PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पल प्रकरणले बालकलाकारका अभिभावकमा ल्याएको त्रास, भन्छन्- 'विचलित छौं'



लक्ष्मी बलायर

पल प्रकरणले बालकलाकारका अभिभावकमा ल्याएको त्रास, भन्छन्- 'विचलित छौं'
प्रतीकात्मक तस्बिर : elements.envato

काठमाडौं : नाबालिकामाथि जबर्जस्ती करणी आरोप लागेका कलाकार पल शाह प्रकरणले यतिबेला मिडिया र सामाजिक सञ्जाल छाएको छ। युट्युबले आतंक फैलाइरहेको छ भने फेसबुक र ट्वीटरमा पक्ष-विपक्षमा मत आइरहेका छन्।

यही अफवाहको भुमरीमा अत्तालिएका छन्, धादिङका कल्याणप्रसाद घिमिरे। उनी न पल शाहको पक्षमा छन् न त विपक्षमै। चिन्ताको कारण हो- छोरी कमला। ११ वर्षकै उमेरमा लाइभ दोहोरी गाएर भाइरल बनेकी हुन् कमला। 'चिया छानेको' बोलको गीतमार्फत संगीत क्षेत्रमा भित्रिएकी उनको चर्चा निकै चुलियो। लाइभ दोहोरीदेखि स्टेज शोहरुमा उनलाई बोलाउन थालियो। र, कमला सांगीतिक क्षेत्रमा उडान भर्न थालिन्।

हाल १४ वर्ष पुगेकी कमलाले पाएको सफलताले उनका बुबालाई निकै गर्व महसुस हुन्छ। तर पल प्रकरणबारे थाहा पाउनेबित्तिकै उनको मन विचलित बनेको छ। यस घटनाले निकै नरमाइलो लागिरहेको उनले बताए। 'यो निकै अप्रिय घटना हो। सफलताको सिँढी चढिरहेकी बालगायिकामा यसले नराम्रो छाप परेको छ। मेरी छोरी पनि सानै छिन्। समाजमा यस्ता घटना घट्दा निकै डर लाग्दो रहेछ,' उनले सुनाए।

कुनै पनि कार्यक्रम होस् या रेकर्डिङको काम। कमला कतै जाँदा उनका बुबा सधैं सँगै जान्छन्। बुबा नहुँदा भने उनकी आमा जान्छिन्। आफूले अहिलेसम्म छोरीलाई कहिले पनि एक्लै नछोडेको बताउँछन् उनी। यो प्रकरणले अझ सचे बनाएको छ घिमिरे परिवारलाई। 'अब त झन् छोड्ने कुरा पनि आउँदैन,' बुबा कल्याण भन्छन्।

बालबालिकाहरु चन्चले अनि रमाइलो गर्ने स्वभावका हुन्छन्। उनीहरू सही/गलत छुट्याउन सक्दैनन्। अरुको प्रलोभनमा चाँडै पर्छन् पनि। यही मौकामा अरुले फाइदा लुट्न सक्छन्। यस्ता घटना नहोस् भनी अभिभावकहरु सतर्क रहनु जरुरी रहेको बताउँछन् उनी। छोराछोरीको सुरक्षामा अभिभावकले आफैँ सचेत बन्नुपर्ने र सधैँ साथमा खडा हुनुपर्ने उनको भनाइ छ।

+++
कृष्ण मल्ल यतिखेर अत्तरिया कैलालीमा छन्। उनी अत्तरिया जानुको कारण हो, सुप्रिम मल्लको प्रस्तुति। ९ वर्षीय सुप्रिम पछिल्लो समय चर्चामा छन्। ‘बिजुली’, ‘बिछोडको करौंतीले’, ‘ताराबाजी लै छोरा’ जस्ता गीत गाएका उनी ‘द भ्वाइस किड्स नेपाल’का फाइनालिस्ट हुन्।

सुप्रिमलाई लाइभ दोहोरीदेखि महोत्सवहरुमा बोलाइन्छ। अत्तरिया महोत्सवमा छोराको प्रस्तुतिकै लागि कृष्ण कैलाली पुगेका हुन्। पढाइका साथै छोराको संगीत पनि सँगसँगै अगाडि बढिरहेको उनी बताउँछन्।

पल प्रकरणले सुप्रिमका बुबा कृष्णलाई पनि निकै डर लागेको छ। उमेर नपुगेका बालबालिकालाई हरेक ठाउँमा डर हुने हुँदा एक्लै छोड्न नहुने उनको तर्क छ।

'मेरो बच्चा पनि यस्तो समस्यामा पर्ने त होइन भन्ने डर लाग्दो रहेछ। सानो बच्चा त्यसमाथि कलाकारिता दुनियाँमा छिट्टै प्रभावित भइन्छ। कार्यक्रम, सुटिङ र रेकर्डिङमा बाबुलाई कहिले एक्लै छोडेको छैन,' उनले भने, 'बच्चालाई धेरै कुरा भनिराख्नु पनि हुन्न। उनीहरु झन् ध्यान दिन्छन्। बरु सधैँ अभिभावकहरुले आफ्ना छोराछोरीको सुरक्षा गर्नुपर्छ।'

+++
कृपा पौडेल ‘सारेगमप लिटिल च्याम्स नेपाल’की विजेता बनिन्। उनलाई धेरै मिडियामा अन्तर्वार्ताका लागि डाक्न थालियो। बुबा र आमा कृपासँगै अनर्वार्ता दिने ठाउँ पुग्थे। तर उनीहरुलाई डर लाग्थ्यो, १४ वर्षकी छोरीले केही गलत पो बोल्छिन् कि!

पल प्रकरणले त कृपाकी आमा अनितालाई निकै पिर परेको छ। आफ्नी छोरी पनि गायन क्षेत्रमै भएका कारण निकै चिन्ता लागिरहेको उनले बताइन्। 'बालबालिकामाथि यस्तो घटना घट्नु निकै गलत हो। यसले पीडित बालबालिकामा निकै असर पर्छ। बच्चामाथि कसैले पनि खेलबाड गर्नुहुँदैन,' उनले भनिन्।

आफूहरुले अहिलेसम्म छोरीलाई कतै एक्लै नछोडेको कृपाका बुबा कुमार पौडेल सुनाउँछन्। छोरीले सही/गलत छुट्याउन नसकेसम्म एक्लै नछोड्ने उनीहरुको भनाइ छ।

'हामीले नानीलाई कहिल्यै एक्लै छोडेका छैनौँ। संगीत सिक्दा पनि सँगै जान्छौँ। बालबालिकासँग अभिभावक सधैँ सँगै हुनुपर्छ,' आमा अनिता भन्छिन्, 'हामी ठूलालाई त एक्लै हिँड्न असहज हुन्छ भने बच्चालाई झन् गाह्रो हुन्छ।'

+++
जेनिस उप्रेती ‘भ्वाइस किड्स नेपाल’ का विजेता हुन्। आमा गुमाएका उनी काका-काकीसँगै काठमाडौंमा बस्छन्। काका रमेश उप्रेतीले जेनिसको अभिभावकत्वको जिम्मेवारी सम्हालेका छन्। तर यो घटनाले अरु अभिभावक जस्तै उनलाई अत्यास लागेको छ।

'यस अप्रत्यासित घटनाले थप सतर्क बनाएको छ। अभिभावकत्वको रुपमा मैले हेरिरहेको भएर रेकर्ड गर्दा म सँगै जान्छु। अब त एक्लै पठाउने अवस्था पनि छैन,' उनले भने ।

१८ वर्षमुनिका बालबालिकाका सुरक्षाका लागि राज्यले पनि कानुन बनाउनुपर्ने र कानुनलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने उनको तर्क छ।

'नोगेन बोल' को गीतमार्फत चर्चामा छिन् बालगायिका रुक्सना लिम्बू। उनी पनि ‘भ्वाइस किड्स नेपाल’ को फाइनालिस्ट हुन्। यस्ता घटनाले छोरीको चिन्ताले पिरोल्ने बताउँछिन् आमा रेखा लावती।

पल प्रकरणले नेपाली मनोरञ्जन क्षेत्र तरंगित छ। उनीविरुद्ध एक नाबालिकाले आफूमाथि जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीकहाँ जाहेरी दर्ता गरिन्। किटानी जाहेरीपछि पल शाह पक्राउ परे। प्रहरीले तनहुँ हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

पीडित १७ वर्षकी नाबालिका हुन्। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार कुनै महिलालाई मञ्जुरी नलिई करणी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरे बलात्कार मानिन्छ।

पछिल्लो समय सांगीतिक क्षेत्रतिर बालबालिकाको सहभागिता बढ्दो छ। यस घटनाले गायन तथा कलाकारिता क्षेत्रमा लाग्ने बालबालिकाका अभिभावकहरुलाई थप चिन्तित बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell