
काठमाडौं : नाबालिग किशोरीमाथि जबरजस्ती करणीका अभियुक्त पल शाहलाई जिल्ला अदालत तनहुँले थप १२ दिनको हिरासतमा पठाएको छ। एक सातादेखि हिरासतमा रहेका शाहमाथिको अनुसन्धान पूरा नभएकाले म्याद थपको गरिएको हो।
जबरजस्ती करणी र यौन दुर्व्यवहारको उजुरीमा उनीमाथि म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। पहिलो पटक अदालतबाट ७ दिनको म्याद दिएको थियो।
आज अदालतबाट लिएको समय सकिएको र अनुसन्धान नसकिएकाले जिल्ला प्रहरी कार्यालयले आज जिल्ला अदालत तनहुँबाट म्याद थप गरेको हो।
सात दिनको अवधिमा प्रहरीले अभियुक्तसँग बयान लिने, घटनासँग विभिन्न कारणले जोडिएका मानिससँग बयान लिने र अन्य अपराध पुष्टि गर्ने लगायतका कार्य गरेको थियो।
जिल्ला अदालत तनहुँमा शाहमाथि उजुरी दर्ता भएपछि प्रहरीले पल शाहलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो। पुर्जी जारी भएपछि शाह पाँच दिनसम्म फरार भएका थिए। चर्को आलोचना भएपछि पल शाह आफैं प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए।
सहमतिमै पनि १८ वर्ष नपुगी यौन सम्बन्ध राख्न नेपालको कानुनले बर्जित गरेको छ। यदि जाहेरीमा उल्लेख भएअनुसार घटना भएको पुष्टि भएमा पलले १० देखि १२ वर्ष कैद सजाय पाउनेछन्। शाहविरुद्ध पूर्वी नवलपरासी गैंडाकोटमा समेत उजुरी दर्ता भइसकेको छ।