PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

पल शाहलाई तनहुँबाट पुर्‍याइयो गैडाकोट, नौ दिनदेखि छन् हिरासतमा



पहिलोपोस्ट

पल शाहलाई तनहुँबाट पुर्‍याइयो गैडाकोट, नौ दिनदेखि छन् हिरासतमा
फाइल फोटो

काठमाडौं : जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका कलाकार पूर्णविक्रम (पल) शाहलाई थप अनुसन्धानका लागि पूर्वी नवलपरासी पुर्‍याइएको छ।

आज बिहान सुरक्षाका साथ शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट पुर्‍याइएको हो। जबर्जस्ती करणी र दुर्व्यवहारको मुद्दामा तनहुँ प्रहरीले शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

९ दिनदेखि पल शाह  तनुहँ प्रहरीको हिरासतमा थिए। फागुन १५ गते बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैडाकोट पुगेर उजुरी दर्ता गराएका थिए। सोही प्रकृतिको घटनाको अनुसन्धान गर्न आज गैडाकोट ल्याएको इलाका प्रहरी कार्यालय गैडाकोट प्रहरी इन्चार्ज प्रहरी निरिक्षक लक्ष्मी पाण्डेले बताइन्।

'बयान तथ अन्य अनुसन्धानका लागि अहिले पल शाह हाम्रो नियन्त्रणमा हुनुहुन्छ,' प्रहरी निरीक्षक पाण्डेले भनिन्। शाह केही दिन गैडाकोट प्रहरीको हिरासतमा नै रहनेछन्। अनुसन्धान र बयान सकिएपछि मात्र शाहलाई फेरि तनहुँ प्रहरीलाई बुझाइने छ।

२०७७ चैत ७ गते शाहले सुटिङको क्रममा गैडाकोट रिसोर्टमा जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। तनहुँमा उजुरी गर्ने र गैडाकोटमा उजुरी गर्ने पीडित किशोरी एकै हुन्।

शाहले १८ वर्ष नपुगेकी बालिकालाई प्रेम जालमा पारेर करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। नेपालको कानुनमा १८ वर्ष नपुगी सहमतिमा पनि यौन सम्पर्क गर्नु अपराध हो। शाहले अपराध गरेको पुष्टि भएमा १० देखि १२ वर्षसम्म सजाय हुने व्यवस्था छ।

अपराध संहिता २०७४ अनुसार एउटै कसुरमा दोहोरो सजाय नहुने व्यवस्था रहेको छ। तर एकिकृत कसुर वापत थप सजाय हुने व्यवस्था भने गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell