
यूईएफए च्याम्पियन लिग अन्तर्गत गएराति सम्पन्न खेलमा जर्मन क्लब बायर्न म्युनिखले अस्ट्रियन क्लब साल्जबर्ग एफसीमाथि ७-१ गोलको फराकिलो जित निकालेको छ। घरेलु मैदान एलिनाज एरेनामा सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा साल्जबर्गमाथि ७-१ गोलअन्तरको जित निकालेको बार्यन समग्रमा ८-२ गोलअन्तरले अघि रहँदै क्वाटरफाइनल प्रवेश गरेको हो। पहिलो लेगको खेलमा यी दुई टोली १-१ को बराबरीमा रोकिएका थिए।
गएराति बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दा थोमस मुलरले दोहोरो गोल गरे। त्यस्तै सर्ज गनब्री र लेरोए सानेले समान १ गोल गरे। उता साल्जबर्गका लागि मउरिट्स कजाएरगार्डले सान्तना गोल फर्काए।
खेलको १२ औं र २१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका लेवान्डोस्कीले २३ औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पुरा गरे। त्यस्तै गनब्रीले ३१ औं मिनेटमा गोल गर्दा पहिलो हाफमै बायर्न ४-० ले अघि रह्यो। दोस्रोमा मुलरले दुई गोल गरे। उनले ५४ र ८३ औं मिनेटमा गोल गर्दा सानेले ८५ औं मिनेटमा गोल गरे। उता साल्जबर्गका कजाएरागार्डले ७० औं मिनेटमा गोल फर्काएका थिए।
गएराति नै सम्पन्न च्याम्पियन्स लिगकै अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानसँग पराजित भएर पनि समग्रमा २-१ अन्तरले अघि रहँदै इङ्ग्लिस क्लब लिभरपुलले क्वाटरफाइनलको यात्रा तय गरेको थियो।