PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

खेलकुदमा महिला : थोरै लगानी, धेरै उपलब्धि !



मुकुन्द घिमिरे

खेलकुदमा महिला : थोरै लगानी, धेरै उपलब्धि !

काठमाडौं : आज अन्तर्राष्ट्रिय नारी दिवस। औपचारिक रुपमा महिलाको सबै क्षेत्रमा समान सहभागिताको चर्चा हुने दिन। हरेक वर्ष आजका दिन बाहेक यस्ता विषयमा बहस र छलफल हुन्थ्यो भने के हुन्थ्यो? खेल क्षेत्रमा महिलामाथि गरिएको लगानी र प्रतिफलले प्रश्नको जवाफ केही हदसम्म दिन्छ।

नेपालमा मात्रै होइन विश्वव्यापी रुपमै खेलकुद क्षेत्रमा सहभागिताको हिसाबले समान देखिन्छ महिलाको उपस्थिति। लगानी र प्राथमिकताका हिसाबले भने त्यही उपस्थिति अत्यन्तै कमजोर छ। अझ प्राथमिकताको सूचीमा नपर्नु र भएका खेलका गतिविधि कर्मकाण्डीमै सीमित हुँदा खेलकुदमा महिलाको संघर्ष कठिन देखिन्छ। खेल पुरुषका लागि, खेल हेर्ने दर्शक पनि पुरुष नै बढी, खर्च र लगानी पनि पुरुषकै अधिपत्यमा हुन्छ भन्ने मानसिकता प्रष्ट देखिन्छ- खेलकुद क्षेत्रमा। खेलकुदको कुनै लिङ्ग हुँदैन। तर, यसभित्रको विभेदको दृश्य हेर्ने हो भने अघिल्लो वाक्य गलत सावित भइरहेको छ।

उदाहरणका लागि फुटबल प्रतियोगिताको शहीद स्मारक 'ए' डिभिजन लिगमा जुन लगानी र चर्चा हुन्छ,  महिलाको राष्ट्रिय लिग त्यसैअनुरुप देखिन्न। न लगानी हुन्छ न त प्राथमिकताको सूचीमै। शहीद स्मारकले स्थापित गरेको भाष्य नै हो- खेल पुरुषका लागि मात्र हो!

क्रिकेटको हाल पनि फरक छैन। पुरुष टोलीको फ्रेन्चाइज र राष्ट्रिय प्रतियोगिता हुँदा कीर्तिपुर मैदान भरिभराउ हुन्छ। तर, महिला क्रिकेट प्रतियोगिताको फाइनल खेलमै पनि दर्शकको उपस्थिति निराशाजनक हुन्छ।

प्राथमिकता एउटा विषय हो भने परिणाम फरक। केही खेलमा महिला खेलाडीले आफ्नो पहिचान पुरुष खेलाडीले भन्दा बलियो नबनाएका होइनन्। जस्तै, नेपालको राष्ट्रिय पुरुष टोलीले भन्दा महिला भलिबल टोलीले बढी चर्चा कमाइरहेको छ परिणामका दृष्टिले। यद्यपि, महिला र पुरुषबीच असमान तलब/भत्ताको विषय सधैं कायम रह्यो। समान तलबको सन्दर्भमा नेपालमात्र होइन अमेरिकामा समेत विवाद छ। त्यहाँ यसैबारे विवाद चलिरहँदा अखिल नेपाल फुटबल संघ एन्फाले २०७७ मंसिरमा पुरुष र महिला दुवै खेलाडीलाई समान तलब दिने निर्णय गरेको छ। यसलाई लैंगिक हिसाबले खेलकुदमा एउटा क्रान्ति नै भएको मान्न सकिन्छ।

फुटबलमा तलब भत्तालाई लिएर जे भयो अन्य खेलकुदका विधामा पनि त्यस्तै भयो भने परिवर्तन हुनसक्ने बताउँछिन् पूर्व राष्ट्रिय खेलाडी तथा खेलकुद विज्ञ इन्दिरा निरौला। उनको सुझाव छ- एन्फालाई अरु खेलका संघहरुले पछ्याउनुपर्छ।

'फुटबलको उदाहरण सबै खेल संघहरुले हेर्नुपर्छ। फुटबलले बराबर गर्‍यो। क्रिकेटमा विभेद भयो भनेर विवाद थियो,' उनले भनिन्, 'क्रिकेटमा त मेडल लिने पनि सम्भावना छ, सबै संघले मेडलमा दाबेदारी देख्दा अझ महिला खेलाडीमा बढी लगानी गर्नुपर्ने देखिन्छ।'

खेलमात्र होइन, ती खेललाई नियमन गर्ने तथा नीति निर्माणको तहमा महिलाको उपस्थिति नगन्य छ। महिलाको दृष्टिकोणबाट खेल क्षेत्रलाई नहेरिनुमा उनीहरुको यस्तो तहमा उपस्थिति नहुनु पनि एउटा कारण हो।

खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव लगायतका कार्यकारी रुपमा शक्तिशाली पदमा महिलालाई पत्याएको देखिँदैन। यद्यपि, खेलकुद विकास ऐन आएयता तुलनात्मक रुपमा महिलाको उपस्थिति बढेको निरौलाको बुझाइ छ। तर त्यसलाई पर्याप्त मान्न उनी तयार छैनन्।

'पहिलाको तुलनामा राष्ट्रिय खेलकुद परिषदमा पनि महिला सदस्य बढेका छन्। पहिला धेरै कम थिए। नयाँ ऐन आएपछि कार्यकारीमै दुई जना महिला हुनुहुन्छ,' निरौलाले भनिन्, 'सदस्य सचिव, उपाध्यक्ष तथा विशिष्ट श्रेणीका पदको सन्दर्भमा अहिले सदस्य सचिवको छनोट कमिटीमा क्याबिनेटसम्म प्रस्ताव (तीन जनाको) लैजाँदा एकजना महिला हुनुपर्ने नियम छ।'

त्यस्तै, अहिलेको ऐनले सम्भावनाको ढोका भने खोलेको छ। खेललाई करिअर बनाएर अगाडि बढिरहेका महिलालाई अझै अघि बढ्ने अवसरचाहिँ तयार हुँदै गएको देखिन्छ।

'पुरुषोत्तम पौडेल खेलकुद मन्त्री हुँदा शकुन्तला नगरकोटीलाई सात दिनका लागि कामचलाउ सदस्य सचिवको रुपमा राखिएको थियो,' नेतृत्वमा महिलाको उपस्थितिबारे निरौला भन्छिन्, 'हामी हरेक कुरामा असन्तुष्ट हुनुचाहिँ हुँदैन। कतिपय स्थानमा महिला आफै पनि सक्रिय हुन चाहँदैनन्। बोर्डमा पाँच/छ जना महिला हुनु राम्रो पक्ष हो। यसले खेलकुदमा राम्रो छाप छोड्छ।'

प्रशिक्षणमा महिलाको उपस्थिति

महिला प्रशिक्षकहरुले भने प्राथमिकता नपाएको टड्कारै देखिन्छ। महिलाको राष्ट्रिय फुटबल लिग होस् या अन्य कुनै प्रतियोगिता, प्रशिक्षकका रुपमा पुरुष नै देखिन्छन्। विभागीय लगायत केही टोलीमा महिला प्रशिक्षक राखे पनि उनीहरुलाई पूरा जिम्मेवारी दिएको पाइन्न। यस्तो खाले अवस्था नेपालमा मात्र होइन, विदेशमा पनि रहेको निरौलाको बुझाइ छ।

'कोचहरुको कुरा गर्दा भलिबलमा हेडकोच सलिना श्रेष्ठ हुनुहुन्थ्यो। सहायक कोच जगदीश भट्ट हुनुहुन्थ्यो।उहाँ हेडकोचलाई वरिष्ठ प्रशिक्षक नदिएर साफमा पछाडि राखेपछि उहाँले तुरुन्त छाड्नुभयो,' निरौलाले भनिन्, 'यो उदाहरण भयो- महिला भएकै कारण काम गर्न सक्दैनन् भन्ने मनस्थितिको।' कतिपय ठाउँमा महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले कम्तीमा महिला खेलाडीको हेडकोच महिला नै हुनुपर्ने उनको सुझाव छ।

रेफ्रीको सन्दर्भमा पनि संघ लगायत खेलकुदमा निकायले सहजीकरण गर्नुपर्ने आवश्यकता निरौलाले औल्याइन्। रेफ्री फुटबलमा उल्लेख्य संख्यामा भए पनि भलिबलमा एकजना मात्रै छिन् नेपालमा। 'महिलाहरुले नसक्ने भन्ने होइन तर अवसर दिइएको छैन। जस्तै अन्तर्राष्ट्रिय रेफ्री हुनका लागि बाहिर गएर कोर्स गर्नुपर्छ। त्यसका लागि संघ, खेलकुद मन्त्रालय या राखेपले सहजिकरण गर्नुपर्छ,' निरौलाले भनिन्।

त्यस्तै खेलकुद मन्त्रालयमा पछिल्ला १५ मन्त्रीमध्येमा २ मात्र महिला मन्त्री रहेको पाइन्छ।

नेपाली क्रिकेटमा पारिश्रमिकमा पनि लैंगिक विभेद छ। महिला र पुरुष क्रिकेटरहरुलाई ए, बी र सी ग्रेडमा वर्गीकरण गरिएकामा तलबमा भने अन्तर ठूलो छ। 

नतिजाका कुरा

पछिल्ला पाँच दक्षिण एसियाली खेलकुदका नतिजालाई हेर्ने हो भने नेपाललाई नतिजा दिनेमा महिलाहरु पुरुष खेलाडिभन्दा अगाडि आउन थालेको देखिन्छन्।

राष्ट्रिय खेलकुद परिषदको तथ्यांकमा आठौं दक्षिण एसियाली खेलकुद पछि नेपालले कुल ४४३ पदक हात पार्‍यो। जसमा महिलाले १९१ र पुरुषले २३४ पदक हात पारेका छन्।

सोही समयमा नेपालले स्वर्ण पदक १०९ हात पार्‍यो। जसमा महिलाले ५४ र पुरुषले ५५ पदक हात पारे।

ओलम्पिकमा इतिहास हेर्दा महिलाको सहभागिता पुरुष खेलाडीको तुलनामा राम्रो छ। पछिल्लो पटक सम्पन्न टोकियो ओलम्पिकमा त नेपालबाट पाँच खेलाडीले सहभागिता जनाएकोमा ४ जना महिला खेलाडी थिए। त्यस्तै, एसियन कपमा पुरुष खेलाडीले बढी उपलब्धि हासिल गरे पनि महिला खेलाडीको प्रदर्शन पनि उत्तिकै राम्रो छ।

नेपालमा भएको एउटा अनुसन्धानले पुरुष खेलाडीको तुलनामा महिला खेलाडीको करिअर छोटो हुने देखाएको छ। सन् २०१९ मा भएको दक्षिण एसियाली खेलकुदलगत्तै नेपाल ओलम्पिक कमिटीले मानवशास्त्र र समाजशास्त्रका हिसाबले ५२० जना खेलाडिमाथि अध्ययन गरेको थियो। १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएका २५५ जना पुरुष र २६५ जना महिला खेलाडी अध्ययनमा सहभागी गराइएका थिए। त्यही अध्ययनले पुरुषको तुलनामा महिला खेलाडीको करियर छोटो हुने गरेको देखाएको हो। यसले पनि खेल क्षेत्रमा महिलाको उपस्थित र उनीहरुको यसमा निर्भरता कति रहने भन्ने कुराको लेखाजोखा गरेको छ।

उक्त अध्ययनअनुसार विवाहित महिलाहरुको संख्या यस क्षेत्रमा कम देखाएको छ। बिहेपछि पनि पुरुष खेलाडी भने पहिले झै खेलकुदमा सक्रिय रहेको देखिन्छ।

२६५ महिला खेलाडीमध्ये २० प्रतिशत विवाहित महिला थिए भने ४७.४७ प्रतिशत पुरुष।

खेलाडीको शैक्षिक स्तरमा भने पुरुष खेलाडीको तुलनामा महिला खेलाडी अघि देखिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell