PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पल शाह प्रकरण : अनुसन्धान नसकिएकाले हिरासतमा म्याद थपको हुँदै तयारी



पहिलोपोस्ट

पल शाह प्रकरण : अनुसन्धान नसकिएकाले हिरासतमा म्याद थपको हुँदै तयारी
फिल्मको दृश्यमा पल शाह

काठमाडौं : एक सातादेखि हिराशतमा रहेका किशोरी बलात्कारका अभियुक्त पल शाहमाथिको अनुसन्धान पूरा नभएकाले म्याद थपको तयारी हुँदैछ। गत सातादेखि प्रहरी नियन्त्रणमा रहेका शाहमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरीमा उनीमाथि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। पहिलो पटक अदालतबाट लिएको समय आज सकिँदैछ।

अदालतबाट लिएको समय सकिएको र अनुसन्धान नसकिएकाले प्रहरीले थप म्याद लिएर अनुसन्धान गर्ने भएको छ। जिल्ला प्रहरी कार्यालयले आज जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको हो। सात दिनको अवधिमा प्रहरीले अभियुक्तसँग बयान लिने, घटनासँग विभिन्न कारणले जोडिएका मानिससँग बयान लिने र अन्य अपराध पुष्टि गर्ने लगायतका कार्य गरिरहेको छ।

जिल्ला अदालत तनहुँमा शाहमाथि उजुरी दर्ता भएपछि प्रहरीले पल शाहलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो। पुर्जी जारी भएपछि शाह पाँच दिनसम्म फरार भएका थिए। चर्को आलोचना भएपछि पल शाह आफैं प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए।

सहमतिमै पनि १८ वर्ष नपुगी यौन सम्बन्ध राख्‍न नेपालको कानुनले बर्जित गरेको छ। यदि जाहेरीमा उल्लेख भएअनुसार घटना भएको पुष्टि भएमा १० देखि १२ वर्ष कैद सजायको सम्भावना रहन्छ। शाहविरुद्ध पूर्वी नवलपरासी गैंडाकोटमा समेत उजुरी दर्ता भइसकेको छ।

शाहले २०७८ वैशाखमा पछिल्लो पटक किशोरीसँग करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ। २५ दिनभित्र प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा राय सहितको अनुसन्धान प्रतिवेदन बुझाउनुपर्छ।

सरकारी वकिल कार्यलयले प्रहरीको अनुसन्धान चित्त बुझेमा जिल्ला अदालत तनुहँमा मुद्दा दर्ता गर्ने छ। त्यसपछि अदालतमा बहस सुरु हुन्छ। जिल्ला न्यायधीशले त्यसपछि आदेश सुनाउँछन्। पहिलो चरणमा साधरण तारिकमा रिहा गर्ने, धरौटीमा रिहा गर्ने वा पूर्पक्षको लागि थुनामा पठाउने मध्ये एक आदेश दिनेछन्।

पूर्पक्षको लागि हिरासतमा पठाउने आदेश भए पल शाहले हिरासतमा नै बसेर मुद्दा खेप्नुपर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell