
काठमाडौं : टेष्ट ट्युब बेबी सेन्टरहरुले संचालन स्वीकृति सोझै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट लिनुपर्ने भएको छ। विभिन्न अस्पतालले नयाँ युनिटका रुपमा सेन्टर खोल्ने क्रम बढ्दा नियमन असहज भएपछि आइभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेवा दिने संस्थाहरुले मन्त्रालयबाटै अनुमतिपत्र लिन अनिवार्य गरिएको हो।
मन्त्रालयले शनिवार सूचना प्रकाशित गर्दै त्यस्तो सेवा संचालकहरुलाई अनुमति लिनका लागि १५ दिनभित्रै सम्पर्क गर्न भनेको छ। निःसन्तान दम्पतीको संख्या बढ्दै जाँदा शहरी क्षेत्रमा टेष्ट ट्युब बेबी सेन्टरको सेवा लिनेहरु क्रमिकरुपमा बढेको छ। यस्ता संस्थाहरु गैरसरकारी संस्थाले पनि चलाएका छन्।
जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी, सरकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्था संचालनका लागि सो नियमावलीको अनुसूची-९ बमोजिमका निकायबाट अनुमति लिनुपर्ने प्रावधान छ। सूचनामा भनिएको छ- टेष्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न मन्त्रालयबाट इजाजत लिनुपर्छ।
अन्य निकायबाट अनुमति लिइ वा नलिइ संचालनमा रहेका त्यस्ता सेन्टरहरुले सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयमा निवेदन दिनुपर्ने उल्लेख छ।