51.jpg)
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहायता परियोजना एमसीसीबारे कम्युनिष्ट पार्टीहरुले अफवाह फैलाएको दाबी गरेका छन्।
एमसीसी पारित भएमा अमेरिकाले नेपाललाई उपनिवेशन बनाउने र यसलाई इन्डो प्यासिफिकको एक अंग भन्दै कम्युनिस्ट पार्टीहरुले अतिरञ्जित कुरा फैलाएकोमा आफूसमेत छक्क परेको उनको भनाई थियो। पछिल्लो पटक तनहुँमा विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा गाउँका कांग्रेस कार्यकर्ताले समेत आफूलाई एमसीसीको पक्षमा कांग्रेसले बोल्न नहुने सुझाव दिएको बताए।
नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै पौडेलले यस्तो धारणा राखेका हुन्।
'अमेरिकाले त उपनिवेशन बनाउने भयो रे! अतिरञ्जित कुरा फैलाए। म त छक्क परेँ। मेरा आफ्नै वरपरका मान्छे भन्छन् - ए अब त तपाईँ एमसीसीको नाम नलिनुस् है यसको कुरा लिएर गाउँमा नआउनुस् है। हामी त चुनाव भसक्कै हारिन्छ,' पौडेलले भने, 'यस्तो भन्छन्, गठबन्धनको नेताहरुको बैठकमा पनि त्यस्तै कुरा सुनेँ।'
एमसीसी सम्झौतामा सबै जना सहभागी भएर पनि अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नै नेताहरुलाई यसको विरोधमा दम भर्न व्यस्त रहेको उनको आरोप रह्यो। 'अहिले सबैभन्दा बढी चर्को बोलिरहनुभएको छ नारायणकाजी र झलनाथजी। त्यसैगरी उहाँहरुलाई दम भर्ने प्रचण्डजी र माधव नेपाल पनि,' उनले भने।
कम्युनिस्टका सारा शक्ति लगाएर एमसीसीविरुद्ध गलत प्रचार गरेर साच्चै यो त पापै हो कि भन्नेजस्तो पारेको पौडेलले बताए।
'जनतामा गलत प्रचार गरे। जसले गर्दा यो त पापै हो कि? राष्ट्रघातै हो कि? यो लिए पछि नेपाल सकिन्छ कि? सारा देशलाई भ्रमित बनाउनुभयो। यति शक्तिशाली हुनुहुने उहाँहरुलाई मेरो प्रश्न छ कुन धारा कुन शब्दले यो एमसीसी अमेरिकाको अंग हो?,' पौडेलले प्रश्न गरे।
राष्ट्रवादको खेती गरेर सबैभन्दा राम्रो पार्टी बन्न खोजे पनि त्यो लामो समय नटिक्ने दाबी पौडेलको थियो। पौडेलले निजामती कर्मचारीले निमुखाको सेवा गर्न सक्नुपर्ने सुझाव समेत दिए।