PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

खप्तड गोल्डकप : नव जन जागृतिसँग हिमालयन शेर्पा ४–० ले विजयी



पहिलोपोस्ट

खप्तड गोल्डकप : नव जन जागृतिसँग हिमालयन शेर्पा ४–० ले विजयी

कैलाली : सुदूरपश्चिम खप्तड गोल्डकपमा आज भएको खेलमा नव जन जागृति युवा क्लबलाई ४–० ले पराजित गर्दै हिमालयन शेर्पा क्लब विजयी भएको छ। धनगढी रङ्गशालामा भएको खेलमा हिमालयनले जित निकाल्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको हो। अब हिमालयनले क्वाटर फाइनलमा आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको सामना गर्नेछ।

हिमालयनको जितका लागि पहिलो हाफको ३० औँ मिनेटमा विकास मेराग्लियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। ४१ औँ मिनेटमा उर्लिच शिवेले गोल गर्दै हिमालयनलाई पहिलो हाफमै २–० को अग्रता दिलाउन सफल भए। पहिलो हाफमा २–० ले पछि परेको नव जन जागृतिले दोस्रो हाफमा पनि गोल फर्काउन सकेन। हिमालयनले भने दोस्रो हाफमा दुई गोल थप्यो। ५७ औँ मिनेटमा उर्लिचले व्यक्तिगत दोस्रो र ८१ औँ मिनेटमा पूर्ण बहादुर गुरुङले गोल गर्दै टिमलाई ४–० को जित दिलाए।

सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख नगदसहित ट्रफि प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell