PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आक्रामक प्रचण्ड-नारायकाजीको मन माझामाझमै सकियो माओवादी केन्द्रको पहिलो दिनको बैठक



प्रकाश भण्डारी

आक्रामक प्रचण्ड-नारायकाजीको मन माझामाझमै सकियो माओवादी केन्द्रको पहिलो दिनको बैठक

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनबारे पक्ष विपक्षमा नेताहरूले तर्क प्रस्तुत गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्नुको कारण सुनाएका थिए।

'व्याख्यात्मक घोषणा'गरेर एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहयोग गरेको भन्दै नेता नारायणकाजी श्रेष्ठले बैठकमा असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

माओवादी केन्द्रका नेता देव गुरुङले श्रेष्ठले एमसीसीबारे फरक मत राखेको जानकारी दिए। उनका अनुसार श्रेष्ठले आफूले एमसीसीको विरोध गरेकोमा प्रचण्डले पार्टी नै छोडेर जान भनेको भन्दै गुनासो गरे।

जवाफमा प्रचण्डले पार्टीभित्रको किचलोका कारण आफू इरिटेड भएर पत्रकारको प्रश्नमा आक्रामक रूपमा प्रस्तुत भएको बताएका थिए।

'एमसीसीबारे फरक मत आएको छ। अध्यक्ष कमरेडले पार्टी छाड्ने छाड्ने भनेर कुरा आइरहेकाले इरिटेड भएर पत्रकारको प्रश्नमा भनेको हो भन्नुभयो,'गुरुङले भने।

यद्यपि बैठकमा श्रेष्ठ र प्रचण्डबीच चर्काचर्की भने नभएको नेताहरूले बताएका छन्। एमसीसीबारे विवाद बढेपछि श्रेष्ठले आफू निकट नेताहरूसँग पार्टीमै रहेन कि अलग हुने भनेर छलफल गरेका थिए। उनी निकट नेताहरूले असन्तुष्टिलाई बैठकमै राख्नुपर्ने सुझाव दिएपछि श्रेष्ठ पक्ष केन्द्रीय कमिटीको बैठकमा सहभागी भएको हो।

यस्तै, माओवादी केन्द्रका नेता गणेश साहले दुवै नेताहरूले माओवादी केन्द्रलाई नै बलियो बनाएर लैजानुपर्ने बताएको जानकारी दिए।

'माओवादी केन्द्रलाई नै क्रान्तिकारी देशभक्त बनाएर लैजानुपर्छ भन्नुभएको छ,' उनले भने।

पार्टीबाट अलग हुन लागेको भन्दै प्रचण्डले श्रेष्ठकै निवासमा पुगेर मंगलबार, बुधबार र बिहीबार छलफल गरेका थिए। उक्त छलफलमा एमसीसी सम्बन्धीको फरक मतलाई केन्द्रीय कमिटीको बैठकमा राख्न तर पार्टी नछोड्न प्रचण्डले आग्रह गरेका थिए।

श्रेष्ठले आफ्ना असन्तुष्टिहरूलाई टिपोट गरेर बैठकमा सुनाएका थिए। एमसीसीलाई रोक्न आफूले अन्तिमसम्म प्रयास गरेको भए पनि सफल नभएको श्रेष्ठको भनाई थियो।

'व्याख्यात्मक घोषणा' षडयन्त्र मात्रै भएको भन्दै श्रेष्ठले माओवादी केन्द्रले एमसीसी पास गरेर गलत गरेको बताए।

प्रचण्डले सत्तारुढ गठबन्धनको बैठकमा भएको छलफलबारे रिपोर्टिङ गरेको साहले बताए। प्रचण्डले एमसीसी रोक्नका लागि आफू पनि लागेको भए पनि माओवादी केन्द्रलाई नै खतरा हुने भएपछि मध्यमार्गी बाटो अपनाउन आफू बाध्य भएको स्पष्टीकरण दिएका थिए।

एमसीसीका कारण पार्टीमा विवाद चर्किएका बेला केन्द्रीय कमिटीको बैठक बसेकाले प्रचण्ड र नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुबीच चर्काचर्की हुनसक्ने आकलन गरिएको भए पनि बैठकमा प्रचण्ड-श्रेष्ठ दुवैले संयमित भएर प्रस्तुत भएपछि बैठक सामान्य ढंगले अघि बढेको थियो।

'जेजे भनेको भए पनि यस्तो बेलामा जाने कहाँ। दुवै जना आफ्नो अडानमा सफल भएनौँ भन्ने हिसाबले बोल्नुभएको थियो। बैठकमा केन्द्रीय सदस्यहरू पनि पहिलाको जस्तो जुझारुका साथ बसेको देखिएन। अहिले नेता कार्यकर्ताहरूमा जोस जाँगर पनि कम देखिन्छ,' बैठकमा सहभागी एक नेताले भने।

शुक्रबारको बैठकमा श्रद्धाञ्जली, प्रचण्डको रिपोर्टिङ, पदाधिकारी चयन, केन्द्रीय सदस्यको कार्य विभाजन, स्थानीय तहको निर्वाचन र विविध गरी ६ प्रस्ताव बैठकमा पेस गरिएको गुरुङले जानकारी दिए।

यस्तै आइतबारको बैठकमा श्रेष्ठ पक्षका लीलामणि पोखरेल र गिरिराजमणि पोखरेलले आफ्नो मत राख्नेछन्। आजको बैठकमा पदाधिकारी चयन र केन्द्रीय कमिटीको कार्यविभाजनबारे एजेन्डा रहेको भए पनि छलफल भने भएन। यस्तै सरकार सञ्चालन र स्थानीय निर्वाचनका बारेमा पनि आइतबारको बैठकमा छलफल हुनेछ।

माओवादी केन्द्रको ८औँ महाधिवेशन पुस १८ गते सकिएको भए पनि हालसम्म पदाधिकारी चयन हुन सकेको छैन। प्रचण्डले महाधिवेशनको हलमा २४६ जनाको नाम प्रस्तुत गरेका थिए। माओवादी केन्द्रमा २९९ जनाको केन्द्रीय कमिटी हुने भए पनि बाँकी स्थान भने रिक्त रहँदै आएको छ। पुस १९ गते बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा प्रचण्डलाई चयन गर्न बाहेकको निर्णय गर्न सकेन।

माओवादी केन्द्रको मुख्य पदहरूमा आकांक्षी नेतहरुको संख्या धेरै भएपछि महासचिव, वरिष्ठ उपाध्यक्ष लगायतमा टुङ्गो लाग्न सकेको छैन। महाधिवेशनका बेलामा चीनमा उपचार गरिरहेका नेता वर्षमान पुनले नेपाल फर्केकै दिन त्रिभुवन विमानस्थलमा आफ्नो दाबी महासचिव पदका लागि भएको घोषणा गरेका थिए।

पुनसँगै महासचिवको दौडमा जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङलगायतका नेताहरू छन्। शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न सक्ने सम्भावना कम रहेको नेताहरूले बताउने गरेका छन्।

अध्यक्ष प्रचण्डले पनि अब पार्टी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा पार्टी होमिनुपर्ने भएकाले पार्टीभित्र विवाद गर्न नहुने बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell