
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उनको प्रतिवेदनमाथि उठेका प्रश्न र सुझावलाई समेटेर बिहीवारको बैठकले पारित गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।
पार्टीको सम्पूर्ण शक्तिलाई चुनावमा लगाउने गरि गृहकार्य भइरहेको तुलाधरको भनाइ छ। '७७ वटै जिल्ला र ७५३ वटा पालिकामा संगठन बनेको र बन्न बाँकी ठाउँका बारेमा चर्चा हुन्छ। एमसीसी कसरी गिजोलियो? हामी त्यो ठाउँमा कसरी आयौं? भ्रम चिर्ने काम गर्छौं। वैशाख ३० गतेको निर्वाचनमा सम्पूर्ण ताकत लगाउँछौ,'उनले भने।
बाध्यात्मक परिस्थितिमा गठबन्धन बनेको भन्दै एकीकृत समाजवादीले गठबन्धन कांग्रेसका लागि पनि आवश्यक भएको बताएको छ। केन्द्रीय कमिटीको बैठकमा एकीकृत समाजवादीका लागि गठबन्धन नबने अस्तित्वमाथि नै संकट हुने विषयमा छलफल भएको तुलाधरले बताएका छन्।
'गठबन्धनमा कुनै दल साना ठुला कोही छैनन्। गठबन्धन कसका कसका लागि आवश्यकता छ। नेपाली कांग्रेस र हाम्रा लागि पनि गठबन्धन आवश्यक छ। स्थानीय र संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन कायम गरेर जान्छौ। जान सकिएन भने कुनकुन ठाउँमा जान सकिन्छ त्यो काम गर्छौं,'तुलाधरले भने।