत तय भएको छ।

विविधमा रामवृक्ष यादवको सालिकबारेसमेत छलफल हुने छ। महाधिवेशनमा प्रदेश २ बाट बोल्ने टोली नेताले गिरीराजमणि पोखरेलले शहीद रामवृक्ष यादवको सालिक ढालेको भन्दै 'अपराधी'को संज्ञा दिएपछि विवाद बढेको थियो।

त्यस्तै, विविधमै नेकपा मसाल सम्पर्क केन्द्रसँगको एकताको बाँकी काम र नागरिकता लगायतका महत्त्वपूर्ण विधेयकको विषयमा समेत छलफल हुने एजेन्डा तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell