PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सामाजिक सञ्जाल र युवा



पहिलोपोस्ट

सामाजिक सञ्जाल र युवा
Collage by Elsa Brown and Andres Lombana-Bermudez

  • अविनाश गजुरेल

सामाजिक सञ्जाल कम्प्युटरमा आधारित एउटा यस्तो प्रविधि हो जसले विचार, भावना र सूचना प्रवाहमा मद्दत गर्छ। यो सञ्जालले शब्द, श्रव्य, श्रव्य-दृश्य (भिडियो) र ग्राफिक्सको रूपमा, 'भर्चुअल नेटवर्क' मार्फत् विश्वका विभिन्न स्थानमा रहेका मानिसहरूलाई जोड्छ, एक ठाउँमा ल्याउँछ। सामाजिक सञ्जालको व्यापकता विशाल छ। अनेक नामका धेरै वटा यस्ता सञ्जालका प्रयोगकर्ता विश्वभर ५ अर्ब भन्दा धेरै छन्। सामाजिक सञ्जालका कूल प्रयोगकर्ता मध्ये अधिकांश युवा छन् भन्ने कुरा अध्ययनहरूले देखाएका छन्।

सामाजिक सञ्जालमा राखिने सामग्रीहरू मूलतः त्यो सञ्जाल प्रयोगकर्ताको इच्छा अनुसारका हुन्छन्। निश्चत कानूनी शर्तका अधिनमा रहेर जोसुकैले जस्तोसुकै सामग्री यस्ता 'प्लेटफर्म' मा राख्न सक्छ। अपराध वा हिंसालाई प्रोत्साहन गर्ने, अरूलाई दुख दिने वा अपमान गर्ने, निजी मामिलामा दख्खल दिने, सम्बन्धित देशका कानूनको उलङ्घन गर्ने जस्ता सामग्री कुनै पनि सामाजिक सञ्जालमा राख्न बन्देज गरिएको हुन्छ। यदि कसैले त्यस्ता प्रतिबन्धित सामग्री राखेमा वा त्यस्तो व्यवहार गरेमा कानून वमोजिम कारवाही हुन्छ।

इण्टरनेटमा दर्जनौँ सामाजिक सञ्जाल सञ्चालनमा छन्। प्रयोगकर्ताको संख्याका हिसाबले फेसबुक, युट्यूब, वाट्सयाप, इन्स्टाग्राम, विच्याट, टिकटक, मेसेञ्जर, सिना वाइबो आदि ठूला सामाजिक सञ्जाल हुन्। यी मध्ये सबैभन्दा ठूलो सञ्जाल फेसबुकका प्रयोगकर्ता झण्डै तीन अर्व छन्। खास गरी युवाहरूमा अत्यन्तै लोकप्रिय देखिने युट्यूब दोश्रो ठूलो सामाजिक 'नेटवर्क' हो। संसार भरका साढे दुई अर्व भन्दा धेरै मानिसले युट्यूब चलाउँछन्। थोरैले मात्र प्रयोग गर्छन् जस्तो देखिने टेलिग्राम नामको सामाजिक सञ्जालमा समेत ३० करोड मानिस जोडिएका छन्।

यो 'इन्फोग्राफ' ले विश्वमा सबै भन्दा धेरै प्रयोगकर्ता रहेका केही सामाजिक सञ्जालबारे जानकारी दिन्छ।

सामाजिक सञ्जालबाट प्रयोगकर्ताले उपयोगी ज्ञान र जानकारी प्राप्त गर्न सक्छन्। सृजनात्मक तथा उत्पादनमूलक तरिकाले सामाजिक सञ्जालको प्रयोग गर्ने हो भने यो वरदान हो। यसबाट अनेक फाइदा लिन सकिन्छ। तर यो माध्यमको दुरुपयोग गरियो भने चाहिँ यो अभिशाप बन्न सक्छ। गलत ढङ्गले चलाइयो भने यो 'भर्चुअल प्लेटफर्म' व्यक्ति, समाज, र राष्ट्रलाई समेत विनाशकारी हुन सक्छ। यस्ता माध्यमको प्रयोगले प्रयोगकर्ताको सोचाइ, र व्यवहार समेतलाई प्रभाव पार्छ।

प्यू रिसर्च सेण्टरका अनुसार, सामाजिक सञ्जाल प्रयोगकर्ता मध्ये युवा अत्यधिक छन्। सामाजिक सञ्जालका कूल प्रयोगकर्ता मध्ये १८ देखि २९ वर्ष उमेर समूहका झन्डै नब्बे प्रतिशत मानिसहरूले कम्तिमा एउटा सामाजिक सञ्जाल प्रयोग गर्छन।  

यस्तो स्थितिमा, अरू उमेर समूहका मानिसका तुलनामा युवा वर्ग सबैभन्दा सम्वेदनशील अवस्थामा देखिन्छन्।

यो उमेरका कलिला मानिस त्यसै पनि स-साना कुराले बहकिने खतरा रहन्छ। सामाजिक सञ्जाल वा इण्टरनेटमा उपलब्ध अथाह सामग्रीले युवालाई सकारात्मक र नकारात्मक दुवै किसिमको प्रभाव पार्ने सम्भावना हुन्छ। के ठीक हो र के गलत हो भन्ने कुराको सही निर्णय गर्न नसक्ने हो भने सामाजिक सञ्जाल अभिशाप बन्नसक्छ। तर, यसको सही प्रयोग गरियो भने वरदान वन्न सक्छ। प्रयोगकर्ताको व्यवहारमा धेरै कुरा निर्भर गर्छ।

फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालले 'युवाहरूलाई बहकाइरहेको छ' भन्छन् कतिपय मानिस। वास्तवमा स्थिति कस्तो छ? के यो विश्वव्यापी सञ्जालले हाम्रा युवालाई अलमल्याएर गलत बाटोतिर डोर्‍याइरहेको छ? अथवा यसका फाइदा पनि छन्? यी प्रश्नको जवाफ यस लेखमा खोज्ने प्रयास गरिएको छ। र, युवा वर्गमा सामाजिक सञ्जालले पार्ने केही प्रमुख प्रभावहरूबारे छलफल गरिएको छ।

युवा वर्गमा सामाजिक सञ्जालको सकारात्मक प्रभाव

  • सामाजिक सञ्जालले परिवार र साथीहरूसँग नियमित सम्पर्कमा रहन मद्दत गर्छ, जसबाट व्यक्ति-व्यक्तिबीच घनिष्ठ सम्बन्ध कायम हुन सक्छ;
  • युवा वर्गलाई सामाजिक सञ्जालले आफ्नो प्रतिभा र सिर्जनात्मक क्षमता प्रदर्शन गर्ने ठाउँ दिन्छ;
  • यो माध्यमले प्रयोगकर्ताहरूलाई विश्वभरीबाट उपयोगी र लाभदायी जानकारी, सूचना तथा ज्ञानबारे अद्यावधिक हुन सघाउँछ;
  • युवाहरूका लागि आफ्नो मनको कुरा पोख्ने यो एकमात्र यस्तो ठाउँ हो, जहाँ उनीहरू निर्धक्क भएर प्रस्तुत हुन सक्छन्। सामाजिक सञ्जालका प्रयोगकर्ता यो प्लेटफर्मका 'सम्पादक' आफैँ हुन्छन्। आफूले चाहेको कुनै पनि सामग्री यस्ता टाउँमा सार्वजनिक गर्न रोक लगाउने कुनै 'फिल्टर' वा अवरोध हुँदैन;
  • जीविकाका लागि चाहिने उपयुक्त शीप, क्षमता र दक्षता विकास गर्न युवाहरूलाई सामाजिक सञ्जालले मद्दत गर्छ;
  • नयाँ साथी बनाउन र सकेसम्म अरूबारे थाह पाउन यस्तो सञ्जालले सघाउँछ;
  • साथीहरूलाई प्रत्यक्ष भेटेर आमने-सामने कुरा गर्नु भन्दा 'भर्चुअल' कुरा गर्दा छुट्टै खालको रमाइलो हुन्छ;
  • सामाजिक सञ्जालको प्रयोग सही ढङ्गले गर्न सक्यो भने विद्यार्थीहरूलाई पढाइमा समेत मद्दत गर्छ सञ्जालले। विद्यार्थीहरूले यो मञ्च प्रयोग गरेर विभिन्न नयाँ कुरा सिक्न सक्छन्;
  • सामाजिक सञ्जालमा पहुँचका कारण राजनीतिक छलफल र अन्य सामाजिक मुद्दाहरुमा युवाको सहभागिता बढ्दै गएको पाइएको छ।
  • सामाजिक सञ्जाल सूचना जानकारी प्राप्त गर्ने र मानिसहरू सँग जोडिने सस्तो र द्रुत माध्यम हो;
  • यसको प्रयोगले पछाडि परेका समुदाय र वर्गलाई सशक्त बनाउन मद्दत पुग्छ;
  • सामाजिक सञ्जाल वस्तु तथा सेवा विक्रीका लागि उत्तम माध्यम हुन सक्छ। यसले पैसा कमाउन, मानिसहरूसँग सम्पर्क वढाउन, रोजगारी पाउन, र अनेक व्यापारिक अवसरहरू खोज्न समेत मद्दत गर्छ;
  • त्यसै गरी कामदार खोज्न रोजगारदाताहरूलाई समेत यसले सघाउँछ;
  • उपभोक्तालाई चाहिएको 'ब्रान्ड' र उत्पादनहरू रोज्न मदत गर्छ;
  • सामाजिक सञ्जालहरू आफै पनि रोजगारदाता हुन्।

युवा वर्गमा सामाजिक सञ्जालको नकारात्मक प्रभाव

  • सामाजिक सञ्जालको अध्यधिक प्रयोग गर्ने धूनमा कतिपय युवा परिवार, खेलकुद, सिकाइ, पढाइ जस्ता जीवनका महत्वपूर्ण पक्षलाई बेवास्ता गरिराखेका हुन्छन्;
  • सञ्जालमा देखिने व्यक्ति र वस्तुहरूको स्वरूप वास्तवमा सत्य नभएर भ्रामक पनि हुन सक्छ;
  • 'साइबर बुलिङ' भनिने दुर्व्यवहार सामाजिक सञ्जालमा हुने सबैभन्दा विनाशकारी पक्ष हो। कतिपय व्यक्तिले सञ्जाल प्रयोग गरेर अरूलाई मानसिक तनाव दिन्छन्, धम्काउँछन्। यस्ता गतिविधिको प्रभाव निकै घातक हुन सक्छ। यस्ता व्यवहारले मानिसलाई 'डिप्रेसन' मा पुर्‍याउन सक्छ र आत्महत्या गर्न प्रेरित गर्ने सम्मको खतरा हुन्छ;
  • युवाहरूमा सञ्जाल प्रयोगको लत बसेर जीवनका अन्य महत्वपूर्ण काम लथालिङ्ग हुने जोखिम रहन्छ;
  • सामाजिक सञ्जाल अधिक प्रयोग गर्ने कामदार/कर्मचारीको उत्पादन क्षमतामा ५१% सम्म ह्रास आएको अध्ययनहरूले देखाएका छन्;
  • आफ्ना निजी जानकारी तथा सूचना सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने प्रवृत्ति युवाहरूमा वढी पाइन्छ। सबैले थाहा पाउने गरी यसरी राखिएका व्यक्तिगत् जानकारी अपराधीहरूले दुरुपयोग गरेर दुख दिन सक्छन्;
  • सामाजिक सञ्जालको अधिक प्रयोगले पनि युवाहरूको ध्यान विकर्षण हुन सक्छ, उनीहरूमा कम सुत्ने, व्यक्तिगत् सरसफाइ जस्ता कुरामा ध्यान नदिने जस्तो बानी विकास हुन सक्छ।
  • गलत सूचना प्रवाह गरी अफवाह फैलाउने जस्ता प्रवृत्तिले समेत समाजलाई नकारात्मक असर पर्न सक्छ;

माथिको छलफलबाट के प्रष्ट हुन्छ भने सामाजिक सञ्जालको प्रयोग आवश्यक छ। तर यसको प्रयोग रचनात्मक ढंगबाट गरिनु पर्छ। उत्पादनमूलक तथा रचनात्मक तरिकाले सामाजिक सञ्जालको प्रयोग गरियो भने यो वरदान हुन सक्छ। यसका फाइदाहरू असीमित छन्। गलत तरिकाले यसको प्रयोग गर्ने हो भने चाहिँ यो श्राप बन्ने जोखिम पनि उत्तिकै रहन्छ। तसर्थ, सामाजिक सञ्जालको प्रयोग गर्दा सधैँ सजग रहनु जरूरी छ।

(एनिमेशनमा रूचि राख्ने अविनाश गजुरेल स्नातकका विद्यार्थी हुन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell