
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले महिलाहरु ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएकी छिन्। ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महिलाले पाएको ३३ प्रतिशत अधिकारलाई लागू गर्दै बाँकी रहेको १७ प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएकी हुन्।
उनले महिलाहरुले राजनीतिक, संवैधानिक र कानूनी रुपमा अधिकार पाएपनि व्यवहारिक रुपमा अधिकारको प्रत्याभूति हुन नसकेको बताइन्।
‘३३ लागु गरेर १७ को अधिकारको प्राप्ति अबको आन्दोलनको एजेण्डा हुनुपर्छ। राजनीतिक, संवैधानिक र कानूनी हिसाबले मात्रै पाएर हुँदैन। आधारभुत हिसाबले अधिकार प्राप्ति एउटा कुरा हो। कार्यान्वयनका लागि आर्थिक हिसाबले आत्मनिर्भर बन्ने कुरा हो’ उनले भनिन्।
यस्तै, छोरीहरुलाई छोरा सरह पैतृक सम्पतिमा अधिकार दिनेकुरा संविधान र कानूनमा उल्लेख गरिएको भएपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनले बताइन्।
‘अहिलेपनि छोरीले छोरा सरह पैतृक सम्पति माथिको अधिकार प्राप्ति संविधानमा छ। कानूनमा छ जीवन व्यवहारमा छैन। त्यसैले यसलाई व्यवहारमा कार्यान्वयन गर्ने कुरामा कुनै संकिर्णता र कुनै माया, मोहको भाव राख्न जरुरी छैन। जीवनमा लागु गरौँ,’ उनले भनिन्।
भुसालले अझैपनि महिलामाथि हुने हत्या, हिंसा र बलात्कारका घटनाहरु घट्नु चुनौतीको विषय भएको बताइन्। महिलामाथि हुने अपराधलाई रोक्नु राज्यको कार्यभार भएको भन्दै उनले यसका लागि राज्यसँगै प्रत्येक व्यक्ति, परिवार र समाजपनि जिम्मेवार हुनुपर्ने बताइन्।