काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राज्यको नीति निर्माण र नेतृत्वको तहमा महिलाहरुलाई पुर्याउनुपर्ने बताएकी छिन्। ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यको सबै तहमा महिला र पुरुषको बराबरी हैसियत भएमात्र मुलुकको विकास हुने बताएकी हुन्।
‘राजनीतिक दृष्टिकोणले प्रतिनिधित्वको हिसाबले गरेको उपलब्धि, उपलब्धि हो। त्यो उपलब्धि धेरै विकसित देश भन्दा हामी अगाडी छौँ। तर पनि नेतृत्वको खाँचो छ,’ उनले भनिन्।
रेग्मीले अझैपनि घर घरमा महिलामाथि कुनै नकुनै प्रकारको हिंसाका घट्ना भइरहेको भन्दै घरभित्र महिलामाथि हुने विभेद र असमानताको जरो उखेल्नुपर्ने बताइन्।
‘घरभित्र हिंसाको जरो छ। घरभित्र विभेदको जरो छ। घरभित्र असमानताको जरो छ। त्यो जरोलाई घरभित्रबाट उखेलेर फाल्न नसकेसम्म यो समाजको, मुलुकको विकास हुन सक्दैन,’ उनले भनिन्, ‘किनकी महिलाको समग्र विकास नभइकन, चौतर्फी विकास नभइकन, महिलाले समान अधिकार नपाएसम्म समाजको विकासको कल्पना गर्नु भनेको गलत कुरा हो।’
मन्त्री रेग्मीले महिलाहरुको आर्थिक जीवनस्तरमाथि उठाउनुपर्नेमा जोड दिइन्। साथै, पुरुष मानसिकतामा परिवर्तन नभएसम्म महिला हिंसा अन्त्य हुन असम्भव रहेको बताइन्।
‘आगामी दिनमा महिला हिंसाविरुद्धको अभियानमा पुरुषलाई पनि सहभागी गराउनुपर्छ’ उनले भनिन्।