PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, एमसीसी विवाद र स्थानीय चुनाव मुख्य एजेन्डा



पहिलोपोस्ट

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, एमसीसी विवाद र स्थानीय चुनाव मुख्य एजेन्डा
फाइल फोटो

काठमाडौं : नेकपा (एकीकृत समावादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी विवादबारे केन्द्रीय कमिटीमा छलफल गर्ने भएको छ। त्यसका लागि कार्की बैंक्वेटमा आज ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।

अध्यक्ष माधवकुमार नेपालले स्थायी कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई अनुमोदन गर्ने एजेण्डा रहेको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए। 'एमसीसी विवाद र राजनीतिक प्रतिवेदनबारे छलफल हुन्छ,' उनले भने। स्थानीय चुनावको तयारीबारे पनि पार्टीले आवश्यक निर्णय गर्न बैठक बोलाएको उनले बताए। 

एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसी पारित गराउने निर्णयको विरोध गरेका थिए। उनको विरोधका बाबजुद एमसीसी एकीकृत समाजवादीको सहयोगमा प्रतिनिधिसभाले फागुन  १५ गते पारित गरिसकेको छ। पार्टी निर्णयको विरोध गरेको भन्दै अध्यक्ष नेपालले खनालको स्थायी कमिटीमा आलोचना गरेको एकीकृत समाजवादीका नेताहरु बताउँछन्।

यस्तै, सत्ता गठबन्धनमा कसरी चुनावी तालमेल गर्ने भन्नेबारेमा पनि पार्टीभित्र छलफल हुने भएको छ। केन्द्रीय कमिटी सदस्यहरुको सल्लाहअनुसार अघि बढ्ने तय भएको तुलाधरले बताए। उनले भने, 'हामी यसबारेमा पनि राय सल्लाह लिन्छौं। हामी प्रष्ट पनि छौँ, एकीकृत समाजवादीका लागि मात्रै गठबन्धन आवश्यक भएको होइन। सबै दलहरुले चाहेर हुने कुरा हो।' वैशाख ३० गते स्थानीय तहको चुनाव नजिकिँदै गर्दा आवश्यक तयारी गर्न एकीकृत समाजवादीले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ।

यस्तै, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरिरेहको अवरोधले संसद् बैठक राम्ररी सञ्चालन हुन नसकेको भन्दै अध्यक्ष नेपालले विघटन गरेर संसदीय निर्वाचन गर्न सकिने तर्क गरेका थिए। नेकपा माओवादी केन्द्र मध्यावधि निर्वाचनका लागि सहमत भए पनि प्रधानमन्त्री शेरबहादुर देउवा भने तयार नभएको बताइन्छ। देउवाले गठबन्धनका नेताहरुलाई ओलीको सहमतिविपरीत संसद् विघटन गर्न नसकिने जवाफ दिएको सत्ता घटक दलका नेताहरुको भनाइ छ।

एमसीसी पारित गराउन कांग्रेसले एमालेसँग तालमेल गर्न  खोजेको थियो। तर एमालेले माधव नेपाल सहित एमाले छाड्ने १४ सांसद वा सभामुख अग्नि सापकोटामाथि कारबाहीको सर्त तेर्स्याएपछि एमालेसँगको कांग्रेसको समीकरण तुहिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell