PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माओवादी केन्द्र चुनावसम्मै तदर्थ संरचनामा: केन्द्रीय कमिटी र प्रदेश इन्चार्ज तोकेका प्रचण्डले किन छानेनन् पदाधिकारी?



प्रकाश भण्डारी

माओवादी केन्द्र चुनावसम्मै तदर्थ संरचनामा: केन्द्रीय कमिटी र प्रदेश इन्चार्ज तोकेका प्रचण्डले किन छानेनन् पदाधिकारी?

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) महाधिवेशनको दुई महिनापछि पनि पार्टी संरचनालाई पूर्णता दिन असफल भएको छ। पुस १८ गते काठमाडौँमा सम्पन्न भएको माओवादी केन्द्रको ८औँ महाधिवेशनले २४६ जनाको अपूर्ण केन्द्रीय कमिटी चयन गरेको थियो। पुस १९ गतेको केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भए पनि अरू पदाधिकारी छान्न माओवादी असफल रह्यो। वर्षमान पुनको चीनमा भइरहेको स्वास्थ्य उपचारलाई देखाएर पदाधिकारी छान्नबाट पन्छिएको माओवादी शुक्रबार र सोमबार बसेको केन्द्रीय कमिटीको बैठकमा पनि पदाधिकारी छान्न सफल भएन। यद्यपि स्थानीय निर्वाचनको तयारी स्वरुपम माओवादी केन्द्रले विभिन्न निर्णय भने गरेको छ।

प्रदेश इन्चार्ज तोकिए, ५० जना केन्द्रीय सदस्यमा मनोनीत

माओवादी केन्द्रले सबै प्रदेशमा प्रदेश इन्चार्ज तोकेको छ। प्रदेश १ मा राम कार्की, मधेस प्रदेशमा गणेश शाह, वाग्मतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएको माओवादी केन्द्रका नेताहरूले बताएका छन्। सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेल इन्चार्ज तोकिएका छन्। यस्तै केन्द्रीय कमिटीको बैठकले ५० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको नेता गणेश साहले जानकारी दिए। ९७ जनाको नाम प्रस्ताव गरिएकोमा बैठकले ५० जनाको नाम मात्रै अनुमोदन गरेको हो। केन्द्रीय सदस्य चयनमा विवाद देखिँदा माओवादी केन्द्रको बैठक सोमबार दिनभर लम्बिएको थियो भने आइतबार तोकिएको भए पनि बस्न सकेन।

पदाधिकारी छान्न माओवादीलाई सकस

समय अभावलाई देखाएर माओवादी केन्द्रले पदाधिकारी चयनलाई वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनपछि सम्मका लागि धकेलेको छ।

नेता वर्षमान पुनले पदाधिकारी चयनका लागि समय लाग्ने र अहिले समय नभएकाले चयन हुन नसकेको जानकारी दिए। ‘अहिले त्यति समय छैन। पदाधिकारी छान्न समय लाग्ने भएकाले यसलाई निर्वाचन पछि लैजाने सल्लाह भएको छ,’उनले भने।

स्थायी कमिटी, पोलिटब्युरो लगायतको पार्टीको संरचना बनाउन पनि माओवादी असफल देखिएको छ। माओवादी केन्द्रले पार्टीका महत्त्वपूर्ण निर्णय गर्न पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाउने गरेको थियो। माओवादी केन्द्रमा महासचिव लगायतका पदमा आकांक्षी नेताहरूको संख्या धेरै भएकाले पदाधिकारी छान्न सकस परिरहेको छ। नेता पुन, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, नेता देव गुरुङलगायतले महासचिवका लागि दाबी गरेपछि पदाधिकारी चयन हुन सकेको छैन।

जेठ २० सम्म एमसीसीको ‘च्याप्टर क्लोज’

माओवादी केन्द्रले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदन गर्ने निर्णय गरेपछि आन्तरिक विवाद समेत बढेको थियो। नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित गर्ने पार्टी निर्णयको विरोध गर्दै केन्द्रीय कमिटीको बैठकमा फरक मत राखेका थिए। उनीसँगै कृष्णबहादुर महरा, लीलामणि पोखरेल र देव गुरुङले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।

एमसीसीबारेको विवादलाई तलसम्म लैजानुपर्ने उनीहरूको माग भए पनि अध्यक्ष प्रचण्डले जेठ २० गतेपछि मात्रै छलफल गर्न प्रस्ताव गरेपछि तत्कालका लागि विवाद टरेको छ। केन्द्रीय सदस्य हिमाल शर्माले जेठ २० गतेपछि एमसीसीमाथि छलफल हुने बताए।

‘जेठ २० गतेपछि मात्रै एमसीसीमा छलफल हुने निर्णय भएको छ। केन्द्रीय कमिटीको अर्को बैठक बोलाएर छलफल गर्ने कुरा भएको छ,’ उनले भने।

पार्टी संरचना तदर्थमै सञ्चालन

माओवादीले मूल पार्टीको संरचनालाई मात्रै तदर्थमा चलाइरहेको छैन भातृ संगठनले समेत पूर्णता पाएका छैनन्। विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा प्रचण्डले पञ्चा सिंहलाई अघि सारेका थिए। असोजमा भएको सम्मेलनबाट सिंह अध्यक्ष चयन भए पनि अरू पदाधिकारी भने चयन हुन सकेनन्। २५ सदस्यीय पदाधिकारी हुने अनेरास्ववियु क्रान्तिकारीमा व्यवस्था छ।

भदौमा भएको युवा संगठन वाइसीएलको संयोजकमा पनि प्रचण्डले हस्तक्षेप गरेका थिए। संयोजक सुमन देवकोटालाई चयन गरे पनि अरू पदाधिकारी चयन हुन सकेका छैनन्।

भातृ संगठनमा जस्तै मूल पार्टीको संरचना पनि स्थानीय तहको निर्वाचनसम्म तदर्थमा चल्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell