PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

बुरुक्क बुरुक्क उफ्रेर विरोध गर्नेले नै एमसीसी पास गरे : चित्रबहादुर केसी, 'नेपालका बामपन्थी खामपन्थी बने'



पहिलोपोस्ट

बुरुक्क बुरुक्क उफ्रेर विरोध गर्नेले नै एमसीसी पास गरे : चित्रबहादुर केसी, 'नेपालका बामपन्थी खामपन्थी बने'

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका बामपन्थीहरु खामपन्थीमा परिणत भएको आरोप लगाएका छन्। विभिन्न साना बाम घटकले आयोजना गरेको विरोधसभामा बोल्दै नेता केसीले यस्तो आरोप लगाएका हुन्।

उनले संसद्मा केही दिन अगाडिसम्म एमसीसीको विरोधमा 'बुरुक्क बुरुक्क' उफ्रनेहरुले एमसीसी पास गरेको आरोप लगाए।

'केही साथीहरुले दुई चार महिना हल्ला गरे। के हल्ला गरे भने एमसीसी भित्र भएका खराबी छन्, हटाउनुपर्छ। एमसीसी संशोधन गरेर पारित गर्नुपर्छ भनेर बुरुक्क बुरुक्क उफ्रन्थे', उनले अगाडि थपे, 'आखिरमा आफैले व्याख्या गरेर एमसीसीभित्र भएका खराबी खारेज गर्ने रे। कसले भन्दा माधव जी र प्रचण्ड जीले खारेज गर्ने रे? अमेरिकाले मान्नुपर्‍यो नी?'

उनले अमेरिकाले आफ्नो स्वार्थका लागि लगानी गरेकोसमेत आरोप लगाए।

'अमेरिकाले एमसीसीलाई लगानी भनिरहेको छ। यहाँका नेताहरु भन्छन्- यो दान हो। सहयोग हो', उनले भने, 'नेपालको हितमा भएको भए अनुदानको हामीले किन विरोध गर्नुपर्थ्यो? खारेज हुनुपर्छ भन्ने कुरै थिएन। अहिलेसम्म कति अनुदान आयो? अहिलेसम्म कसैले विरोध गरेको थियो?'

'नेपालको सार्वभौमिकता र अखण्डमा आँच आउँछ की नाई भनेर सोध्ने कसलाई रे? अमेरिकालाई। अनि अमेरिकाले अँ, आँच पर्छ भन्दिन्छ?' उनले प्रश्न गरे।

तीन वर्ष पहिले अहिलेको प्रतिपक्षले पास गर्ने प्रयास गरेको भन्दै अहिलेसम्म अनुदान संसद्बाट पारित गरेको इतिहास नभएको उनले दाबी गरे।

'हामी गरिबलाई भिकमंगालाई दिएको दान संसद्बाट पारित गर्ने चलन थिएन', उनले भने, 'बामपन्थी बामपन्थी रहेनन् खामपन्थी भए। सत्ता प्रधान भए। देशको हितमा भएनन्। नेपालका नदी नालाहरु विदेशीलाई एक एक गरेर बेचे। २७ वर्ष पहिले भारतलाई सुम्पदा नेपाली जनताले यस्तै आन्दोलन गरेका थिए। अहिलेका सत्ता र प्रतिपक्षबाट महाकालीलाई भारतमा बेचे।'

उनले चीनलाई ठेगान लगाउन अमेरिकाले नेपाललाई आफ्नो पक्षमा पारेको दाबीसमेत गरे।

'अमेरिकालाई के लागेको छ भने नेपाल चीनको काखमा छ। नेपाललाई आफ्नो पक्षमा नपारेसम्म चीनलाई ठेगान लगाउन सकिन्न भनेर अमेरिका लागेको छ। एमसीसीलाई संसद्बाट पारित गरेर हामीले अमेरिकालाई निम्तो दिएका छौँ,' उनले भने।

उनले एमसीसी पास गरे अमेरिकी आशिर्वाद लिएर चुनाव जित्ने रणनीतिमा दलहरुलाई लागेको आरोपसमेत उनले लगाए।

'एमसीसी पास गरेर अमेरिकाको आशिर्वाद लिने। अनि अमेरिकाको आशिर्वाद लिएर चुनाव जित्ने र अनि देशको जनताको हितमा होइन देशको अहितमा काम गर्ने', उनले भने, 'एमसीसीका दलालहरुले भन्छन् अब नेपाली विदेश जानुपर्दैन रे। अहिलेसम्म कति आयो विदेशबाट रकम, त्यसको ब्याज मात्र जनताले पाए होलान। सावाँ त उनीहरुले नै खाइरहेका छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell