
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले रियल सोसिडाडमाथि जित निकालेको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले ४-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो।
खेलको १० औं मिनेटमा मिकेल ओयारजबालले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै सोसिडाडलाई अग्रता दिलाए। तर, ४० औं मिनेटमा मड्रिडका इडुआर्डो कामाभिङ्गाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको तीन मिनेट नबित्दै लुका मोड्रिचले गोल थप्दा रियल मड्रिडले पहिलो हाफमै २-१ गोलअन्तरको अग्रता बनायो। मड्रिडका करिम बेन्जेमाका दुई गोललाई रेफ्रीले अफसाइड करार दिएको अवस्थामा ७६ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै बेन्जेमाले गोल गरे।
मड्रिडका लागि पाँचौं गोल मार्को एसेन्सियोले ७९ औं मिनेटमा गरे। र, रियल मड्रिडले उत्कृष्ट पुनरागमन गर्दै ४-१ गोलअन्तरको जित निकाल्न सफल भयो।
जितसँगै रियल मड्रिडले शीर्षस्थानमा ८ अंकको स्पस्ट अग्रता बनाएको छ। मड्रिडले २७ खेलबाट ६३ अंक जोड्दा दोस्रो स्थानमा रहेको सेभियाको ५५ अंक, तेस्रो स्थानमा रहेको रियल बेटिसको ४६ अंक र चौथो स्थानमा रहेको बार्सिलोनाको ४५ अंक छ।