PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

कीर्तिपुरमा फुल्दैछ 'शिरीषको फूल' : खुल्ला सकमबरीको मृत्युको रहस्य?



लक्ष्मी बलायर

कीर्तिपुरमा फुल्दैछ 'शिरीषको फूल' : खुल्ला सकमबरीको मृत्युको रहस्य?

काठमाडौं : सुयोगवीर भन्छ- भमरा बस्नै नपाएपछि यो फूलको के अर्थ?

सकमबरी भन्छे- फूल बिग्रँदैन, सुरक्षा हुन्छ।

सुयोगवीर सकमबरीको प्रेममा परिरहेको हुन्छ। सुयोगवीरले भमरासँग लाप्पा खेल्नुलाई लडाइँ नभई प्रेम हो भन्छ। तर सकमबरी फूलले आफ्नो इच्छाअनुसार झर्नु पाउनुपर्ने र झर्न भमराको डसाइ आवश्यक नहुने तर्क गर्छे। किनकि सकमबरीलाई थाहा हुन्छ, प्रेम कुनै बाध्यता होइन।

कीर्तिपुरस्थित थिएटर मलमा अहिले यही कथाको सेरोफेरोमा नाटक मञ्चनको तयारी हुँदै छ।

पारिजातको उपन्यास 'शिरीषको फूल'मा आधारित नाटक मञ्चनका लागि कलाकारहरु थिएटर पुग्छन् र पात्रहरुलाई दुरुस्त उतार्ने अभ्यास गर्छन्। नाटक फागुन २७ गतेको दिनदेखि मञ्चन हुनेछ।

रंगकर्मी समृद्धि नेपाल पनि दिनहुँ नाटकका लागि तयारीमा छिन्। नाटकमा उनी मुख्य पात्र सकमबरीको भूमिकामा देखिँदै छिन्।

पारिजातबारे सुनेकी उनले शिरीषको फूल भने पढेकी थिइनन्। तर, नाटकमा सकमबरी बन्नुपर्ने भएपछि भने उनले शिरीषको फूल पल्टाइन्। सकमबरीलाई बुझ्ने प्रयास गरिन्। उपन्यासमा पढेकी सकमबरीभन्दा उनले नाटककी सकमबरीमा भने निकै फरक पाइन्।

‘किताब पढ्दा सकमबरीबारे सामान्य महसुस गरेकी थिएँ। तर नाटकमा भने सकमबरीलाई निकै फरक पाएँ,’ समृद्धि आफूले निर्वाह गर्ने पात्रबारे भन्छिन्, ‘उनकै भूमिकामा अभिनय गर्दा सकमबरीलाई बलियो पात्रको रुपमा भेटाएँ। तर सकमबरीलाई ठ्याकै यस्तै पात्र हो व्याख्या गर्न सक्दिनँ। उनीभित्र विविधता छ। जसकारण सकमबरी दुविधापूर्ण पात्र जस्तो लाग्छ।’

उपन्यासमा पुरुषले गरेको एक चुम्बनपछि सकमबरीको मृत्यु हुन्छ। अभिनय लागि उपन्यास पढ्दै र नाटकका लागि तयारी गर्दै गर्दा भने समृद्धि एउटै प्रश्न अल्झिरहिन्। एक चुम्बनले सकमबरी मर्नुअघिको समय कसरी बित्यो होला?

सञ्जय विश्वकर्मा सुयोगवीरको पात्रमा देखिँदै छन्। समृद्धिझैं उनले पनि पहिलोपटक शिरीषको फूल पढेका हुन् नाटकका लागि भनेर। सुयोगवीर उमेरले ४५ वर्षको हुन्छ। अझ त्यसमाथि दोस्रो विश्वयुद्ध ताकाको लाहुरे। उही सुयोगवीरको अभिनय गर्न लागेका सञ्जय भने भर्खर २१ वर्षका भए। उमेरमा निकै अन्तर भएका कारण पात्रलाई रंगमञ्चमा प्रस्तुत गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न छ उनमा।

‘उमेर फरक हुँदा समस्या हुँदो रहेछ। सुयोगवीरको उमेरअनुसारको हाउभाउ र बोली निकाल्न गाह्रो भयो,' भन्छन्, 'सुयोगवीर स्वतन्त्रखाले हुन्छन् जसले केही सजिलो र रमाइलो भयो। सुयोगवीरको पात्रमा अभिनय गर्दा निकै फरक पाएँ। व्यक्तिगत रुपमा सुयोगवीरलाई बुझ्न नै गाह्रो भइरहेको छ।’

नाटकको सन्देश
शिरीषको फूललाई सकमबरी र सुयोगवीरबीचको द्वन्द्वका रुपमा लिन्छन् निर्देशक प्रदीप ढुंगाना। सुयोगविर पितृसत्तात्मक र यौनिक मनोवृतिलाई प्रतिनिधित्व गर्ने पात्र। सकमबरी भने नारीवादी चेतनाको एउटा झिल्का। जो विद्रोही स्वभावकी हुन्छिन्।

‘शिरीषको फूल’ सुयोगवीरले पल्टाएका विगतका पानामाथि नै बढी केन्द्रित छ। नाटकमाथि शून्यवाद र विसंगतवादतिर मोडिएको आरोप लाग्छ। नाटकमा ढाल्दा कसैको पक्ष वा विपक्षमा काम नगरी त्यस कालखण्डमा घटेका घटना र उनीहरुले बाँचेको समयलाई केलाउने प्रयास गरेको प्रदीप बताउँछन्।

उनका अनुसार उपन्यासमा सुयोगवीरको तर्फबाट नै धेरै कुरा आएका छन्। सुयोगवीरले युद्धमा शोषण गरेका महिलाहरुलाई आवाज दिइएको छैन। तर नाटकमा रुपान्तरण गर्दा सुयोगवीरले हिंसा र शोषण गरेका महिलाहरुले प्रश्न गर्नेछन्।

सकमबरीको मृत्य कसरी भयो भन्ने रहस्य हो शिरीषको फूल। के एक चुम्बन नै सकमबरीको मृत्यको कारण हो? चुम्बनपछि र मृत्युअघिको समयावधिलाई नाटकमा देखाउने प्रयास गरेको प्रदीप बताउँछन्। चुम्बन त कारण भयो, सकमबरीको मृत्युको रहस्य पनि खोतल्ने प्रयास गरेको उनले बताए।

‘हामीले युद्धका महिलाहरु र सकमबरीको आवाज उठाउने प्रयास गरेका छौँ। किस सिन र मृत्युअघिको समयलाई हामीले मोन्टाजमार्फत देखाएका छौँ। जहाँ संवाद हुँदैन दृश्य र संगीत मात्रै हुन्छ,' उनले भने, 'त्यसले सकमबरीले मृत्युले बोल्ने अर्थ र सुयोगवीरको मनोदशालाई भन्छ। सकमबरीको मृत्यु कसरी भयो? सकबरीको मृत्यु विद्रोह हो कि भन्ने प्रश्न नै छोडेको छौँ। दृश्य हेरेर दर्शकले आफैँ निष्कर्ष निकाल्नेछन्।’ नाटकको लागि स्क्रिप्ट तयार पार्न एक महिना लागेको उनी बताउँछन्।

रंगकर्मी केदार श्रेष्ठ नाटकका परिकल्पनाकार हुन्। उनी नेपालमै रहेका कृतिमाथि नाटक गर्नुलाई निकै सकारात्मक रुपमा लिन्छन्। नेपालमा नाटक गर्ने थुप्रै कथा भएको र त्यसलाई रंगमञ्चले खोतल्न जरूरी रहेको उनको भनाइ छ। 'शिरीषको फूल नेपाली साहित्यमा बहस भइरहने कृति हो,' उनले भने, 'यो नाटकले पनि साहित्य जमातमा बहस उठाउन सक्ने अपेक्षा छ।'

साहित्यिक कृतिमाथि नाटक गर्नु गाह्रो कुरा रहेको उनको तर्क छ। भन्छन्, ' कृतिमाथि नाटक गर्दा लेखकको सोचमा न्याय गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा आउँछ। त्यसपछि नाटक निर्देशकको सोचको पनि कुरा आउँछ।'

निर्देशक प्रदीप नाटकले महिला सशक्तीकरणको आवाज बोक्ने बताउँछन्। 'आखिर त्यतिखेर पनि त आवाज आएको रहेछ। तर त्यस आवाजलाई सशक्तीकरणको रुपमा व्याख्या भने गरिएन। युद्धका आवाजविहीन नारीहरु र सकमबरीको आवाजलाई नाटकले बाहिर ल्याउनेछ,' उनले भने, 'नाटकले तिनै छुटेका र नआएका विविध पक्षबारे व्याख्या गर्नेछ।'

आखिर किन हेर्ने उपन्यासमा आधारित नाटक?

जवाफमा प्रदीप भन्छन्, ‘शिरीषको फूल नेपालीले नछुटाई पढ्ने उपन्यास हो। पढ्नेहरुले दृश्यमा पनि हेर्न चाहनुहुन्छ। हामीसँग दृश्य तयार छ। नपढ्नेहरुले पनि यो नाटक हेरेर पढ्न प्रेरित हुनुभयो भने त्यो हाम्रो सफलता हुनेछ। हामीले धेरै मेहनेत गरेका छौँ।दर्शकलाई निराश बनाउँदैनौँ।’

नाटकलाई चौथो आयामले तयार पारेको हो। चौथो आयाम मण्डला ड्रामा स्कुलका पहिलो ब्याचका विद्यार्थीले बनाएको नाटकीय समूह हो। जसमा छन्, प्रदीप ढुंगाना, शिव परिवार, हाङ ओ हाङ राई, समृद्धि नेपाल र सञ्जय विश्वकर्मा। नाटकमा समृद्धि र सञ्जय साथै हाङ ओ हाङ राई, मञ्जु महर्जन, शैली शर्मा, सविना गोपाली, जेनी सुनुवार, अस्मिना भारती, कीर्ति भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ। 

(सबै तस्बिर : रुजन महर्जन, थिएटर मल)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell