PahiloPost

Jul 3, 2024 | २० असार २०८१

साहसी खेल प्रेमीका लागि रुपन्देहीको तिलोत्तमामा खुल्यो ‘स्केट पार्क’



पहिलोपोस्ट

साहसी खेल प्रेमीका लागि रुपन्देहीको तिलोत्तमामा खुल्यो ‘स्केट पार्क’

बुटवल : रुपन्देहीको तिलोत्तमामा साहसी खेल प्रेमीका लागि लक्षित गर्दै ‘स्केट पार्क’ निर्माण गरिएको छ। स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा–४ मा करिब १० कठ्ठा क्षेत्रफलमा पहिलो चरणमा स्केट पार्क निर्माण गरेको हो। शनिबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेपछि स्केट पार्क औपचारिक रुपमा संचालन सुरु भएको हो। अब स्केट पार्क नियमित खेल र अभ्यासका लागि खुल्ला हुनेछ।

गुरु योजनाअनुसार तेस्रो चरणसम्मको योजना सम्पन्न हुँदा स्केट पार्क दक्षिण एसियाकै नमुना हुने दाबी गरिएको छ। साढे २ करोड लागत अनुमान गरिएको पार्कमा प्रशिक्षण केन्द्रका साथै पुस्तकालय, होस्टेल, कार्यक्रम हल र आवास क्षेत्रसमेत बनाइनेछ।

दोस्रो र तेस्रो चरणमा छात्रवास सहितको आवास गृह, कार्यालय भवनसहित पार्कलाई स्रोत केन्द्रका रुपमा ‘इन्डोर’ बनाउने गरी साढे २ करोड लागतको योजना बनेको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए। स्केट पार्कको पहिलो चरणको काम सकिएकाले अब नियमित रुपमा प्रशिक्षण र खेल प्रतियोगिताहरु समेत गर्न सकिने पहाडीले बताए।

फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रका करिब ६० जना व्यक्तिहरुले स्वयम्सेवीका रुपमा काम गरेर निर्माण सम्पन्न भएको उनले बताए। स्केट एड इन्टरनेशनल, स्केट एड नेपाल र युवा फर चेन्जले संयुक्त रुपमा पार्क निर्माणमा जुटेका हुन्।

तिलोत्तमा नगरपालिका–४ डिङगरनगरस्थित तिनाउ नदीको छेउमा निर्मित स्केट पार्क तथा सामुदायिक केन्द्रको शिलालेखको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुुदेव घिमिरे र स्टेक एड इन्टरनेशनलका संस्थापक अध्यक्ष प्रोफेसर टिटस् डिटम्यानले अनावरण गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले खेल क्षेत्रले सबैलाई एकताबद्ध बनाउने भएकाले यसको विकासमा तीन तहकै सरकार जिम्मेवार बन्नुपर्ने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य लिला गिरीले तिलोत्तमामा नयाँ खेलको विकासका लागि स्टेक पार्क बनेकोले यसको थप भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने बताए। तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले स्केट पार्कले खेल क्षेत्रमा नयाँ आयाम थप्ने बताए। उनले स्केट पार्ककको प्रस्ताव ल्याउँदा सुरुमा विश्वास नलागेर धेरैपटकको छलफल गरिएको बताउँदै अहिले मूर्त रुप पाउँदा खुशी लागेको बताए।

उक्त अवसरमा स्केट एड इन्टरनेशनलका संस्थापक अध्यक्ष टिटस डिटम्यानले नेपालमा स्केट खेलको राम्रो सम्भावना रहेकाले पार्कले हजारौं नयाँ पुस्तालाई आकर्षित गर्ने बताए। उनले समुदायस्तरमा तिलोत्तमामा बनेको स्केट पार्क दक्षिण एसियाकै पहिलो भएकाले स्केट खेलाडीका लागि ठूलो अवसर रहेको बताए।

स्केट खेलमा काठमाडौ, धरान, पोखरा, रुपन्देहीमा गरि दुई सय बढि खेलाडीहरु आवद्ध रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell