PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

एक तोला सुनको मूल्य १ लाख १ हजार ९ सय रुपैयाँ पुग्यो



पहिलोपोस्ट

एक तोला सुनको मूल्य १ लाख १ हजार ९ सय रुपैयाँ पुग्यो

काठमाडौं : सुनको मूल्य वर्षकै सर्वाधिक भएको छ। आइतबार सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य कोभिड-१९ महामारी सुरु भएयता पुगेको उच्च मूल्यकै पुनः नजिक छ। कोभिड महामारीले अन्तर्राष्ट्रिय बजार प्रभावित भएका बेला सुन बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो।

रसियाले युक्रेनमाथि आक्रमण गरेयता बढेको बजारसँगै सुन पुनः पुरानो मूल्यनजिक पुगेको हो। पेट्रोलियम पदार्थ र डलर महँगिएको असर सुनमा परेको देखिएको छ।

साताको पहिलो दिन तोलामा २ हजार रुपैयाँ बढेको हो। यसअघि गत शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य बिहीबारका तुलनामा ९ सय रुपैयाँ बढेर कायम भएको थियो।

आइतबार सुनसँगै चाँदीको मूल्य पनि फराकिलो अन्तरले बढेको छ। ३५ रुपैयाँ बढ्दा चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ भएको छ। गत शुक्रबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य आकासिएको छ। आइतबार सुन प्रतिऔंस १९७०.६८ डलर छ। यसअघि गत बिहीबार १९२५.७८ डलरमा कारोबार भएको थियो। त्यसमा बढेर शुक्रबार १९३९ .९५ डलर भएको थियो।

चाँदी प्रतिऔंस २५.७४ डलर छ। शुक्रबार २५.२१ र बिहीबार २५.२६ डलरमा कारोबार भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell