काठमाडौँः ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल अदालतले तोकेको धरौटी नबुझाएपछि थुनामा पुगेका छन्। उच्च अदालत पाटनले अग्रवाललाई ४५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी रकम बुझाउन नसक्दा उनलाई थुनामा पठाइएको हो।
'अदालतको आदेश अनुसार धरौटी नबुझाएकाले कारागार चलान गरिएको छ,' महानगरीय प्रहरी परिसरका एसएसपी सुदीप गिरीले भने।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स भएको उजुरी परेपछि दुई साताअघि पक्राउ गरेको थियो। काठमाडौँको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइन सञ्चालन अमित अग्रवाल एकाएक सम्पर्कविहीन भएपछि चर्चामा आएका थिए।
सञ्जय अधिकारी र टंक शम्शेर जबराको चेक बाउन्स भएपछि प्रहरीमा उजुरी परेको थियो। सञ्जयको ५० लाख र टंक शम्शेर जबराको डेढ करोड रुपैयाँको चेक बाउन्स भएको उजुरी परेको प्रहरीले जानकारी दिएको छ। पुस २२ गते अमितसहित उनका परिवारका ९ सदस्य एकाएक नेपाल छोडेर भारत पुगेका थिए। आफन्तसँग सम्पर्कविहीन भएपछि महानगरीय प्रहरी वृत्त मालीगाउँमा आफन्त सम्पर्कविहीन भएको भन्दै अमितकी बहिनी रजनी अग्रवालले पुस २३ गते उजुरी दिएकी थिइन्।
माघ २७ गते अमित काठमाडौँ आइपुगेका थिए। परिवारमा बिरामी भएकाले एक महिनासम्म सम्पर्कमा नभएको भन्दै आफ्नो बचाऊ गरेका थिए। अग्रवालल परिवार विभिन्न बैंक र व्यक्तिसँग मिटर ब्याजमा एक अर्ब भन्दा बढी लोन लिएको देखिएको छ। ३४ दिन परिवारसँगै बेपत्ता भएका उनको परिवार पछि सम्पर्कमा आएको थियो।
सम्पर्कमा आएपछि भने मिटर ब्याजको विषयलाई उनले लुकाएका छन्। मिटर ब्याज दिनेहरु पहुँचवाला भएको र उनीहरुको नाम सार्वजनिक गर्दा थप अप्ठेरोमा पर्ने देखेपछि अग्रवाल परिवारले नोटमा लेखेको विषयलाई गुपचुप बनाएका छन्।
ग्रीनलाइनको चेक बाउन्स भएपछि गण्डकी प्रदेशका शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले पनि प्रहरीकहाँ उजुरी गरेका थिए। उनले रक्सी बिक्रीको रकम नपाएको र चेक बाउन्स भएको भन्दै उजुरी दिएका थिए। रकम नपाए आफूले सप्लाइ गरेको रक्सी फिर्ता पाउँ भन्दै उनले आग्रह गरेका थिए।