PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

माओवादीले पदाधिकारी छान्ने सम्भावना कम, केन्द्रीय कमिटीलाई पूर्णता दिन पनि नेताहरुबिच रस्साकस्सी



पहिलोपोस्ट

माओवादीले पदाधिकारी छान्ने सम्भावना कम, केन्द्रीय कमिटीलाई पूर्णता दिन पनि नेताहरुबिच रस्साकस्सी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को शुक्रवारदेखि जारी केन्द्रीय कमिटीको बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना कम हुँदै गएको छ।बैठकमा पदाधिकारी र केन्द्रीय कमिटीको पूर्णता, स्थानीय तह निर्वाचन तथा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका एजेण्डामाथि छलफल भए पनि पदाधिकारीको भने टुंगो लाग्ने सम्भावना कम भएको नेताहरुले बताएका छन्।

शुक्रवार सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको अर्को बैठक आइतवारका लागि बोलाइएको थियो। तर, पदाधिकारी र केन्द्रीय कमिटीमा पर्न नेताहरुबिच रस्साकस्सी भएपछि आइतवार बैठक बस्न सकेन। बैठक सोमवार दिउँसोका लागि बोलाइएको छ।

शुक्रवारको बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे आफ्नो फरक मत राखेका थिए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित गर्न सहयोग गरेको भन्दै श्रेष्ठ असन्तुष्ट छन्। उनी पक्षका नेताहरुले एमसीसीबारे नेतृत्वको आलोचना गर्दै आएका छन्। एमसीसी र बैठकमा अन्य विषयमाथि उठेका प्रश्नको जवाफ प्रचण्डले सोमवारको बैठकमा दिने तयारी गरेका छन्।

पूर्व स्थायी कमिटी सदस्य गणेश साहले पदाधिकारी टुंगिने सम्भावना कम भएको बताए। 'केन्द्रीय कमिटीसम्म टुंगिएला कि। पदाधिकारीबारे निर्णय हुने सम्भावना कम छ,'उनले भने।

माओवादी केन्द्रले स्थानीय तहको चुनावअघि पदाधिकारी टुंग्याउने सम्भावना कम रहेको नेताहरु बताउँछन्। पार्टीको मुख्य पदहरुका लागि आकांक्षी नेताहरुको संख्या धेरै भएपछि माओवादी केन्द्रले दुई महिनासम्म अध्यक्ष बाहेकको पदमा नेता छान्न सकेको छैन।

माओवादी केन्द्रको पुस १८ गते सकिएको ८ औं महाधिवेशनबाट २४६ जनाको केन्द्रीय कमिटी चयन गरेको थियो। २९९ जना केन्द्रीय सदस्य हुनुपर्नेमा २४६ जनाको नाम मात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको हलमा प्रस्तुत गरेका थिए। पुस १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई दोहोर्‍याउनेबाहेकका पदाधिकारी छान्न सकेन।

नेता वर्षमान पुन चीनमा उपचार गराइरहेकाले तत्काल पदाधिकारी छान्न नसकिएको प्रचण्डले बताएका थिए। पुनले नेपाल फर्केकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो दाबी महासचिवका लागि भएको घोषणा गरेका थिए। माओवादी केन्द्रमा महासचिवको विषयलाई लिएर नेताहरुबिच रस्साकस्सि हुन थालेको छ। पुन,जनार्दन शर्मा,पम्फा भुसाल लगायतका नेताहरुले महासचिवका लागि दाबी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell