
काठमाडौं : सन् २०१२ मा ‘मिस नेपाल’ बनेपछि फिल्म क्षेत्रमा भित्रिएकी हुन् अभिनेत्री सृष्टि श्रेष्ठ। उनले डेब्यू फिल्म ‘गाजलु’मा अभिनेता अनमोल केसीसँग सहकार्य गरिन्। तर, फिल्मले खासै व्यापार भने गर्न सकेन।
त्यसपछि उनी ‘पोइ पर्यो काले’, ‘जस्ट एनोदर लभ स्टोरी’ र ‘रोमियो एण्ड मुना’ जस्ता फिल्ममा देखिइन्। तर, सबै फिल्म व्यावसायिक रुपमा असफल भए। भलै फिल्म ‘रोमियो एण्ड मुना’मा उनको अभिनयको चर्चा भने चलेको थियो। तर, उनले अभिनय गरेका फिल्महरु व्यावसायिक रुपमा सफल नभएपनि उनले फिल्म करियरलाई निरन्तरता भने दिइनै रहेकी छिन्।
सृष्टिकै मुख्य भूमिका रहेको फिल्म ‘चिसो एस्ट्रे’ चैत ४ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्मको प्रचारप्रसारका लागि आज पत्रकारसँग भेटघाट कार्यक्रम राखिएको थियो। सृष्टि फिल्ममा शालीनताको भूमिकामा छिन्। जहाँ शालीनता इन्स्टेलसन आर्टिस्ट हुन्छिन्।
‘चिसो एस्ट्रे’ टिमसँग काम गर्न पाउँदा निकै भाग्यमानी महसुस गरेको सृष्टिले बताइन्। शालीनताको माध्यमबाट व्यक्तिगत रुपमा धेरै कुरा सिक्न पाएको र व्यक्तित्व नै परिवर्तन भएको उनको भनाइ छ।
‘साँच्चै यो फिल्मबाट धेरै कुरा सिक्न पाएँ। शालीनताको माध्यमबाट मेरो जीवन र धारणामा नै परिवर्तन भएको छ। आत्मबोध गर्ने भएकी छु’, उनले भनिन्, ‘हरेक फिल्ममा यत्तिको स्तरको मेहनेत गर्नुपर्छ भन्ने सिकेकी छु। किनकी फिल्मको लागि यतिको स्तरको टिमवर्क र रिसर्च हामीले दिनै पर्ने रहेछ। यस फिल्ममार्फत सिकेको कुरालाई अघि निरन्तर अघि बढाउने छ।’
सोही क्रममा सृष्टीलाई पत्रकारले प्रश्न तेर्साए। ‘के सृष्टीका लागि फिल्म ‘चिसो एस्ट्रे’ करियरको पूनर्जन्म हो?
फिल्मबाट आफू मात्रै नभई सम्पूर्ण कलाकारहरू फेरि जन्मेको उनले घुमाउरो शैलीमा जवाफ दिइन्।
‘यो फिल्मबाट हामी सबै जना फेरि जन्मेको जस्तो महसुस भएको छ। मभित्र नयाँ दृष्टिकोण जन्म भएको छ। व्यक्तिगत रुपमा म यो फिल्मबाट नयाँ भएकी छु। मेरो आफैँमा पुनर्जन्म भएको छ। आशा छ त्यो काममा पनि होस्। र, सबैजनाले यो फिल गरिदियोस्,’ उनले भनिन्।
फिल्ममा सृष्टी श्रेष्ठका साथै दिव्य देव, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ। कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्।
यो फिल्म भूपि शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकको कविताबाट प्रभावित तयार गरिएको निर्देशक दिन्स पाल्पालीले जानकारी दिए। फिल्मको कथा समेत पाल्पालीले नै लेखेका हुन्। गाउँबाट शहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छन्, यही विषयलाई फिल्मले मुख्य विषयवस्तु बनाएको छ।