PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जसले करिडर यात्रा सकसपूर्ण बनाइरहेछन् : साँघुरा सडक र पुल अनि 'लेन' मिच्ने चालक

जसले करिडर यात्रा सकसपूर्ण बनाइरहेछन् : साँघुरा सडक र पुल अनि 'लेन' मिच्ने चालक

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : जोरबिजोर अन्त्य भएसँगै राजधानी उपत्यकामा सबारी जाम चर्कैसँग बढेको छ। त्यसैले धेरैजनाले विकल्पमा रोज्छन् करिडरको बाटो। तपाईँ पनि छिटो यात्रा गर्न करिडर रोज्नु हुन्छ होला। तर, पछिल्लो समय सबैभन्दा ट्राफिक जामको केन्द्र यस्तै नदी किनारका सडकमा हुने गरेको छ।

काठमाडौं उपत्यकाभित्रका करिडरमा मुख्य सडक भन्दा धेरै सवारी जाम हुन थालेको हो। नदी किनारका साँघुरा सडक र साँघुरै पुल अनि दायाँबायाँ क्रस गर्ने सवारी चालकको हतारो - एकैथलोमा जम्मा भएपछि सुरु हुने ट्राफिक जाम खुल्न उत्तिकै कठिन। 

उपत्यकाका मुख्य करिडरहरु विष्णुमती, वाग्मती, धोवीखोला र मनोहरा करिडरमा अहिले साँझ तथा बिहान सवारीको अत्याधिक जाम हुने गरेको छ। सहजै ट्राफिक व्यवस्थापन नुहँदा केही मिटरको दुरी पार गर्न पनि घन्टौ खर्चिनु परेको छ। एकातिर सडक संरचनाको कमजोरी त अर्कातिर सवारी चालकको लापरबाही। लेन अनुशासन पालना नगर्ने प्रवृत्तिले ट्राफिक जामको सकस थपिँदो छ। यतिसम्म कि यस्ता चोक र पुलहरुमा सवारी साधनमात्र होइन, पैदल यात्रु समेत हिँड्न नसक्नेगरी जाम हुन थालेको छ।

पुल साँघुरो भएपछि केही स्थानमा पैदल यात्रु हिँड्नका लागि थप लेन र पुल समेत बनेका छन्। वाग्मती करिडरका धेरै ठाउँमा यस्ता पुल थपिएका छन् तर त्यसले ट्राफिक जाम घटाउन अलिकति पनि योगदान पुर्‍याउन सकेको छैन।

धोवीखोला करिडरमा पनि यस्ता फलामे पुलहरु थपिएका छन्, यात्रु हिँड्नका लागि। तर, ट्राफिक जाम हुने ठाउँको चाप घट्न सकेको छैन। कुपण्डोल र बुद्धनजगर नजिकैको युएन पार्कमा हुने ट्राफिक जाम त स्थायी जस्तै भइसकेको छ, 'अफिस आवर'मा। बैकल्पिक मार्ग मानिएका यस्ता करिडरमा ट्राफिक जामको मुख्य कारण त्यहाँ बनाइएका साँघुरा पुलहरु नै हुन्।

शहरी विकास मन्त्रालयल अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्रका करिडरको व्यवस्थापन हेर्ने गर्दछ। जसमा पुल निर्माण चाहिँ भौतिक पूर्वधार तथा यातायात्र मन्त्रालय अन्तर्गतको सडक विभागले हेर्ने गरेको छ।

सडक विभागले बनाएका कतिपय पुल अहिले साँघुरो हुन थालेका छन्। २०७२ सालअघि बनेका केही सिङगल लेनका पुलका कारण पनि जाम भएको सडक विभागका प्रवक्ता इन्जिनियर शिवप्रसाद नेपाल स्वीकार्छन्।

'एउटा बिचको समय थियो। त्यतिखेर इन्टरमेडियट र सिंगल लेन भएका पुलहरु बनेका थिए। जुन पुल अहिले साँधुरो देखिएका छन्। तर २०७२ सालपछि भने हामीले डबल लेनका पुलमात्र बनाएका छौं,' प्रवक्ता नेपालले भने।

पछिल्लो समय करिडर लगायतका अन्य योजनामा परेका पुलहरु सिंगल लेन नभएर डवल लेनका मात्र भएको नेपालको दाबी छ। ५ मिटर र त्यसभन्दा कम चौडाइमा बनेका पुलहरु सिंगल पुल अन्तर्गत पर्छन्। पछिल्लो समय डवल लेनका पुलहरु नै बनेका छन् जसको चौडाई ११ मिटर चौडा रहेको हुन्छ जसमा साढे ७ मिटर सवारी हिड्ने र बाँकी फुटपाथ हुन्छ।

साँघुरा पुलमात्र होइन, सवारी साधनको लगातार सङ्ख्या थपिँदै जाँदा ट्राफिक जाम बढोत्तरी भएको छ। ट्राफिक प्रहरीको कार्यदायरा पनि बढाएको छ यसले तर त्यसअनुसारको जनशक्ति छैन।

'करिडरमा पिक आवरमा सर्वसाधारणले ट्रफिक जाम खेपिरहेका छन्। उपत्यकाको ट्राफिक जाम हटाउन संरचना र प्रविधिमा पनि विकास गर्नुपर्ने देखिन्छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेशराज जोशीले भने।

करिडोर व्यवस्थापनमा अलग्गै ट्राफिक प्रहरी

करिडोरमा देखिएको जाम लगायत अन्य अव्यवस्थालाई हटाउन भन्दै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले केही समय अघि करिडरको निरीक्षण गरिन्। मन्त्री सहितको जम्बो टोलीले करिडर पुगेर हेर्दा फुटपाथमा पसलदेखि निर्माण सामाग्री थुपारिएको भेटियो। डोजर समेत लिएर गएको मन्त्रीको टोलीले केही साना पसल र थुपारिएका निर्माण सामाग्री हटायो। तर, मन्त्री झाँक्रीको कदम प्रचारमुखि बढी, व्यवहारिक कम थियो। नीतिगत निर्णय र त्यसको कार्यान्वयनभन्दा चर्चा बटुल्ने 'स्टन्ट' सावित भयो उनको गतिविधि।

करिडर सडकलाई व्यवस्थापन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले करिडोर सडक व्यवस्थापन टोली परिचान गरेको छ। तर, यसको पनि प्रभावकारिता देखिएको छैन। देखिन्थ्यो भने ट्राफिक जाममा फस्नुपर्ने अवस्था रहन्थेन। एसएसपी जनकराज भट्टराईले ट्राफिक प्रहरी महाशाखाको नेतृत्व गर्दा उपत्यकाका मुख्य करिडोरहरु विष्णुमती, वाग्मती, धोवीखोला र मनोहरा करिडर सडकमा प्रभावकारी व्यवस्थापन गर्ने भन्दै टोली परिचालन गरेका थिए।

करिडोरलाई २४ खण्डमा विभाजन गरी १७ टोली खटाइएको थियो। टोलीले मोटरसाइकलमा यी क्षेत्रको अनुगमन गरेका थिए। करिडर सडकहरुमा हुने सवारी चाप, सवारी दुर्घटनामा शीघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित पार्किङ नियन्त्रण गर्न उनले 'डेडिकेटेड' टिम परिचालन गराएका थिए। एसएसएपी भट्टराईको एक महिनाअघि सरुवा भइसकेको छ।

अहिले एसएसपी उमेशराज जोशीले ट्रफिक प्रहरीको कमाण्ड गरिरहेका छन्। एसएसपी जोशीको प्राथमिकतामा पनि करिडोरको ट्राफिक व्यवस्थापन मुख्य रुपमा परेको छ। तर, साँधुरा र सीमित पुलका कारण ट्राफिक जाम व्यवस्थापन जटिल बनेको छ। एसएसपी जोशीले केही दिन अघिमात्र सडक विभागका महानिर्देशकलाई भेटेर आवश्यक ठाउँमा पुल थप्नुपर्ने सुझाव दिएका थिए।

धोवीखोला र विष्णुमती करिडोरमा ट्राफिक जाम बढेपछि थप ४/४ जना ट्राफिक प्रहरी खटाइएको छ। अन्य करिडोरमा पनि आवश्यकता हेरेर प्रहरी परिचालन गरिने एसएसपी जोशीले बताए।

'साँधुरो पुल छ। जसमा जनशक्ति पर्याप्त छैन। ट्राफिक प्रहरी समयमा नपुग्दा चालकले पनि ट्राफिक नियम पालना गर्दैनन्। त्यसले झन जाम हुने गरेको छ,' एसएसपी जोशीले भने, 'त्यस्ता करिडरका जाम हुने स्थानमा हामी थप ट्राफिक प्रहरी खटाउने योजनामा छौं।'

केही वर्ष यता नदी किनाराहरुमा व्यवसायिक क्षेत्र फैलिँदै गएको छ। रेस्टुराँहरु धेरै नै देखिन्छन् - करिडरमा। त्यसले बैकल्पिक मानिएको बाटोमा चापमात्र थपेको छैन, पार्किङ अभावले सडकलाई नै खुम्च्याइरहेको छ। रेस्टुराँमात्र होइन, निर्माण सामग्री राख्‍ने, ग्यारेज सञ्चालन गर्नेहरुले पनि सडकको चौडाईलाई खुम्च्याइदिएका छन्। र, छिटो पुगिने भन्दै करिडरबाट यात्रा गर्दा घन्टौं ट्राफिक जाममा फस्नुपर्ने हालतबाट सबै गुज्रिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell