PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रहरी नियन्त्रणमा रहेका हमालको मत्युः आफन्तको विरोध, स्थानीय प्रशासनद्वारा छानबिन समिति गठन



पी बी खड्का

प्रहरी नियन्त्रणमा रहेका हमालको मत्युः आफन्तको विरोध, स्थानीय प्रशासनद्वारा छानबिन समिति गठन

सुर्खेतः कालिकोट तिलागुफा नगरपालिका ३ का ३४ वर्षीय कृष्ण हमालको सुर्खेत अस्पतालमा मृत्यु भएको छ। शुक्रबार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको भे १ क ९२२ नम्बरको मिनी ट्रकमा आएका उनलाई मदिरा सेवन गरेको भन्दै वीरेन्द्रनगरस्थित सुब्बा कुनामा प्रहरीले उनलाई केरकार गरी नियन्त्रणमा लिएको थियो। 

नियन्त्रणमा लिएकै अवस्थामा बेहोस भएपछि शनिबार विहान करिब सवा १० बजेतिर सुर्खेत अस्पताल पु¥याइएको थियो। हमालको स्वास्थ्य जाँचमा संलग्न डा. केएन पौडेलले मृत घोषित गरेका थिए। 

हमालको मृत्युपछि आफन्त आन्दोलित छन्। प्रहरीकै कुटाइबाट मृत्यु भएको आरोप लगाएका छन्। पाँच दिनअघिको तनावग्रस्त अवस्था सेलाउन नपाउँदै फेरि पीडितका आफन्त प्रदर्शनमा उत्रिएका छन्। आफन्तले पीडकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेका छन्। 
‘प्रहरीले बर्दीको बलमा निर्घात कुटपिट गरेपछि बेहोस भएको हो’, उनका दाजु नाता पर्ने यादव पाण्डेले भने, ‘मदिरा पिएको अवस्थामा उनलाई सम्झाइ–बुझाइ गरेर छोड्न सक्थ्यो’, उनले थपे, ‘तर, प्रहरीले ज्यानै जाने गरी कुट्यो।’

पाण्डेका अनुसार हमाल कालीकोटमा व्यवसाय गर्दै आएका थिए। 

प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ। हमालको मृत्युको कारण अहिले नै भन्न नसकिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीको भनाई छ। 

‘घटनाको विषयमा अहिले केही भन्न सकिने अवस्था छैन’, उनले भने, ‘घटना अनुसन्धानको विषय बनेको छ। बाँकी तथ्य अनुसन्धानपछि आउँला।’

‘अस्पताल आउनुअघि नै मृत्यु’
यता, अस्पताल प्रशासनले भने हमालको मृत्यु अस्पताल ल्याउनुअघि नै भएको जनाएको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै बेहोस भएको भनी आकस्मिक कक्षमा ल्याइएको र हमालको नाडीको गति, श्वासप्रश्वास, मुटुको धड्कन कुनै पनि नचलेको जनाएको छ।

प्रशासनले गठन गर्‍यो छानविन समिति
जिल्ला प्रहरी कार्यालयले भने घटना छानबिनका लागि समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको छ।

उक्त समितिमा जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्ती, राष्ट्रिय अनुसन्धान विभाग सुर्खेत कार्यालयका अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएशन सुर्खेतका अध्यक्ष उत्तमप्रसाद आचार्य छन्। समितिले घटनाको छानविन गरी प्रतिवेदन पेश गर्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell