
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन्। विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेको समूह फेरि तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको उनले बताएका हुन्।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको बताएका हुन्।
‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन ? प्रतिगमन भन्छन। जनतामा जाने भन्यो कि डराउँछन। भरसक जनतामा जाने मिति पर सार्छन। बल्लबल्ल तपाईँ हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं। तर अहिले पनि भित्रभित्र खेल भइरहेको छ,’उनले भने।
केपी शर्मा ओली सरकारको समयमा लिपुलेक, लिम्पियाधुरासहितको चुच्चे नक्सा सार्वजनिक गरेको तर शेरबहादुर देउवा नेतृत्वको सरकारले चुच्चे नक्सा गायब बनाएको उनको आरोप छ।
‘कम्ति चुनौति थियो यसमा ? हामीले चुच्चे नक्सा छापेका थियौं। तर यो सरकारले सय दिनको काम सार्वजनिक गर्ने बेलामा हेर्नुस ? त्यहाँ नेपालको लागो छ। तर लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे नक्सा गायव छ। अब हाम्रो लागि र नेपाली जनताको लागि त्यो चुच्चे नक्सा कतिप्रिय छ ? तर प्रधानमन्त्री शेरबहादुर देउवाले सो नक्सा नै गायब पार्नु भयो।’