21.jpg)
पोखरा: फागुन १४ गते राति १२ बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा फोन आयो। फोनमा नाबालिग किशोरीले आफूलाई जबर्जस्ती यौन पेशामा संलग्न गराइएको प्रहरीलाई सुनाइन्।
सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टर मुकेश न्यौपानेको नेतृत्वमा प्रहरी टोली खटियो। किशोरीले दिएको सूचनालाई पछ्याउँदै प्रहरी टोली पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइड पुग्यो।
सोही रात ३ बजे अपराधमा संलग्न तीन जनामध्ये दुई जना पूजा थापा र विशाल योगीलाई प्रहरीले पक्राउ गर्यो। अपराधका मुख्य योजनाकार नारायण पोखरेललाई भने प्रहरीले १८ गते राति पक्राउ गरेको थियो।
किशोरीको सूचना प्रहरी ठाँउ आइपुगेपछि थप दुई जनाले प्रहरीमा सम्पर्क गरेका थिए। तीन जनाले उपलब्ध गराएको जानकारी अनुसार प्रहरीले अनुसन्धान गर्दा उनीहरुबाट पीडित अन्य समेत रहेको खुलेको छ।
पीडित सबै ग्रामीण भेगका सामान्य लेखपढ गर्न मात्र जानेका छन्। होटल, रेष्टुरेन्टमा जागिर लगाइदिने प्रलोभनमा पारी योजनाकारले जबर्जस्ती यौन पेशामा धकेलेको अनुसन्धानमा खुलेको छ।
सुरुवातको केही समय भने जस्तो काम लगाइदिने र पछि विस्तारै जबर्जस्ती यौन पेशामा फसाउने गरेको खुलेको प्रहरीले बताएको छ। यसरी योजनाकारले बढी कम उमेरका किशोरीलाई लक्षित गर्ने गरेको पाइएको छ। जति किशोरीको उमेर कम त्यति बढी मूल्य तोकिने गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार किशोरी खोज्दै उनीहरुसम्म पुग्ने पोखरा बाहिरबाट आएका पर्यटक बढी छन्। पोखरा बाहिरबाट आएका पर्यटकले सुरुवातमा यौन अपराधीलाई सम्पर्क गर्ने र अपराधमा संलग्न व्यक्तिले ह्वाट्सएप, भाइबरमा तस्बिर पठाउने गर्थे।
उनीहरुले रोजेको महिलाको फरक-फरक मूल्य समेत तोकिएको थियो। अपराधीले ग्राहकले भनेको होटल र निश्चित स्थानमा कारमार्फत किशोरीलाई आफैँ पुर्याउने गरेका थिए।
‘फोटो पठाएर उनीहरुले रोजेको व्यक्ति भनेको स्थानमा पुर्याउन जाने गरेका रहेछन्, जति कम उमेर त्यति महँगो मूल्य राखेको पाइयो,’ इन्सपेक्टर न्यौपानेले भने।
प्रहरीसम्म आएका तीन जनामध्ये दुई जना २० वर्षमाथिका छन्। महिनावारी र बिरामी भएको समयमा समेत जबर्जस्ती पठाएको पीडितले प्रहरीसमक्ष पीडा पोखेका थिए।
अनुसन्धानकै क्रममा प्रहरीसमक्ष अर्को कुरा पनि खुलेको छ। पक्राउ परेका व्यक्ति यसअघि जबर्जस्ती यौन व्यवसायमा लगाउने सञ्जालभित्रकै व्यक्ति रहेको खुलेको छ।
९ महिना अगाडि कास्की प्रहरीले जबर्जस्ती यौन व्यवसायमा संलग्न गराउने एक गिरोहलाई पक्राउ गरेको थियो। अहिले समातिएका तीन जना सोही गिरोहका व्यक्ति रहेको प्रहरीको भनाइ छ।
त्यस समय पक्राउ परेका व्यक्ति कसुर ठहर भएर कारागार चलान भइसकेका छन्। अहिले पक्राउ परेका व्यक्तिले विगत ९ महिनादेखि नै काम गरिरहेको बयान दिएका छन्।
‘तीन जनाको फरक बयान छ, एक जना ९ महिनादेखि, अर्कोले ७ र एक हप्तादेखि गर्न लागेको भनेका छन् तर उनीहरु ९ महिना अगाडि पक्राउ परेका सञ्जालभित्रका व्यक्ति हुन्’, न्यौपानेले भने, ‘उनीहरु त्यतिबेला पक्राउ परे पनि यिनीहरुले भित्रभित्र काम गरिरहेका रहेछन्।’
‘मुकु अपरेसन’ दिएको यस अनुसन्धानमा प्रहरीले लेकसाइड क्षेत्रमा यौन अपराधको अन्य सञ्जाल रहेको आशंका गरेको छ। अपराधीले लेकसाइडमा फ्ल्याट भाडामा लिएरै अपराध गरिरहेका थिए।
प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीका अनुसार पक्राउ पर्नेमा पोखरा वडा नम्बर ७ मुस्ताङचोक स्थायी घर भई वडा नम्बर १७ रातोपहिरा बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोकको चौतारा वडा नम्बर ६ ठूलीधारा स्थायी ठेगाना घर भई पोखरा-६ जरेबर बस्ने २२ वर्षीया पूजा थापा मगर र बाँकेको चिसापानी वडा नम्बर ९ स्थायी घर भई पोखरा-६ जरेबर बस्ने २२ वर्षीय विशाल योगी रहेका छन्।
प्रवक्ता तिवारीका अनुसार उनीहरुलाई यौन व्यवसाय मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट ८ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।