PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

महिला सशक्तीकरणमा तीनै सरकारको समन्वयात्मक पहलकदमी आवश्यक : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

महिला सशक्तीकरणमा तीनै सरकारको समन्वयात्मक पहलकदमी आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरमा बिनाकुनै भेदभाव समान अवसर उपलब्ध गराउनपर्नेमा जोड दिएका छन्। अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले महिला सशक्तीकरण सबैको साझा सरोकारको विषय भएकाले तीनवटै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक रहेको उल्लेख गरेका छन्।

'नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावहरूको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ। संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ,' उनले सन्देशमा भनेका छन्, 'राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशितालाई सुनिश्चित गरेको छ। महिलाविरुद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाएको छ।'

नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट राज्यले महिला हक अधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमहरूले राम्रो प्रतिफल दिएको उनको भनाइ छ।

'दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ ११२औँ अन्तर्राष्ट्रिय नारी दिवस आज मनाइँदै छ। नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापितका लागि सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर दिवस मनाउने गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell