
बुटवलः गृहमन्त्री बालकृष्ण खाँणले मुलुककोे आर्थिक समृद्धिका लागि अमेरिकी सहयोग परियोजना (एमसीसी) कोसेढुङ्गा सावित हुने बताएका छन्। मुलुकमा खेर गइरहेको जलस्रोतलाई सही सदुपयोग गरेर त्यसबाट उत्पादन हुने विद्युतको व्यापारले समग्र आर्थिक क्षेत्र चलायमान बनाउन सकिने विश्वास खाँणले व्यक्त गरे।
मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शान्ति नमूना माविको ६३औँ वार्षिकोत्सवका अवसरमा खाँणले एमसीसीले गरिबी न्यूनीकरण र रोजगारीको अवसरहरु सिर्जना गर्ने बताए। त्यही भएर कांग्रेसले अमेरिकी सहयोगलाई सुरुदेखिनै स्वागत गरेर अगाडि बढेको स्पष्ट पारे।
उनले देशको शान्ति सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको भन्दै शान्ति सुरक्षामा खलल पुग्ने गरी गतिविधि सञ्चालन गर्ने कुनै पनि दल वा समूहप्रति सरकार कठोर रहने बताए।
त्यस्तै मन्त्री खाँणले विद्यालयमा निर्माण भएको १२ कोठे र ६ कोठे भवन, एचएम ल्याबको उद्घाटन समेत गरे।