
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध राज्यका सबै संयन्त्रहरु लागेको आरोप लगाएका छन्। अदालत, संसद, निर्वाचन आयोग र सिंगो सरकार एमाले विरुद्ध लागिरहेको उनले बताए।
महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघ (अनेमसंघ)ले आयोजना गरेको कार्याक्रममा बोल्दै ओलीले प्रमुख पदमा पुरुष र सहायक पदमा महिला भन्नु गलत भएको उनले बताए।
नेपालको संसदमा महिला प्रतिनिधित्व ४१ प्रतिशतसम्म पुगेको देखेर विकशित देशका नेताहरुले जिब्रो टोकेको ओलीको भनाइ छ। ओलीले महिलाहरुमा नै छोरो पाउँदा राम्रो तर छोरी पाउँदा नराम्रो धारणा महिलाहरुमै रहेको बताए।
'छोरा र छोरीमा भेदभाव अझै गाउँघरमा छ। यसलाई अन्त्य गरिनुपर्छ। हाम्रै दिदी बहिनीहरुको पनि छोरा पाउने राम्रो र छोरी पाउने नराम्रो भन्ने धारणा छ,' ओलीले भने।
हरियो चुनाव चिन्ह किन?
भाषणका क्रममा ओलीले निर्वाचन आयोग र अदालतलाई निशाना बनाएका थिए। उनले निर्वाचन आयोगले सोमवार मतपत्रमा चुनाव चिन्ह हरियो हुने निर्णय गरेको भन्दै आपत्ती जनाए।
'निर्वाचन आयोगले मत पत्रमा हरियो चिन्ह राख्ने रे? के कारणले राख्ने मैले बुझेको छैन। बुझौला। के हिसाबले राख्ने धार्मिक हिसाबले राख्ने? कसैको हरियो छ, त्यसकारण राख्ने? आँखा नदेख्ने जनताले देखुन् भनेर राख्ने हो? निर्वाचन आयोगले त्रुटि गरेको हो भने सच्याउनुपर्छ,'ओलीले भने।
सभामुख अग्नि सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश एमालेका विरुद्धमा लागेको ओलीको भनाइ थियो। न्यायाधीशले कानुन हेर्न छोडेको र व्यक्तिको उद्यश्य हेरेर फैसला गरिरहेको ओलीको आरोप थियो। 'श्रीमानहरुले कानुन हेर्न छोडनु भो। मुख भन्दा पनि राम्रा नराम्रा सबै होलान। उहाँका मान्छेका उद्यश्य हेर्न थाल्नु भयो। समृद्ध नेपाल सुखी नेपाली भन्न पाइन्छ भन्न थाल्नुभयो,' ओलीले भने
सत्ता गठबन्धनका नेतालाई सुँगाको जतिको पनि पढ्न आउँदैन
चुनावबाट सरकार बन्ने भए पनि अहिलेको सरकार परमादेशबाट बनेको भन्दै ओलीले आक्रोश व्यक्त गरे। उनले लोकतन्त्र भन्ने तर अदालतबाट मुद्दा जितेर सरकार बनाउने गलत परिपाटी बसेको बताए।
'चुनावबाट पो सरकार बन्छ त परमादेशबाट सरकार! लोकतन्त्र भन्या छ, मुद्दा जितेर,' ओलीले भने। ओलीले 'सइ पनि एमाले मै पनि एमाले'गीतमा नाचेको देखेर आफूलाई कोक्याएको बताए।
'केही दिनदेखि जिल्लमा घुमेको घुम्यै छु, निन्द्रा पनि पुगेको छैन। यहाँ दिदी बहिनीहरुले सइ पनि एमाले मै पनि एमाले भनेपछि मलाइ पनि कोक्यायो,' उनले भने।
सत्तारुढ दलका नेताहरुमाथि आक्रामक रुपमा प्रस्तुत भएको ओलीले 'समृद्ध नेपाल सुखी नेपाली' नारा पढ्न नजान्ने बताए। सुँगालाई पढाए पढ्न सक्ने भए पनि सत्तारुढ दलका नेताहरुलाई पढ्न नआएको ओलीको भनाइ थियो। 'यी सुँगा जत्तिको पनि छैन। सुँगालाई पढायो भने त भन्न सक्छ। भन्न सक्दैनन्, यिनीहरुलाई टाउको दुख्छ। समृद्ध जीवन बिताए भने यिनीहरुलाई पीर पर्छ।'
'चुनावपछि भोकले कोही मर्दैन'
अध्यक्ष ओलीले अबको निर्वाचनपछि आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका थिए। अलिअलि गरिवी भए पनि भोकले नेपालमा कोही नमर्ने उनको भनाइ थियो।
'अब चुनावपछि सरकार बनेपछि नेपालमा गरिवी अलिअलि होला तर भोकले कोही मर्दैन। यो सुनेपछि यिनलाई पीर पर्छ। पीर पर्ने मान्छे थोरै छन्। तर, यिनीहरुसँग होसियार हुनुपर्छ,' ओलीले भने।
उनले एमालेसँग जनमत भएको र त्यसलाई व्यापक बनाउन अनेमसंघलाई निर्देशन दिए। जनमत भए पनि ढुक्न हुने स्थिति नभएको ओलीको स्वीकारोक्ति थियो।
'जनमत हामीसँग छ। अझ व्यापक बनाउने काम हामीले गर्नुपर्छ। हामी मजवुत छौं भनेर हामी ढुक्क हुनुहुँदैन। यसलाई व्यापक बनाउनु पर्छ पराजित बनाउन नसक्ने बनाउनुपर्छ,' उनले भने।
पूर्वजहरुले सबै जिम्मा भगवानलाई लगाएका छैनन्
पूर्वीय दर्शन अवैज्ञानिक र पश्चिमा दर्शन वैज्ञानिक भन्नु झुटो भएको ओलीको भनाइ छ। पूर्वजहरुले सबै जिम्मा भगवानलाई नलगाएको बरु केही खोज अनुसन्धान गरेको उनले बताए।
'अहिले त कस्तो भने पश्चिमा दर्शन वैज्ञानिक रे! पूर्वीय दर्शन अवैज्ञानिक रे!,' ओलीले भने, 'हाम्रा पूर्वजहरुले भगवानको जिम्मा सबैचिज लगाएनन्। आयुर्वेदका सबै पक्षको विकास गरे। पूर्वीय दर्शन भनेको चिन्तन हो।'