
काठमाडौं : महिला सांसद तथा नेतृहरुले पल शाह प्रकरणबारे गृहमन्त्री बालकृष्ण खाणलाई भेट्ने भएका छन्। पीडित बालिकालाई थप पीडा हुनेगरी भइरहेका गतिविधिबारे गृहमन्त्रीको ध्यानकर्षण गर्न लागिएको सांसद विन्दा पाण्डेले जानकारी दिइन्। गृहमन्त्री खाणसँग आइतवार दिउँसो २ बजे भेटने तय भएको पाण्डेले बताइन्।
पल प्रकरणमा अहिले पीडितलाई नै आक्षेप लाग्ने गरि कानुनको उलंघन भइरहेको भन्दै गृहमन्त्रीलाई कानुन उल्लंघन गर्नेमाथि पनि कारवाही गर्नुपर्ने माग सहित नेतृहरुले भेट्न लागेको हुन्।
'कानुनको उल्लंघन गर्ने काम भइराखेको छ। यसबारेमा मिडिया लगायत नागरिकलाई पनि सचेत गराउने काम गर्नुपर्यो। पीडितलाई नै पीडा हुनेगरि बोल्न भएन। बालिकाको नामै लिने, नारा जुलुस गर्ने जस्ता कुरा छन्। पीडितको नामै लिने गरेपछि त्यो पनि कारवाहीको विषय बन्न सक्छ,'उनले भनिन्।
पल शाह प्रकरणमा कानुनको उल्लंघन गर्नेलाई मतियारको रुपमा कारवाहीको दायरामा ल्याउनुपर्ने पाण्डेको भनाइ छ।
'मुलत सरकारले अुनसन्धान, अभियोजन र कारवाही गर्नुपर्यो। त्यसमा कसैबाट पनि प्रभावित हुने कुरा गर्नुभएन। अन्यायमा कोही पर्नु भएन भन्ने कुरा गर्न लागेका हौ,'उनले भनिन।
नायक शाह प्रक्ररणबारे कलाकार र राजनीतिक दलका महिला संगठनहरुले आवाज नउठाएको भन्दै आलोचना हुँदै आएको छ।
नायक पल शाहले आफूलाई जबरजस्ती करणी गरेको भन्दै एक बालिकाले उजुरी दर्ता गरेपछि अहिले अनुसन्धान भइरहेको छ। शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइरहेको छ।
पीडित बालिकालाई नै पीडा पुग्नेगरी सामाजिक सञ्जाल र युट्युवमा सामाग्रीहरु प्रसारण भइरहेका छन्। जसकारण गृहमन्त्त्रालय र प्रेस काउन्सीलले अनुसन्धानलाई प्रभाव पार्नेमाथि कारवाही हुने जनाउँदै सूचना जारी गरेको थियो।