
जनकपुरधाम : मधेश प्रदेश र गण्डकी प्रदेशबिच अन्तरप्रदेशीय विमान सेवा आजबाट सुरु भएको छ। दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो।
गण्डकी प्रदेशको राजधानी पोखरा र मधेश प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहित १८ सदस्यीय टोली मधेश प्रदेशको भ्रमणमा आएका छन्।
३ दिने मधेश प्रदेशको भवनमा आएका गण्डकीका मुख्यमन्त्री नेपालीलाई मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादव र उद्योग पर्यटन तथा वातावरण मन्त्री शुत्रध्न महतोले स्वागत गरेका थिए।
मुख्यमन्त्री नेपाली सहित अर्थमन्त्री रामजी प्रसाद बराल, पर्यटन उद्योग तथा वाणिज्य आपुर्ती मन्त्री मणिभद्र शर्मा कँडेल, गण्डकी प्रदेशका मुख्यसचिव रविलाल पन्थ, पर्यटन उद्योग तथा वाणिज्य आपुर्ती मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल लगायतका व्यक्तित्व समेत भ्रमण टोलीमा रहेका छन्।
मुख्यमन्त्री पोखरेलको सबैभन्दा पहिले मधेश प्रदेशको मुख्यमन्त्री लालबाबु राउतसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ। आजै उनले जनकपुर जयनगर रेलको अवलोकन गर्नेछन्।
त्यहाँबाट धार्मिक स्थल धनुषाधामको भ्रमण गर्ने कार्यक्रम रहेको छ। धनुषाधामबाट फर्किएपछि साँझ ५ बजे सीतासरण होटेलमा मुख्यमन्त्री पोखरेलको स्वागतमा कार्यक्रम आयोजन गरिएको छ।
आइतबार बिहान जानकी मन्दिरको दर्शन र पूजा अर्चना मुख्यमन्त्री पोखरेलले गर्ने छन्। बिहान १० बजे बर्दिबासमा उनको स्वागतको कार्यक्रम आयोजन गरिएको छ। स्वागत कार्यक्रम सकेर मुख्यमन्त्री पोखरेल सहितको टोलि भ्रमणका लागि सर्लाहीको भरत ताल र नुनथर पुग्ने छन्। त्यहाँबाट बाराको गढीमाई मन्दिर दर्शन गरेर जनकपुर फर्किने छन्।
सोमबार बिहान महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेवको दर्शन तथा पूजा अर्चना गरेपछि मुख्यमन्त्री पोखरेलेको औपचारिक मधेश प्रदेश भ्रमण सम्पन्न हुनेछ। सोही दिन पोखराका लागि प्रस्थान गर्ने मुख्यमन्त्री नेपालीको कार्यक्रम रहेको छ।