
काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आवश्यक सामाग्री छपाइका लागि संस्था सूचीकरणको आह्वान गरेको छ।
आयोगले वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरुलाई यस्तो सूचना जारी गरेको हो। त्यस्तै, निर्वाचन सामाग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचीकृत हुन सार्वजनिक सूचना जारी गरिएको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए।
स्थानीय तहको निर्वाचन हुन ६७ दिन बाँकी छ। देशैभरका ७५३ स्थानीय तहमा एकै चरणमा हुने निर्वाचनमा मतपत्रमा हरियो रंगको चुनाव चिन्ह प्रयोग हुने निर्वाचन आयोगले जनाएको छ।
‘स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिन्ह विवरण तथा सुरक्षण चिन्हहरु हरियो एस के - ३०८१ स्पेसक्ट्रम ब्राइट ग्रिन मसिले छपाइ गर्ने गरी आयोगबाट निर्णय भएको छ,’ उनले भने, ‘अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुनेछ।‘
आयोगले मतदाता नामावली अद्यावधिक दावी विरोधको समेत कार्यक्रम २०७८ अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै पनि मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र निवेदन दिन आग्रह गर्ने लगायतका दावी विरोधको कार्यक्रम अहिले चलाइरहेको छ। मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिन आह्वान गरिएको छ।
यसरी आयोगमा दावी विरोध परे मतदातालाई प्रमाण सहित सफाईको मौका समेत दिइने छ।
आयोगले निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको लागि अडियो भिडियो सामग्री तयारी गर्नको लागि निर्वाचन सम्बन्धी गीति सन्देश, संवादमुलक सन्देश तथा चलचित्र लघुकथा लेखन प्रतियोगिता आयोजना गरेको छ। सोही अनुरुप सार्वजनिक सूचना बमोजिम प्राप्त भएका रचनाहरुको मूल्यांकन भइरहेको सूचना अधिकारी अर्यालले जानकारी दिए।