PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सात वर्षपछि बनेको 'चिसो एस्ट्रे' को भित्रीकथा : भूपिको फ्यान, ११ पटक पुनर्लेखन



लक्ष्मी बलायर

सात वर्षपछि बनेको 'चिसो एस्ट्रे' को भित्रीकथा : भूपिको फ्यान, ११ पटक पुनर्लेखन

काठमाडौं: सानैदेखि फिल्मप्रति खुब चासो थियो दिन्श (दिनेश) पाल्पालीको। उमेरले परिपक्वता हासिल गर्दै जाँदा फिल्म बनाउनेबारे सोच्न थाले। र, एक दिन त्यही सपना पूरा गर्न हुँदाखाँदाको एनजीओको जागिर छोडे। र, घरपरिवारको जिम्मेवारी पनि।

२०६२ ताका उनी कञ्चनपुरबाट काठमाडौं हान्निए।

कलंकी प्रवेश गर्नासाथै उनलाई काठमाडौं निकै अनौठो लाग्यो। र, मन पनि पर्‍यो। नपरोस् पनि किन, उनका लागि सपना पूरा गर्ने सहर थियो काठमाडौं। सुरुवाती दिनमा आफूलाई काठमाडौंमा टिकाउन उनले केही काम गरे। त्यो पनि मनोरन्जसम्बन्धित। किनकि उनलाई अनुभव बटुल्नु थियो।

'सुरुमा टेलिभिजन कार्यक्रम प्रोडक्सनदेखि पोस्टर डिजाइनसम्म गरेँ। सिनेमामा आउने वातावरण बनाउन यसले सहयोग गर्‍यो,' उनले भने।

त्यसपछि लेखनदेखि भिडियो निर्देशनसमेत गर्न थाले। पाल्पालीले फिचर फिल्म ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ समेत निर्देशन गरिसकेका छन्। जुन फिल्मले काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ) का साथै थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका फेस्टिभलमा अवार्ड जितेको थियो।

फिचर फिल्मको सफलतापछि धेरैले व्यावसायिक फिल्म बनाउन हौसला दिन थाले। उनी नयाँ फिल्मबारे सोच्न थाले।

साहित्यमा रूचि राख्ने पाल्पाली कवि भूपि शेरचनका ठूला फ्यान हुन्। यतिसम्म कि भूपिका कविताहरु उनलाई कण्ठै थियो। तीमध्ये मन परेको कविता थियो- चिसो एस्ट्रे।
यहाँ जो आउँछन्
मुटुभरि आगो ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन् 
हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन् 
र यहाँबाट जो जान्छन् 
पोल्टाभरि निभेका विश्वासहरु र ठुसा सपनाहरु सोहोरेर जान्छन् 
यस्तो छ यो चार भन्ज्याङ खाल्टो
एउटा चिसो एस्ट्रे जस्तो छ
यो चार भन्ज्याङ खाल्टो

काठमाडौं आएपछि त यो कविता निकै सान्दर्भिक लागेछ पाल्पालीलाई। यहाँको कला र संस्कृतिले पनि उनलाई लोभ्याउँदै लग्यो। काठमाडौं आएपछि त सहरकै कथा पस्कन पाए हुन्थ्यो भन्ने लाग्यो उनलाई। र, कविताका यिनै लाइनबाट प्रभावित भएर 'चिसो एस्ट्रे' को कथा जन्माए।

'मलाई काठमाडौं निकै मन पर्छ। यहाँबाट प्रभावित पनि छु। मलाई यो सहरको कथा भन्न 'चिसो एस्ट्रे' कविताले गाइडलाइनको काम गर्‍यो,' उनले भने, 'चिसो एस्ट्रेले काठमाडौंलाई चित्रण गरेको लाग्छ।'

पाल्पालीलाई दर्शकसामु नेपाली र मौलिक कथा दिनु थियो। जसले नेपाली युवाहलाई छुन सकोस्। आफ्नै कथा हो भनेर दर्शकले भन्न सकून्। भूपिजस्ता लोकप्रिय कविकै कविताबाट फिल्म बनाउँदा सबैले मन पराउने उनको 'स्वार्थ' पनि थियो।

निर्देशक दिन्श (दिनेश) पाल्पाली (दायाँबाट पहिलो)


'यो कविता सारा नेपालीको कथा हो। जो काठमाडौं उपत्यकामा आउँछन्। बस्छन् र, जान्छन्,' उनले भने, 'काठमाडौं राम्रो छ भनेर यो फिल्ममार्फत भन्ने प्रयास गरेका छौँ। काठमाडौंबारे नयाँ दृष्टिकोण बनाउन पनि फिल्मले सहयोग गर्छ।' फिल्म युवाहरूले जिउने शैली, उनीहरूले लिने निर्णय र त्यसको परिणाममा केन्द्रित रहेको उनले बताए।

२०७१ सालतिर पाल्पालीले दुई दिन लगाएर फिल्मको पहिलो ड्राफ्ट तयार पारेका हुन्। त्यसपछि जोडिए निर्माता महेशराज तिमल्सिना। महेशलाई यो फिल्मको कथा मन परेपछि प्रि-प्रोडक्सनको काम सुरु गरियो। फिल्मको कथा ११ पटक रिराइट गरेर तयार पारेको सम्झन्छन् निर्देशक पाल्पाली।

‘पहिलो ड्राफ्ट तयार पार्दा फिल्मको कथा पुरै धाराप्रवाह जस्तै भयो। खासै चित्त बुझ्दो भएन। पछि अन्य व्यक्तीहरू पनि टिममा जोडिनुभयो,' उनले भने।

त्यसपछि कलाकारहरू सृष्टि श्रेष्ठ, दिव्य देव, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङ जोडिए। २०७२ को जेठ पहिलो सातातिर फिल्मको छायाङ्कन गर्ने पक्का भएको थियो। तर वैश्वाख १२ गतेको भुकम्पले फिल्मको सुटिङ रोकियो। कहिले भुकम्प त कहिले भारतको नाकाबन्दीका कारण काम अघि बढ्न सकेन।

लामो समयपछि सन् २०१७ मा फिल्मको सुटिङ सुरु गरियो। फिल्म १२३ दिन लगाएर खिचिएको बताउँछन् पाल्पाली। भन्छन्, ‘फिल्मले २ वर्षको अवधिलाई समेटेको छ। हामीले निकै समय लगाएर फिल्मको सुटिङ गरेका हौँ। मौसम कुरेर नै सुटिङ गरेकाले पानी र जाडो सबै नेचुरल छ। फिल्ममा १२३ दृश्य छन्। एउटा कलाकारबाट पाँचवटा फिल्ममा काम गर्ने समय पनि लिएको छु।’

२०७७ जेठ १६ मा फिल्म रिलिज गर्ने तयारी थियो। तर कोरोना महामारीका कारण मिति सर्‍यो। अन्तत: आउँदो चैत ४ गते फिल्म रिलिज हुँदै छ।

'हामीले फिल्मलाई काव्यात्मक न्याय दिने प्रयास गरेका छौं। एउटा सुन्दर फिल्म जसले नेपाली सिनेमा क्षेत्रमा इँटा थपोस्,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell