PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

महिलाको काँधमा सुरक्षा जिम्मा : जवानमा सबैभन्दा धेरै, कुन पदमा कस्तो छ उपस्थिति?



सविन ढकाल

महिलाको काँधमा सुरक्षा जिम्मा : जवानमा सबैभन्दा धेरै, कुन पदमा कस्तो छ उपस्थिति?

काठमाडौं : नेपाल प्रहरीमा पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हुन्, डाक्टर दुर्गा थापा। सबैभन्दा उच्च पदमा पुगेकी दुर्गा प्रहरीको प्राविधिकतर्फ थिइन्, प्रहरी चिकित्सक। तीसवर्षे सेवा अवधिका कारण २०७६ पुसमा उनले अवकाश पाइन्। त्यही पदमा अहिले पनि एक जना महिलाले नेतृत्व दिइरहेकी छिन्।

उनी हुन्, डाक्टर आशा सिंह। नेपाल प्रहरी अस्पतालको कमान उनकै काँधमा छ।

नेपाल प्रहरीको ६५ वर्षे इतिहासमा अहिलेसम्म डीआईजीमा पार्वती थापा र विमला थापामात्र पुगेका छन्। त्यसपछि केही समय नेपाल प्रहरीमा प्राविधिकबाहेक महिला डीआईजी भएनन्। गत पुसमा भने डीआईजीमा अर्की एक महिला थपिइन्, पूजा सिंह।

पुस २३ गते बसेको बढुवा समितिको बैठकले सिंहलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो। उनी अहिले पनि प्रहरी सेवामा सक्रिय छिन्।

हरेक क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चितता भए पनि व्यवहारमा लागू छैन। त्यसमाथि सुरक्षा फोर्समा त झनै कम। नेपाल प्रहरीमा अहिले २७ जना डीआईजी हुँदा त्यही पदमा एक्लै छिन्, सिंह। प्रतिशतमा हेर्दा यस पदमा ३ प्रतिशतको प्रतिनिधित्व गर्छिन् उनले। नेपाल प्रहरीभित्र नीतिगत तहको नेतृत्वमा महिलाको सहभागिता कति कम छ भन्ने दृश्य हो यो।

अहिले नेपाल प्रहरीको कूल जनशक्ति ७५ हजार ४ सय ६३ रहेको छ। जसमा महिलाको सङ्ख्या ८ हजार ३ सय ३४ छ। ३३ प्रतिशत महिलाको सहभागिता भनिरहँदा प्रहरी संगठन भने मुस्किलले ११ प्रतिशतमात्र छ। उच्च तहमा महिलाको ‌संख्या नपुग्दा संगठनभित्रका कमाण्ड सम्हाल्ने निकायमा पनि महिला कमै देखिन्छन्। संगठनभित्रका विभाग, ब्यूरो जिल्ला, इलाका, वृत्तदेखि प्रभागसम्म महिला प्रहरीको कमाण्ड पुरुष प्रहरीको तुलनामा कमै देखिन्छ।

प्राविधिक तर्फका विभागमा अहिले पनि महिलाको नेतृत्व देखिन्छ। डाक्टर आशा सिंह तिनैमध्येकी एक हुन्। उनले नेपाल प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छिन्। त्यस्तै, प्राविधिकतर्फ एसएसपी देउती गुरुङले पनि इन्चार्जको जिम्मेवारी सम्हालिरहेकी छिन्। उनी केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगन्जको इन्चार्ज हुन्। पछिल्लो समय देशभित्र भएका आपराधिक गतिविधिमा प्रहरीको तालिम प्राप्त कुकुरको अनुसन्धान प्रभावकारी देखिएको छ। कुकुरकै कारण धेरै अनुसन्धानमा प्रहरी अभियुक्तसम्म पुग्न सफल भएको छ। 

त्यस्तै, काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामध्ये ललितपुर र भक्तपुरको प्रहरी प्रमुखको रुपमा पनि महिलाले नेतृत्वदायी भूमिका सम्हालिसकेका छन्। गृहमन्त्रीस्तरीय निर्णयअनुसार २०७७ मंसिर ७ गतेबाट लागू हुनेगरी ३३ जना एसएसपी सरुवा गरिँदा एसएसपी किरण बज्राचार्य ललितपुरको कमान सम्हाल्ने जिम्मेवारीमा आइपुगेकी थिइन्।

बज्राचार्य परिसरअन्तर्गत एसएसपीको कमाण्डमा नेतृत्व सम्हाल्ने पहिलो महिला थिइन्। उनको एकवर्षे कार्यकाल कुनै पुरुष प्रहरीले सम्हालेको भन्दा कम भएन। जतिखेर बज्रचार्यले परिसरको कम्माण्ड सम्हालिरहेकी थिइन्, त्यतिखेर प्रहरी परिसर भक्तपुरमा पनि महिला प्रहरी नै नेतृत्वमा थिइन्। उनीभन्दा पाँच महिनाअघिदेखि परिसर भक्तपुरमा एसपी तारादेवी थापा नेतृत्वमा छिन्। त्यस्तै, पर्सा, सिन्धुली लगायतका जिल्लामा महिला प्रहरीले कमाण्ड सम्हालिसकेका छन्।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पनि एसएसपी दुर्गा सिंहले करिब एक वर्ष नेतृत्व सम्हालेकी थिइन्। त्यस्तै, अहिले पनि केही प्रभागदेखि इलाका प्रहरी कार्यालयमा महिला प्रहरीको नेतृत्व छ।

कुन तहमा कति महिला प्रहरी?
अहिले नेपाल प्रहरीमा ८ हजार ३ सय ३४ महिला प्रहरी कार्यरत छन्। नेपाल प्रहरीको ६ दशक लामो इतिहासमा महिला प्रहरी महानिरीक्षक भएका छैनन्। अहिले नेपाल प्रहरीमा प्राविधिक र जनपद गरेर ६ जना एआईजी रहेका छन्।

प्रहरीमा महिला प्रहरी जवान सबैभन्दा धेरै छन्। त्यसो त प्रहरी संगठनमा सबैभन्दा धेरै सङ्ख्या भएको पद पनि जवान नै हो। ५ हजार ६ सय ३० जना महिला प्रहरी जवान छन्। जबकि कुल पुरुष प्रहरीको सङ्ख्या ३७ हजार ८ सय ४९ रहेको छ। नेपाल प्रहरीभित्र ६८ जना एसएसपी रहेका छन्। जसमा महिला एसएसपीको सङ्ख्या ७ रहेको छ। प्रतिशतमा हेर्दा यो १० प्रतिशत हाराहारी हो।

एसपी दर्जामा रहेका प्रहरीभित्र कार्यरत महिला प्रहरीको सङ्ख्या ८ रहेको छ। अहिले देशभर एसपीको सङ्ख्या १ सय ६२ रहेको छ। कूल एसपीको सङ्ख्या हेर्दा महिला प्रहरी एसपीको प्रतिशत करिब ५ प्रतिशत मात्र हो। ४ सय ४१ जना डीएसपी छन्, नेपाल प्रहरीमा तर महिला डीएसपीको सङ्ख्या २८ रहेको छ।

संगठनमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट पनि सोझै भर्ती हुने व्यवस्था छ। त्यहाँभन्दा माथिल्लो पदमा भने बढुवा भएर नै पुग्नुपर्छ। पछिल्लो समय महिला प्रहरीहरु यो पोष्टबाट भर्ना हुने क्रम भने केही बढेको छ। नेपाल प्रहरीमा १ हजार ३ सय ४२ प्रहरी निरीक्षक छन्। जसमा महिला प्रहरीहरुको सङ्ख्या १ सय १६ रहेको छ।

प्रहरी नायव निरीक्षक (सइ) को सङ्ख्या देशभर ४ हजार १ सय ४१ छ। महिला प्रहरी भने ३ सय ३ जना छन्। अहिले ७ हजार १ सय ७६ जना असइ रहेकामा महिला प्रहरीको सङ्ख्या ५ सय रहेको छ। प्रहरी हवल्दारमा १ हजार १ सय ७५ जना महिला प्रहरी अहिले पनि कार्यरत रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए। जुन पोष्टमा पुरुष प्रहरीको सङ्ख्या भने १३ हजार ६ सय ७१ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell