
काठमाडौं : नेपाल भ्रमणमा आएको फ्रान्सेली संसदको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्सेली संसदको फ्रान्स-नेपाल फ्रेन्डसिप ग्रुपका अध्यक्ष भेरोनिक रायोट्टन नेतृत्वको संसदको टोलीले देउवासँग भेट गरेको हो।
भेटका क्रममा द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
नेपाल - फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष समेत रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणमा उनीहरु नेपाल आएका हुन्।
टोलीमा उपाध्यक्ष निकोलस फरिसियर र ग्रेजिलिया मेल्सियरसमेत रहेको दूतावासले जनाएको छ। यो टोली शनिवारसम्म नेपालमा रहने छ।
टोलीले नेपालसँगै राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्र मन्त्री नारायण खड्का, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनसहित निजि क्षेत्रका प्रतिनिधि र थिंक ट्यांकसँग भेट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।