PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

सुगम शहरको दुर्गम दृश्य, शिक्षाका लागि विद्यार्थीको जोखिमपूर्ण यात्रा



रिना थापा

सुगम शहरको दुर्गम दृश्य, शिक्षाका लागि विद्यार्थीको जोखिमपूर्ण यात्रा

पोखराः न डुब्छ, न छालले रोक्छ। घरिघरि कोल्टिए जस्तो गर्छ। तर, डुब्दैन कागजको डुंगा। अक्षर लेख्ने पाना च्यातेर बनाएको डुंगाको नाता पानीको गहिराइसँग हुँदैन। डुंगाको किनार छैन, खियाउने आवश्यकता पनि पर्दैन। तर, सात कक्षामा अध्यनरत मेरिष्टा गुरुङको डुंगा भने कागजको होइन। पढ्नका लागि डुंगा चलाउनुपर्ने बाध्यता छ उनको। मेरिष्टाको डुंगाले फेवातालको गहिराइ देख्छ। कहिलेकाहीँ त छाल छलेर डुंगा खियाउँछिन् उनी। फेवा पारि छ, उनको गाउँ। फेवा पार गरेर हरेक दिन डुंगा खियाउँदै पढ्न आउँछिन् वारि। उनीसँगै डुंगा खियाउँदै फेवा तर्छन् लुना गुरुङ र समीर गुरुङ पनि। तीनै जना पोखरा ६ मा रहेको बड्स एकेडेमीमा अध्ययनरत छन्। समीर मेरिष्टाका सहपाठी पनि हुन्। लुना कक्षा दुईमा अध्ययनरत छिन्।

विद्यालय जाने समयमा एकै डुंगामा सयर गरेर किनारतर्फ आउँदै थिए तीन जना। ताल पारिबाट सयर गर्दै आइरहेको डुंगाले किनार खोज्दै थियो। सुनौलो भविष्य गन्तव्य खोज्दै गरेका उनीहरुको डुंगाले किनार सधैं भेट्छ। भेटिएको किनारमा डुंगा बाँधेर राख्छिन् मेरिष्टा। साँझ उसैगरी आएको बाटो फर्किनु छ।

शनिबार र अन्य बिदाको दिनबाहेक सधैंको दैनिकी हो यो। 

सधैं आउजाउको हतारो उस्तै। डुंगामा ताल वारि आइपुग्दा करिब आधाघण्टा बढी समय लाग्छ। कहिलेकाहीँ विद्यालय पुग्न अबेर पनि भएको छ मेरिष्टालाई। साँझ मौसम बिग्रनुअघि फर्किनु पर्ने समस्या बेग्लै।

‘कहिलेकाहीँ स्कुल पुग्न ढिलो भएको छ पानी पर्‍यो भने गाह्रो हुन्छ,’ मेरिष्टा सुनाउँछिन्।

डुंगा चलाउनुपर्ने बाध्यताले उनलाई ओहोरदोहोर गर्न सहज लाग्न थालिसकेको छ आजभोलि। सुरुवातमा किनारसम्म छोड्न आमा वा बाबा आउने गर्थे। मेरिष्टाले आफैँ डुंगा खियाउने भएपछि कहिले साथीसँग त कहिले एक्लै ताल पार गर्छिन्।

फेवा किनारमा हतारमै भेटिएका थिए शिव गुरुङ पनि। उनी आफ्नो छोरीलाई विद्यालय पुर्‍याउने हतारमा थिए। छोरीलाई ल्याउने र लैजाने उनको दैनिकी हो। ताल पारी बस्ने सबैको समस्या हो यो। बाध्यता आजभोलि सामान्य दैनिकी बन्न पुगेको शिव बताउँछन्।

‘दुख छ सधैं मौसम भनेजस्तो हुँदैन छाल आए छल्न सिकियो यस्तै छ,’ उनले सुनाए ।

ताल पारिबाट मेरिष्टा र उनका साथी जसरी नै आउँछिन् विपना श्रेष्ठ। विद्यालय बिदा भएर घर फर्किने बेला करिब ५ बजे किनारमा भेटिएकी थिइन् उनी। फेवा सेकेन्डरी बोर्डिङमा कक्षा ८ मा अध्ययनरत विपना कायाकमा ताल ओहोरदोहोर गर्छिन्। सात कक्षासम्म पढ्दा थोरै सहज थियो। बिदा छिटो मिल्थ्यो। फर्किन चाँडो हुन्थ्यो। आठ कक्षा पढेपछि ट्युसन पढ्नु पर्ने। बिदा छिटो मिले पनि ट्युसन क्लासले ढिलो हुन्छ।

पोखराको मौसम र वर्षातको भर हुँदैन। बर्खामा उती खेरै घाम लाग्ने र पानी पर्ने मौसमले उस्तै दुख दिन्छ। साँझ परेपछि एक्कासी लाग्ने हावाहुरी र पानीको अगाडि घर पुग्ने हतारो हुन्छ उनलाई।

अचानक आएको हावाका कारण विपना कतिपटक तालको बीचबाटै फर्किएकी छिन्। ताल पार गर्न नसकेर लेकसाइडमा दिदीको घरमा बास बस्न कयौँपटक पुगेकी छिन् विपना ।

‘अहिले जाडोको समयमा केही हुन्न तर गर्मी लागेपछि गाह्रो हुन्छ कहिलेकाहीँ बीचमा पुग्दापुग्दै हावा लाग्छ,’ विपनाले सुनाइन्, ‘त्यस्तो बेला यता जाने कि उता जाने हुन्छ कतिपटक फर्किएकी छु डर पनि लाग्छ त्यस्तो बेला घरिघरि।’

ताल किनारमा हुर्केका उनीहरुको डुंगासँग बालखैमा मितेरी साइनो गाँसिसकेको छ। त्यसैले पनि होला ताल वारपार गर्ने विद्यार्थीले सहजरूपमा डुंगा दैनिक खियाउँछन्।

विपना मुस्कुराउँदै भन्छिन्, ‘डुंगा चलाउन त ३ कक्षाभन्दा अगाडिबाट सिकेको हो सानैमा अरुको हेर्दाहेर्दै जानेको।’

उसो त, ताल पारिका अनदु लगायतका गाउँमा विद्यालय नभएको पनि होइन। आधारभूत तहसम्म गाउँमा विद्यालय छ। कक्षा ३ सम्म गाउँकै विद्यालयमा पढेकी थिइन विपनाले। कक्षा ४ बाट पोखरा बजार आउन थालिन् पढ्न। नेपाली माध्यममा पढेकी उनले विद्यालय परिवर्तन गर्दा दुई वर्ष एकै कक्षामा दोहोरिन परेको थियो।

तालको ब्युटिफिकेसनमा मात्र ध्यान दिएका छौं : वडाध्यक्ष

ताल पारि देखिने मनोरम दृश्य भित्रको बेग्लै कथा छ। सुगम शहर र पर्यटकीय नगरीमा भएर पनि दुर्गमको समस्या भोगिरहेको छ ताल पारि रहेको वडा २२ ले। पोखरालाई पर्यटकीय नगरी बनाउने त्यही फेवातालले वडा २२ लाई छुट्टाइदिएको छ। सिम्ले, पात्ले, लामडाँडा र अनदु गाउँ पर्छ वडा २२ मा। वडा २२ मा आधारभूत विद्यालय छ। अनदुमा भएको विद्यालयमा पनि अहिले १२ जना विद्यार्थी छन्। एक सहयोगी र शिक्षक दुई गरी तीन जना कार्यरत छन् विद्यालयमा।

त्यसपछि माध्यमिक शिक्षाका लागि पोखरा बजार आइपुग्नु पर्छ। दैनिक जोखिमपूर्ण यात्रा गरिरहेको विद्यार्थीको समस्यालाई वडाले वास्ता गरेको छैन। स्थानीय तहको चुनाव जितेर आएपछि २२ का वडाध्यक्ष मित्रलाल बरालले तालपारिको गाउँको लागि बेग्ले मोटरबोट राख्ने प्रयास नगरेका भने होइन। तर, त्यसको लागि अनुमति मिलेन। तालपारिको समस्या उस्तै रह्यो।

तालपारिका आफ्नै अनेकौं समस्या छन्। तर, विद्यार्थीको सुरक्षा जस्तो विषयमा समेत वडाले केही सम्बोधन गर्न सकेको छैन। ओहोरदोहोर गर्ने विद्यार्थीले लाइफ ज्याकेटसम्म प्रयोग गर्दैनन्। स्थानीय सरकारले वास्तासम्म गरेको छैन।

वडाध्यक्ष बराल पनि सहजै स्वीकार गर्छन् उक्त कठिनाइ।  

‘विद्यार्थीहरुलाई लाइफ ज्याकेट छ तर प्रयोग गरेको पाइँदैन हाम्ले नि सधैं निगरानी त गरिएको छैन। अब यो विषयवस्तु सबैभन्दा गम्भीर कुरा पनि हो,’ बरालले भने,‘हावाहुरी आउला केटकेटी मान्छेको मात्र जिम्मेवारीमा यसरी नगर एउटा जिम्मेवार मान्छे राख, डुंगा समितिलाई फेरि पनि भनेर सुरक्षित आउजाउ गराउने व्यवस्था गर्नु होला भनम्ला हाम्ले।’

वडामा बराल निर्वाचित भएर आइसकेपछि मोटरबाटो खन्ने, ताल छेउको पैदलमार्ग बनाउने र शिक्षकहरुलाई तालिम दिने काममात्र भएको छ। वडाको ध्यान विद्यार्थीप्रति नगएको बराल स्वयं स्वीकार गर्छन्।

‘महानगर र स्थानीय तह तालको संरक्षण, सरसफाइ ताललाई ब्युटिफिकेसन कसरी गराउने भन्ने विषयमा छ त्यस्तो खालको विद्यार्थीलाई सहज बनाउने विषयवस्तुमा ठ्याक्कै महानगरमा पनि छलफल भए छैन,’ उनले भने,‘उही हाम्रो वडा तहमा पहिल्यै एकपटक गरेकै हो। तर अभिभावकसँग बसेर कसरी हुन्छ फेरि एकचोटी कुराकानी गर्छौँ।’

फेवाको मार्गबाहेक वडा २२ को बासिन्दालाई अर्को विकल्प नभएको होइन। तर, लामो अनि घुमाउरो। बाटो निर्माण सुरु गरेको चार वर्ष बितिसक्यो अझै पक्की बनेको छैन। खनेको बाटो पनि उस्तै अप्ठ्यारो र असहज छ। अर्को बाटो प्रयोग गर्न पहिले गाउँबाट करिब आधा घण्टामाथि उक्लिनु पर्छ। शान्ति स्तूप निस्किएर छोरेपाटन झर्नेगरि घुमाउरो र खर्चिलो विकल्प छ वडा २२ का बासिन्दालाई। सो बाटोको लागि अहिलेसम्म २० लाख बजेट परेको छ। शान्ति स्तूपबाट तल छोरेपाटन झर्दा बाटो पिच बनिसकेको छ ।

‘चारवर्ष भयो सुरु भएको। अहिले कच्ची नै छ। मर्मत सम्भारको लागि वर्षेनि पैसा हालिराखेका छौँ। बाइक र सानो कार जान्छ अहिलेसम्म २० लाख जति परेको छ। त्यहाँ ग्राभेल बनाएर पिचको लागि अझै समय लाग्छ,’ उनले भने।

मेरिष्टा र विपना जस्तै दश जना जति विद्यार्थी शिक्षाका लागि डुंगामा ओहोरदोहोर गर्छन्। फेवा पारिबाट विद्यार्थीमात्र होइन त्यहाँका बासिन्दाको यातायातको भर पनि डुंगा नै हो। सडक सञ्जाल अझै राम्रोसँग जोडिन सकेको छैन। फेवा पारि स्वास्थ्य चौकी र सामान्य मेडिकल पसल समेत छैन। खाद्यान सामान डुंगामै ओर्साने हो। फेवा पार बनेको केही रेष्टुरेन्टले थोरै मात्रामा पर्यटकलाई आर्कषण गरेको छ। तर, ताल पारि पुग्न पर्यटकलाई झन खर्चिलो छ। न्यून संख्यामा आन्तिरक पर्यटकको चहलपहल हुन्छ।

आर्कषण बनेको ४० करोडको महादेवको मूर्ति पनि यही २२ नम्बर वडामा पर्छ। धार्मिक पर्यटनस्थलको रुपमा छोटो समयमै आर्कषण बनेको विशाल शिवको मूर्ति पुग्ने बाटो पनि उस्तै छ। मूर्ति हेर्न पर्यटक सिद्धार्थ राजमार्गबाट छोरेपाटनको र शान्ति स्तूपको बाटो हुँदै माथि लाग्छन्।

फेवातालले पोखराको स्वरुप फेरेको छ। तर, ताल छेऊ बस्ने बासिन्दाको दैनिकी बने तालले नै कष्टकर बनाएको छ। अझै पनि गाउँका प्रत्येक घरमा पानीको धारा पुगेको छैन। तर, ‘एक घर एक डुंगा’ त्यहाँको अघोषित आवश्यकता हो। आवश्यकता अनुसार सबैका घरघरमा डुंगा छन्। अत्यावश्यक खाद्यान्नदेखि घर निर्माणको सामान लैजान डुंगाकै प्रयोग हुन्छ। ताल पारि पर्ने गाउँको जीवन डुंगामा अड्एिको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell