PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपालीलाई विश्व घुमाउने मिहिकाको कथा : व्यवसायदेखि बौद्धमार्गसम्म



भावना शर्मा

नेपालीलाई विश्व घुमाउने मिहिकाको कथा : व्यवसायदेखि बौद्धमार्गसम्म

सन् २००५ मा अमेरिकी लेखक एडवर्ड क्यानफर डुमाले लेखेको किताब हो 'द बुद्ध, जेफ एण्ड मी।'

२८८ पेज लामो यो किताब एक यस्तो व्यक्तिको वरपर घुमेको छ जो जीवनका कठिन समयहरुसँग जुधिरहेको हुन्छ। कठिन र समस्याग्रस्त समय भोगिरहेकै बखत उनको भेट बुद्ध धर्मका अनुयायी जेफसँग हुन्छ।

जेफले उनलाई सकारात्मक सोचबाट उत्पन्न हुने शक्ति र जीवनमा आइपर्ने हरतरहका समस्यालाई चुनौतीमा बदलेर सामना गर्ने कला सिकाउँछन्।

एक बौद्धमार्गीको सल्लाहमा हिँड्दा उनको जीवनमा बिस्तारै परिवर्तन सुरु हुन्छन्। संकटको घडीलाई पार लगाउने नयाँ सोच र पद्धति उनीभित्र जन्मिन्छ। मानवीय कमजोरी र शक्तिलाई पहिचान गरेपछि चरम निराशाबाट उनको जीवन आशाको बाटोतर्फ धकेल्न्छि। 'द बुद्ध, जेफ एण्ड मी' किताब यही सन्दर्भ वरपर घुम्छ।

बुद्ध दर्शनमा आधारित यो किताब वास्तवमा कुनै एक व्यक्तिको मात्र कथा होइन, ती सबैको कथा हो जसको जीवनमा दु:ख छ। द्वन्द्व ब्यवस्थापन विज्ञ डुमाले बुद्ध दर्शनमा आधारित भएर यस्तै अरु किताब पनि लेखेका छन्। उनी आफ्नो किताबमार्फत भनिरहेका छन्, हरेक मानिसलाई आफ्ना दु:खसँग जुध्न शक्ति चाहिन्छ र त्यो शक्ति बौद्धमार्गमा भेटिन्छ।

अचानक आइलागेको जीवनकै कठिन समयसँग जुध्न मिहिका शाहलाई पनि बुद्ध दर्शनले नै साथ दियो। बौद्धको गुम्बामा पुगेर गुरुको सानिध्यमा उनले आफूलाई शान्त बनाइन्। जे जति भोगिन् त्यसलाई बिर्सेर अघि बढ्ने शक्ति पाइन्।

जेनिथ एक्सपेरियन्सेस ट्राभल सर्भिसेजकी प्रबन्ध निर्देशक मिहिका आज ती कठिन दिनहरुलाई त्यसरी सम्झन पनि चाहन्नन्, जसरी उनले भोग्न बाध्य हुनुपर्‍यो। आज त उनी टुर्स एण्ड ट्राभल्स क्षेत्रकी बलियो र सफल महिलाका रूपमा स्थापित छिन्।

खुलेर हाँस्ने स्वभावकी मिहिकालाई देख्दा उनले बोकेको दु:खको पहाड कति अग्लो होला कसैले अनुमान पनि लगाउन सक्दैन। यही शक्तिका साथ उनी करिब ५० करोडको वार्षिक कारोबार गर्ने जेनिथ ट्राभल सर्भिसेज हाँकिरहेकी छन्। मिहिकाको जेनिथ आउट बाउण्ड टुरिजमको लिडर हो अर्थात सबैभन्दा धेरै नेपालीलाई विदेशको होलिडे प्याकेज उपलब्ध गराउने कम्पनी।

हाल जेनिथसँग नोभेम्बरमा दोहामा हुने विश्व कप फुटबल प्रतियोगिता नेपालीलाई देखाउने जिम्मा छ। यसबाट कम्पनीले थप उचाईं लिनेमा मिहिका ढुक्क छिन्।

+++

सन् १९९८ मा स्थापित जेनिथ एक्सपेरियन्सेस ट्राभल्स सर्भिसेस मिहिकाका श्रीमान अमिताभ धाख्वाले स्थापना गरेका हुन्।

निर्यात व्यवसायमा संलग्न अमिताभको परिवारसँग जेनिथ होटल लगायत बिभिन्न व्यापारहरु थिए। सन् २००३ मा अमिताभसँग बिहे भएपछि मिहिकाले पारिवारिक व्यापार अन्तर्गत जेनिथ ट्राभल्सको जिम्मेवारी सम्हालिन्। ट्राभल-टुरिजम् प्रति लगाव पहिलेदेखि नै भएकाले अन्य व्यापार भन्दा मिहिकालाई यो रुचिको व्यापार बन्न पुग्यो।

उनले काम थाल्नुअघि कम्पनीले इनबाउण्ड टुरिजम् गरिरहेको थियो। विदेशी पर्यटक भित्र्याउने काम त सबैले गरिरहेका थिए; मिहिकाले सोचिन- 'इफ एभरीबडी इज सेलिङ टी, ह्वाइ नट कफी?'

सन् २००५ मा उनले जेनिथमार्फत आउटबाउण्ड टुरिजम् सुरु गरिन्। त्यस समयमा नेपालीका लागि यो बिल्कुलै नयाँ कन्सेप्ट थियो। मानिसहरु यसमा जानकार भइसकेका थिएनन्। मिहिकालाई समय लाग्यो। उनले सबैभन्दा पहिले कर्पोरेट सेक्टरमा लक्षित रही इन्सेन्टिभ टुर्सको अवधारणा सुरु गरिन्। सुरुमा जेनिथले राम्रै कमाउने र घुम्न विदेश गइरहने वर्गलाई भ्रमण सहज बनाइदिन सुरु गर्‍यो।

यात्राको टिकटदेखि बस्नेखाने र घुम्ने स्थानको सबै जिम्मा कम्पनीले नै लिइसकेपछि आइटेनरी बोकेर ढुक्कले यात्रामा जान सक्ने वातावरण तयार भयो। जेनिथले 'बिच होलिडे' प्याकेज बनाएर बजारमा लग्यो। त्यही वर्गमा अझ बढी फोकस्ड हुँदै कम्पनीले नेपालीका लागि पहिलोपटक स्टार क्रुज, ड्रिम क्रुज जस्ता प्याकेजहरु ल्यायो। क्रुज नेपालीका लागि नौलो विषय थियो, कम्पनीले 'वान्स इन अ लाइफटाइम' भन्दै यसको प्रवर्द्धन गर्‍यो।

मिहिकाको कम्पनीले ल्याएको प्याकेज 'न्यु इन द मार्केट' थियो। नेपालीलाई त्यसप्रति आकर्षण जगाउन समय लाग्यो तर उनले जुन कन्सेप्ट अघि बढाइन् त्यही कन्सेप्टले नै अहिले टुर्स एण्ड ट्राभल्स उद्योग धानिरहेको छ। अब होलिडे प्याकेजहरु आम नेपालीका लागि नौलो विषय पनि रहेन।

विदेशी कम्पनी तथा मल्टिनेशनलहरुले मात्र गर्ने इन्सेन्टिभ टुर्सलाई नेपाली कर्पोरेट जगतमा भित्र्याउने श्रेय पनि मिहिकालाई नै जान्छ। मिहिका भन्छिन् –'हामी टुर कम्प्लिट गराउनेभन्दा पनि एक्सपेरियन्स दिनेमा लक्षित छौं। सुरुवातमै बजारलाई कन्भिन्स गराएर हामी दुई पाइला अघि बढेकै हो। आज पनि हामी प्राइस ओरियन्टेडभन्दा पनि कस्टमाइज्ड प्याकेजमै लक्षित छौं।'

जेनिथले कहिल्यै पनि निश्चित पैसा तोकेर प्याकेजहरु तय गरेको छैन्। ' हामी गन्तव्य देखाएर प्रवर्द्धन गरिरहेका छौं'- उनी भन्छिन्-'कम्पनीले औसतमा ४० जनादेखि २ सयजनासम्म सहभागी टोलीलाई भ्रमणमा लैजाने गरेको छ। हाम्रा पर्सनालाइज्ड प्याकेजहरु पनि छन्, तर हाम्रो विशेषज्ञता कर्पोरेट ग्रुपमा छ।'

कोभिड अघि नै तय भएका तर होल्डमा रहेका कर्पोरेट ग्रुपलाई बिस्तारै भ्रमणमा लैजान सुरु भएको उनले जानकारी दिइन्। कोभिडका कारण दुई वर्षदेखि गुम्सिएर बसेकाहरुले पनि यात्रामा जान अति नै रुचि देखाएको मिहिकाको अनुभव छ।

कम्पनीले दुबई र टर्की पठाउने प्याकेज सुरु गरिसकेको छ। एक वर्षदेखि होल्ड भएर बसेका प्याकजेलाई पुरा गर्ने योजनामा रहेको मिहिका बताउँछिन्। थाइल्याण्ड र भियतनाम खुलेपछि जेनिथले त्यहाँ पनि नेपालीलाई घुम्न पठाउनेछ।

कर्पोरेटहरुको इन्सेन्टिभ टुरमै लक्षित भएको जेनिथले सन् २०२२ मा कम्तीमा पनि एक हजार जनालाई विदेश घुम्न पठाउने लक्ष्य राखेको मिहिकाले सुनाइन्। दोहामा हुने विश्वकपको लागि म्याच होलिडेको सेल्स एजेन्ट पनि तोकिएको जेनिथले सन् २०२२ लाई उत्साहको वर्षको रूपमा लिएको छ।

उनी भन्छिन् -'कम्तीमा तीन सय जनालाई हामीले विश्वकप हेर्न दोहा पठाउने टार्गेट राखेका छौं।'

+++

सेन्टमेरिजमा स्कुलिङ र सिंगापुरमा कलेज पढेकी मिहिकाले अष्ट्रेलियाबाट ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्फर्मेसन सिस्टमको डिग्री बोकेर नेपाल फर्किनासाथ पोखराको फिस्टेल लज र ब्रिटिस एयरवेजको जनरल सेल्स हेर्न थालिन्। त्यतिबेला नेपालमा ह्युमन रिसोर्स डिपार्टमेन्ट भन्ने कन्सेप्ट खासै थिएन पनि। त्यसैले करियरको सुरुवातमै होटल र एयरलाइन्सको सेल्स एण्ड बिजनेस प्रमोसन डाइरेक्टर बनेकी मिहिकालाई पर्यटनसँग जोडिएर काम गर्ने प्यासन पैदा भयो।

जेनिथमार्फत नेपाली विदेश जाने मात्रै होइन्, धेरै विदेशीहरु पनि नेपालको भ्रमणमा आउने गरेका छन्। पर्यटकीय गन्तव्यका रूपमा नेपालको साँस्कृतिक र भौगोलिक पक्षलाई प्रवर्द्धन गर्दै आएकी मिहिका विदेशीले तिरेको पैसाबापत पाउनुपर्ने तहको सेवासुविधा भने पाउन नसकेको गुनासो गर्छिन्।

'हामीले सुधार गर्नुपर्ने पक्ष धेरै छ। विदेशमा नेपाली पठाउने र विदेशी नेपाल भित्र्याउने दुइतर्फी काम गरिरहेकाले पनि होला हामीले तुलना गरेरै हेर्नुपर्ने हुन्छ। हाम्रो एयरपोर्ट, बाटोघाटो र प्रदूषणको समस्या सुधार हुन सकेको छैन। बस्ने खाने ठाउँमा पनि पर्यटकले पाउने सेवा पनि अन्तर्राष्ट्रिय स्तरको हुन सकेको छैन।'- मिहिका टुरिष्ट फ्रेन्ड्ली सर्भिस हुन नसकेकोमा चिन्तित छिन्।

सम्भावित नयाँ गन्तव्यहरुको प्रवर्द्धन र पूर्वाधार विकासमा पनि ध्यान नपुगेको जस्तो उनलाई लाग्छ। पर्यटकीय रूपमा नेपालको क्षमता र सम्भावना धेरै भएको तर विकास हुन नसकेको उनको बुझाइ छ।

जेनिथले विदेशीहरुलाई नेपालको साँस्कृतिक अनुभव दिलाउने किसिमले टुर प्याकेजहरु बनाउने गरेको मिहिकाले जानकारी दिइन्। विदेशीहरुले फर्किएर जानेबेला मिहिकालाई नेपालको भूगोल मात्र नभई सांस्कृतिक पक्ष र नेपालीहरुको खुलेर बोल्ने हाँस्ने बानी मन पराएको प्रतिक्रिया दिने गरेका रहेछन्। तर पूर्वाधार विकास र सेवासुविधाको वृद्धि भने हुन नसकेको तीतो अनुभव पनि उनले सुन्नुपर्छ।

'हामीले सबैभन्दा छोटो र आकर्षक हुनसक्ने काठमाडौंदेखि पोखरासम्मको सडक यात्रालाई त कम्फर्टेबल बनाउन सकेका छैनौं भने सुदूरपश्चिमको यात्रामा कसरी चित्त बुझाउन सकौंला ! हामीलाई त आफ्नो देश अति नै मन पर्छ। तर विदेशीहरुले अन्य देशसँग तुलना गर्दै म किन नेपाल जाने भनेर गरेको प्रश्नको उत्तर चित्तबुझ्दो गरी पाउन सकेको खण्डमा मात्र नेपालको पर्यटन क्षेत्र फस्टाउने हो। अहिलेकै स्तरमा हामीले विश्व पर्यटनमा कुन स्थानमा छौं र कसरी प्रतिस्पर्धा गर्न सक्छौं?'- मिहिका प्रश्न गर्छिन्।

त्यसो त नेपालीलाई विदेश पठाउँदा पनि मिहिका तीन कुरालाई सबैभन्दा बढी महत्व दिन्छिन्। डाइरेक्ट फ्लाइट, भिजा सुविधा र ओभरअल डेस्टिनेसन हेरेर मात्र प्याकेजहरु निर्धारण गरिन्छ। अन अराइभल भिजा भएका देशहरुमा जान बढी सजिलो हुन्छ।

थाइल्याण्ड नेपालीका निम्ति कमन डेस्टिनेसन बनिसकेको छ। दुबई, सिंगापुर, मलेसिया, बाली, भियतनाम र चीन पनि नेपालीहरुको रुचिको गन्तव्य हो। कोभिड महामारी अघिसम्म यूरोप जानेहरु पनि बढ्दै थिए। अचानक कोभिड महामारी आयो र यात्राहरुमा झ्याप्पै ब्रेक लाग्यो।

जेनिथले हरेक वर्ष आफ्नो व्यापारमा ग्रोथ गर्दै आइरहेको थियो। मिहिकाका अनुसार सन् २०१३ र २०१४ सबैभन्दा स्मरणीय वर्ष थियो। तर २०१५ मा भूकम्पका कारण प्याकेजहरु प्रभावित भयो। फेरि गति लिँदै गरेको व्यवसायमा कोभिड महामारीका कारण पाइपलाइनका धेरै टुरहरु प्रभावित भए। दुई वर्ष त कम्पनीको काम ठप्पै जस्तो भयो।

लगातार घाटामा गएपछि उनले जेनिथको ट्रेनिङ इन्स्टिच्युट भने हालसालै बन्द गरिन्। सन् २००९ मा लिएको आयटाको अन्तर्राष्ट्रिय डिप्लोमा कोर्सबाट कम्तीमा एक हजार विद्यार्थीले फाइदा लिए। एक महिनाको छोटा तालिम लिनेहरुको संख्या पनि हजारौंमा थियो।

'जब ओरियन्टेड' भएकाले धेरैले पर्यटन क्षेत्रमा रोजगारी पनि पाए तर कोभिडले थलिएको उद्योगमा भएका रोजगारी पनि गुम्न थालेपछि उनले यो तालिम केन्द्रलाई सधैंका लागि बन्द गरिन्। अब उनको ध्यान केवल जेनिथ टुर्सको ग्रोथमा मात्र छ।

+++

मिहिका जन्मले हिन्दु र परिस्थितिले बौद्धमार्गी हुन्। विवाहको डेढ वर्ष नबित्दै उनले अप्रत्याशित रूपमा श्रीमान गुमाउनु पर्‍यो। श्रीमान बित्दा उनी ४ महिनाकी गर्भवती थिइन्। जीवनको सबैभन्दा कठिन समय त्यो भन्दा ठूलो के हुन सक्ला ! ८ वर्ष लामो प्रेम सम्बन्धले पूर्णता पाइनसक्दै अचानक श्रीमान बित्नु र एक्लै छोरा हुर्काउनु।

तर उनले त्यो पीडाको समय सामना गर्न बौद्ध दर्शन र ध्यानमार्ग अपनाइन्। मनको वियोगलाई बिर्सेर छोरालाई कसरी बुबाको कमी महसुस नगराइ हुर्काउने भन्नेमा तल्लिन भइन्। डिप्रेसनसम्मै पुगेपछि बुद्धको दर्शनले आफूलाई बाँच्न सिकाएको उनी सम्झिन्छिन्।

सन्तान जन्मिएको पहिलो दुई वर्ष उनलाई सबैभन्दा कठिन भयो। तर बुद्धका दर्शनहरुबाटै सकारात्मक सोचको विकास गर्न सकेको उनी बताउँछिन्। अहिले त उनको छोरा १७ वर्षको भइसकेको छ, जो मिहिकाका 'बेस्ट फ्रेन्ड' हुन्। मिहिका आफ्ना सासुससुरासँगै बस्छिन्। परिवारमा सबैको साथ र प्रेम पाएर उनले आफूलाई व्यापारमा तल्लिन बनाउन सकेकी छन्।

फुर्सदमा उनी बुद्ध दर्शनबारेकै किताबहरु पढ्छिन्। बुद्धको सिद्धान्त र दर्शनहरुबाटै उनले संसारमा आफूलाई मात्र नभई सबैलाई उस्तै पीडा र दुःख पर्ने हुँदा अरुलाई पनि हेरेर जीवनलाई अघि बढाउनुपर्ने चेतना प्राप्त गरिन्। जीवनमा आइपर्ने हरेक नराम्रा घटनाहरुपछिको परिवर्तनलाई कसरी आत्मसात गर्ने भन्ने सिकिन्।

यसै समयमा उनले भेटेकी हुन् डुमाको किताब 'द बुद्ध, जेफ एण्ड मी।' पढ्दै जाँदा किताबका पाना पानामा कोरेका शिशाकलमका धर्साहरु देखाउँदै उनी भन्छिन्- 'अब त म यति बलियो छु कि कुनै पनि कठिन समयसँग हत्तपत्त अत्तालिन्न। 'ह्वाट कुड बि द वर्स्ट' भनेर म प्रिपेयर भइसकेकी हुन्छु।'

मिहिकाले परिवार, पढाई र कामका सिलसिलामा महिला र पुरुष भनेर कहिल्यै भेदभाव ब्यहोर्नु परेन। जब उनी नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाटाको कार्यसमितिमा पुगिन्। अनि बल्ल उनलाई त्यसको महसुस भयो, नेतृत्वमा पुग्न महिलाहरुलाई निकै गाह्रो छ।

सन् २०१४ मा मिहिका नाटाकी महासचिव थिइन्। त्यसपछि दुई पटक उनले नाटाको अध्यक्षमा उम्मेदवारी दिइन् तर जित्न सकिनन्। 'नउठे खुट्टा कमायो भन्ने उठ्यो भने जित्नै नदिने !'- संस्थाभित्रको राजनीतिको नमिठो अनुभव सुनाउँदै उनी मजाले हाँसिन्।

मिहिकाको अनुभवमा जीवनमा हरेक कालखण्डको आफ्नै किसिमको महत्व हुन्छ। बाल्यकालमा हुर्काइको वातावरणले दीर्घकालमा व्यक्तित्व निर्माणमा धेरै सहयोग पुग्छ। खेलकुदको क्षेत्रमा सक्रिय उनका बुवा शरदचन्द्र शाहले उनलाई सानैमा स्विमिङ घोडसवारी र सुटिङ सिकाएका थिए।

मिहिकाका हजुरबुवा भन्ने गर्थे- स्विमिङ गर्दा प्रकृतिसँग निकटता हुन्छ, घोडसवारी गर्दा वनजंगलसँगको सानिध्यता र सुटिङले कन्फिडेन्स बढाउँछ। बुवा शरदचन्द्रले मिहिकालाई त्यही सिकाए। मिहिका जे काम गर्दा डर लाग्छ भन्थिन् बुवा त्यसैलाई दोहोर्‍याइ दोहोर्‍याइ गर्न लगाउँथे। कतिपटक घोडाबाट लडेको नमिठो अनुभव उनीसँग छ।

'जुनसुकै क्षेत्रमा होस्, जुनकुनै पदमा रहोस्, सफलता मिलोस् नमिलोस्, बुवाले सधैं भन्नुहुन्थ्यो मानिस 'फियरलेस हुनुपर्छ'। मिहिकाको सिकाइ र अनुभव भन्छ, निडरसँगै महिलामा आत्मविश्वास पनि हुनुपर्छ। आत्मविश्वास भयो भने जतिसुकै कठिन अवस्थामा पनि बाँच्ने साहस आउँछ। पटक पटक लडेपछि पनि उठ्ने साहस आउँछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell