काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव सिफारिस समितिमा नाम दिएसँगै सदन संचालन हुने विश्वास व्यक्त गरेका छन्।
संसद्को आजको बैठकपछि बाहिरिने क्रममा उनले लामो समयदेखि सदनमा अवरोध भइरहेको अवस्थामा एमालेले सिफारिस समितिमा रहने सदस्यको नामावली पठाएको विषयलाई आफूहरुले सकारात्मकरुपमा लिएको बताएका हुन्। एमालेबाट समितिमा चारजना सांसद्को नाम पठाइएको छ।
‘उहाँहरुले नाम पनि दिनुभएको छ। हुन्छ र हुन्नको प्रक्रियामा नाराबाजी भए पनि समर्थन नै छ, अब प्रक्रिया अगाडि बढ्छ। अब संसद् संचालन होला कि भन्ने आशा बढेको छ,’ उनले भने।
संसदमा जनताका सरोकारसँग जोडिएका नागरिकतालगायत अत्यन्त महत्पूर्ण विधेयकलाई अगाडि बढाउन प्रमुख प्रतिपक्षी दलको सहभागिता आवश्यक रहेको बताउँदै उनले प्रतिपक्षीको सहयोग भएमा सदनलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताए।