काठमाडौं : रसिया र युक्रेनबिच युद्ध भइरहेको आज १३ दिन पुगेको छ। पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ को मान्यता दिएसँगै रसियाले आक्रमण सुरु गरेको थियो। रसियाली सेना र युक्रेनी सेना र नागरिकबिच अहिले विभिन्न स्थानमा लडाइँ भइरहेको छ।
लाखौं मानिसले युक्रेन छाडिसक्दा अझै लाखौं युक्रेनबाट पलायन हुने तयारीमा छन्। युद्धग्रस्त युक्रेनमा रहेका आआफना नागरिकहरुको उद्धार गर्न विभिन्न देश खटिएको छ। भारतले पनि ‘अपरेशन गंगा’ नाम दिएर नै युक्रेनबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन अभियान चलाइरहेको छ।
संयुक्त राष्ट्र संघमा युक्रेनको पक्षमा नखुलेपछि भारत आलोचित बन्दै आएको छ। यस्तै, युक्रेनमा रहेका भारतीयहरु असुरक्षित भएको भन्दै नरेन्द्र मोदी सरकारको नीतिमाथि प्रश्न उठिरहेको छ।
यसबिच युक्रेनको सुमाइ क्षेत्रबाट भारतले आफ्ना सबै नागरिकलाई उद्धार गरेको जनाएको छ। भारतीय संचारमाध्यमहरुका अनुसार १२ वटा बसमा भारतीय नारिकहरुलाई पोल्टाभा क्षेत्र लगिँदैछ।
भारत सरकारले आफ्ना नागरिकसहित सुमाइ क्षेत्रमा रहेका केही बंगालादेशी र नेपाली नागरिकलाई समेत उद्धार गरी बसबाटै पोलटाभा लगेको छ। नेपाल सरकारले युक्रेनमा रहेका नेपालीहरुलाई सकेसम्म छिटो सीमा क्षेत्रमा जान पहिलै देखि आग्रह गर्दै आएको छ। बर्लिनस्थित नेपाली दूतावासले हालसम्म ५११ जना नेपाली सीमावर्ती मुलुकमा स्थानान्तरण भएको जनाएको छ।
भारतले अन्य क्षेत्रमा पनि उद्धारकार्य जारी रहने बताएको छ।
#WATCH | A convoy consisting of 12 buses left from Sumy, Ukraine earlier today. All Indians there have been evacuated. Officials of the Indian Embassy & Red Cross are escorting them. Bangladeshis & Nepalis have also been facilitated. They are currently enroute to Poltava region. pic.twitter.com/0ieUCcjl0S
— ANI (@ANI) March 8, 2022
युद्धग्रस्त क्षेत्रबाट धेरैजसो पोल्यान्ड पुगेका छन्। यस्तै, हंगेरी, माल्डोभा, स्लोभाकिया, रोमानियामा पनि धेरै संख्यामा मानिसहरु शरण लिन पुगेका छन्। युद्धका कारण ४० लाखले युक्रेन छाड्ने सक्ने अनुमान गरिएको छ।