PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

स्थानीय निर्वाचनमा एमाले कांग्रेससँग देशभर हार्न तयार भएर बसे हुन्छ : गगन थापा



पहिलोपोस्ट

स्थानीय निर्वाचनमा एमाले कांग्रेससँग देशभर हार्न तयार भएर बसे हुन्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो स्थानीय निर्वाचनमा नेकपा एमालेलाई कांग्रेसले हराउने दाबी गरेका छन्। नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त भनाई राखेका हुन्।

'नेकपा एमाले वैशाख ३० गतेको स्थानीय निर्वाचनमा देशभर कांग्रेससँग हार्न तयार भएर बसे हुन्छ,' महामन्त्री थापाले भने, ‘निर्वाचन तोकिएको मितिमा हुन्छ। अब एमालेका दिन गए।’

अब कांग्रेसले निर्वाचन केन्द्रित कार्यक्रमका लागि केन्द्रले प्रतिनिधि खटाउने कामसमेत भोलिबाटै सुरु हुने उनले बताए। थापाले कम्युनिस्टको दोहोरो चरित्रलाई चिर्न मिलिनियम च्यालेन्ज कर्पोरेशन (एसीसी) परियोजना पारित प्रकरण प्रयोग गर्न पर्ने धारणासमेत राखे। थापाले एमसीसी प्रक्रियामा बढाउने कम्युनिस्ट नेताहरुले आफैलाई लोप्पा खुवाउनुपर्ने भनाई राखे।

'कम्युनिस्टको ढोगी चरित्रलाई चिर्न एमसीसी प्रकरण प्रयोग गर्नुपर्छ। कम्युनिस्टका नेतृत्वमै अघि बढेको हो एमसीसी। एमालेको सरकारले संसदमा दर्ता गरेको। यस्तो दलाली गर्न पाइन्छ। झलनाथ खनालले एमसीसी पारित गर्नेलाई गद्दार मुर्दावाद भन्दा आफैतिर औंला फर्काउनुपर्छ। आफैलाई लोप्प खुवाउनुपर्छ,' थापाले भने।

एमसीसीबारे प्रश्न गर्ने एमाले नेता कार्यकर्तालाई टिकट काटेर बालकोटमा पठाउनसमेत उनले आग्रह गरे। त्यसैगरी एमसीसीबारे प्रश्न गर्ने माओवादी कार्यकर्तालाई खुमलटार पठाउनुपर्ने उनको भनाई थियो।

'केपी ओलीकै पालामा सदनमा पेश भएको हो। कृष्णबहादुर महरा परराष्ट्र मन्त्री भएको बेला सम्झौता भएको हो। सबै कम्युनिस्ट पार्टी यो प्रक्रियामा सहभागी छन्,' महामन्त्री थापाले भने, 'अनि बुझेन भनेर तिनकै कार्यकर्ताले सोधे टिकट काटेर बालकोट वा खुमलटारमा पठाए हुन्छ। जनताले सोधे बुझाउनुपर्छ।'

एमसीसीबारे बुझाउन कांग्रेसले चाँडै पुस्तिकासमेत ल्याउने उनले बताए। 'तपाईहरुलाई पुस्तक बनाएर पठाउँदैछौ। तपाईहरुले जनतालाई बुझाउनुपर्छ,' थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell