PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

हमाल मृत्यु प्रकरण : मृतकका आफन्तले प्रहरीविरुद्ध दिए जाहेरी



पी बी खड्का

हमाल मृत्यु प्रकरण : मृतकका आफन्तले प्रहरीविरुद्ध दिए जाहेरी
प्रतीकात्मक फोटो

सुर्खेत : कालिकोट तिलागुफा नगरपालिका–३ का ३१ वर्षीय कृष्ण हमाल ‘मिनी’को प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै आफन्तले जाहेरी दिएका छन्।

मृतकका आफन्तले प्रहरीको कुटाईबाट मृत्यु भएको दावी गर्दै सुब्बाकुना प्रहरी चेकपोष्टका इन्चार्ज ४२ वर्षीय प्रहरी सहायक निरीक्षक शेर सिंह धामी विरुद्ध फागुन आईतवार जाहेरी दिएका हुन्।

शुक्रवार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको भे १ क ९२२ नम्बरको मिनि ट्रकमा आएका उनलाई वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा केरकार गरी नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेर हत्या गरेको अभियोगमा मृतकका बुवा हिराचन्द्र हमालले जाहेरी दिएका हुन्।
प्रहरीले अनावश्यक रुपमा नियन्त्रणमा लिएर  निर्घात कुटपिट गरी गम्भिर घाइते बनाएको र उपचारका लागि अस्पताल ल्याउने क्रममा कृष्णको बाटोमै मृत्यु भएको आफन्तको भनाई छ ।

‘नेपालगञ्जदेखि पसलको सामान लिएर साढे ११ बजेतिर सुब्वाकुना चेकपोष्टमा आइपुगेका रहेछन्,’ मृतक हमालको दाइ नाता पर्ने रत्न पाण्डेले भने, ‘ट्रक चालकलाई कागजात देखाउनुपर्यो, मदिरा सेवन नगर्दा पनि किन मदिरा सेवन गरेको भनेर दुःख दिने काम भएछ, अनि भाई (कृष्ण)ले किन यसो गर्नुहुन्छ भन्दा उल्टै बढी बोल्छस् भनेर प्रहरीले गेटभित्र लगेर निर्घात कुटपिट गरेर करिब १२ बजेपछि मात्रै अन्तिम अवस्थामा गेटबाहिर निकाले छन्।’ उनले ट्रक चालक तिलकबहादुर शाहीलाई उदृत गर्दै अगाडि थपे, ‘ड्राईभरलाई बाहिरै कुटेछन्, भाइलाई गेटभित्र लगेर कुटेछन्।’
परिवार र आफन्तले प्रहरीको कुटाईबाट मृत्यु भएको भन्दै दोषीको पहिचान गरी कारवाही गर्नुपर्ने र पीडितलाई उचित क्षति पूर्ति दिनुपर्ने माग राखेका छन्। मृतक हमालको शव प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ भने, ट्रकका चालक र सहचालक सुर्खेत प्रहरीको नियन्त्रणमा रहेका छन्।

छानविनको म्याद थप

यता, जिल्ला प्रशासन कार्यालय, सुर्खेतले घटनाको छानविनका लागि गठन गरेको छानविन समितिको म्याद थप गर्न मृतकका आफन्तले आग्रह गरेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा गठित समितिले सात दिनभित्रमा सत्यतथ्य प्रतिवेदन पेश गर्न भनिएको छ।

पाँच सदस्यीय छानविन समितिमा जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्ती, राष्ट्रिय अनुसन्धान सुर्खेतका अनुसन्धान अधिकृत गोपाल थापा, उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तम प्रसाद आचार्य र प्रदेश अस्पतालमा कार्यरत डा. चन्द्रेश सिंह समितिमा रहेका छन्।
यसअघि प्रशासनले घटनाको निष्पक्ष छानविन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न भनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell