
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले नियन्त्रणमा लिएर धन सोहोर्न एमसीसीमार्फत अमेरिका नेपाल आएको बताएका छन्। यसलाई राजनीतिक दलका नेताहरुले साथ दिएको आरोपसमेत उनले लगाए।
प्रतिनिधिसभाबाट एमसीसी अनुमोदनको विरोधमा विभिन्न ८ वाम घटकले गरेको विरोधसभामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
अहिले नेपाल अमेरिकाको किल्लामा गएकोसमेत उनको आरोप रह्यो। 'रसियाले युक्रेनमाथि आक्रमण गरेको छ। हेर्दा युक्रेन र रसियाको युद्ध जस्तो लागे पनि यो अमेरिका र उसको नेतृत्वको नेटो र रुसको युद्ध हो,' उनले भने, 'नेपाल असंलग्न राष्ट्र हो। हुनु न खानु रुस विरुद्ध बोलेका छन्। नेपालको परराष्ट्र नीति असंलग्न हो। तर, शेरबहादुर देउवाले अमेरिकाको पक्षमा बोलेका छन्।'
उनले आफ्नो समर्थन युक्रेनी नेटो र अमेरिकालाई नभएर युक्रेनी जनताको पक्षमा रहेको भन्दै अगाडि भने, 'नेटो र अमेरिका पछि हट्नुपर्छ। युक्रेनबाट रुस पनि पछि हट्नुपर्छ।'
उनले प्रचण्डलाई जनताप्रति विश्वास नभएको आरोपसमेत लगाए।
'जनयुद्धको बेलामा भन्नुहुन्थ्यो मलाई शक्ति चाहियो भने कार्यकर्ताको बीचमा जान्छु। तर अहिले भन्नु हुन्छ। उहाँलाई लण्डनमा बसेको व्यक्तिले पुरै साहस भरिदियो रे,' विप्लवले भने, 'प्रचण्डले कार्यकर्ताले के भन्छन् त्यसमा विश्वास छैन। जनताले के भन्छन् त्यसमा विश्वास छैन। लण्डनमा बस्ने सूर्य सुवेदीले के भन्छन् त्यसमा विश्वास छ।'
प्रचण्डले एमसीसी पास भएपछि आयोजित पत्रकार सम्मेलनमा लण्डनमा रहेका अन्तर्राष्ट्रिय कानुनका प्रध्यापक सूर्य सुवेदीले पाँच पृष्ठ लामो पत्र लेखेर एमसीसीको बारेमा भनेको बताएका थिए।
'सपना देखेका होलान कसैले नेपालको सगरमाथामा झण्डा गाड्ने विदेशी दलालहरु सपना नदेखे हुन्छ। सगरमाथा हाम्रो हो,' उनले भने।
संसदले बचाउन नसकेको देश बचाउँने उद्घोष गरे। 'यो संसदले घुँडा टेकेको छ। हामीले टेकेका छैनौँ। हामीले यो देश बचाउने छौँ,' उनले भने।