![पल्सर स्पोर्ट्स अवार्डमा ‘पिपल्स च्वाइस अवार्ड’को लागि पाँच जना खेलाडी मनोनित](https://pahilopost.com/assets/upload/contentthumb/274920353_710032540169047_2289626473091989030_n.jpg)
काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्डमा पाँच जना खेलाडी मनोनित भएका छन्। मनोनित हुने खेलाडीहरुमा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तोम्बाफो, टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका छन्।
श्रेष्ठले १३औँ सागयता २०७८ सालको प्रधानसेनापति कप हाफ म्याराथनसम्म आइपुग्दा ९ वटा प्रतियोगितामा प्रथम बनेकी थिइन् भने हाफ म्याराथन (नेपालगञ्ज म्याराथन २०७८) मा १ घन्टा, १८ मिनेट ४८ सेकेन्डमा दुरी पूरा गर्दै प्रथम भएकी थिइन्।
त्यस्तै, तोम्बाफो राष्ट्रिय फुटबल टोलीकी पहिलो रोजाइकी गोलकिपर हुन्। उनले २०७७ सालमा एपीएफले राष्ट्रिय महिला लिग जित्दा टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहिन्। जसमा १२ खेलमा १ गोलमात्र ब्यहोरिन्। त्यस्तै, पाकिस्तानको मासा युनाइटेडको कप्तानी समेत गरेकी थिइन्।
टेबल टेनिसकी महर्जन १२औँ र १३औँ सागमा टिम इभेन्टमा पदक जित्न सफल खेलाडी हुन्। खेलाडी मात्र नभइ एकेडेमीमार्फत खेलाडी उत्पादनमा पनि सक्रिय छिन्। उनले कोभिडकालमा १३औँ सागबाट प्राप्त पुरस्कार रकमको आधा भाग कोरोना प्रभावित परिवारहरुलाई छुट्याएकी थिइन्।
क्रिकेटमा भुर्तेलले पछिल्लो वर्ष उत्कृष्ट डेब्यू गर्दै वर्चस्व बनाउन सफल भएका छन्। ११ वटा टी-२० इन्टरनेशनल खेल्दा एक शतक र पाँच अर्धशतकसहित कुल ४ सय ९८ रन जोडेका छन्।
ब्याडमिन्टनका प्रिन्स दाहाल जुनियरतर्फ विश्व वरीयतामा शीर्ष स्थानका खेलाडी हुन्। घरेलु प्रतियोगितामा सिनियर तर्फका नम्बर १ खेलाडीलाई समेत हराउँदै पटक-पटक च्याम्पियन बनिसकेका छन्।
यो विधामा खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट विजेता चुनिने मञ्चको विज्ञप्तिमा जनाइएको छ। जसमा इसेवाको भोटमा ५० प्रशिशत मतभार, सामाजिक सञ्जाल फेसबुक लाइकबाट २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षक र खेलपत्रकारबाट समान १२.५ प्रतिशत मतभार रहने आयोजकले जनाएको छ।
यसबाहेक सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधामा पनि अवार्ड प्रदान गरिनेछ।