PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

प्रकाशमानको प्रश्न : राष्ट्रघाती भए संघीय संसदबाट एमसीसी पास हुन्थ्यो त?



पहिलोपोस्ट

प्रकाशमानको प्रश्न : राष्ट्रघाती भए संघीय संसदबाट एमसीसी पास हुन्थ्यो त?

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेकाले नै पार्टीले वकालत गरेको बताएका छन्। शंखमुलमा बुधबार बिहान आयोजित बुथ कार्यसमिति गठन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस प्रतिपक्षमा हुँदा पनि एमसीसी पक्षमा नै रहेको बताएका हुन्।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउन, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ सिंहले भने। 

उनले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने पनि बताए। ‘एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गरियो,’   सिंहले भने, ‘राष्ट्रघाती भए संघीय संसदबाट पास हुन्थ्यो त? सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्ने? यसरी त मिल्दैन नि।’

उनले एमसीसीका बारेमा भ्रम छर्नेहरुले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेको बताए। ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरुले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ।’

उनले पार्टीका सबै नेता र कार्यकर्ताहरुले नागरिकको घरघरमा पुगेर एमसीसीबारे वास्तविकता बुझाउनु पर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell