
इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको फेब्रुअरी महिनाको ‘प्लेयर अफ द मन्थ’मा नेपाली टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी सहित तीन खेलाडी परेका छन्। नोमिनेसनमा पर्ने पुरुष खेलाडीमा यूएईका बृत्य अरविन्द, नेपालका दीपेन्द्र सिंह ऐरी र भारतका श्रेयस ऐय्यर छन्।
अरबिन्दले ओमनमा सम्पन्न टी-२० विश्वकपको छनोटमा यूएईलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। १९ वर्षे उनले पाँच खेलमा २६७ रन जोड्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
यो महिना उत्कृष्ट प्रदर्शन गरेका ऐय्यरले टेस्ट क्रिकेटमा भारतको जितमा महत्वपूर्ण भूमिका खेले। वेस्ट इण्डिजविरुद्धको एक दिवसीय र टी-२० मा प्लेयर अफ द म्याच बनेका उनले एक दिवसीय सिरिजको अन्तिम खेलमा ८० रनको योगदान दिँदै भारतलाई जित दिलाएका थिए। त्यस्तै, श्रीलंकाविरुद्धको खेलमा पनि अर्धशतकीय पारी खेलेका उनले लगातार तीन अर्धशतकीय पारी खेलेका थिए।
दीपेन्द्र सिंह ऐरी विश्वकप छनोट ए को समूह बी मा नेपाललाई समूह विजेता बनाउँदा सबैभन्दा महत्वपूर्ण खेलाडी रहे। अलराउण्ड प्रदर्शन गरेका उनले १५९ रन र ६ विकेट लिँदै महत्वपूर्ण योगदान दिए। यो प्रतियोगिता अघि पनि चार देश सम्मिलित सिरिजमा उनले ब्याक-टू-ब्याक उत्कृष्ट प्रदर्शन गरेका थिए। जसमा १४२ रन जोड्दै आयरल्याण्डविरुद्धको खेलमा महत्वपूर्ण ४ विकेट लिएका थिए।
त्यस्तै, महिला तर्फ भारतकी मिथाली राज, भारतकै दीप्ती शर्मा र न्युजिल्याण्डकी अमिलिया केर नोमिनेसनमा परेका छन्।
नोमिनेसनमा परेका खेलाडीबाट आईसीसीको भोटिङ एकेडेमीको स्वतन्त्र समिति र फ्यानको भोटको आधारमा विजेता घोषणा हुने आईसीसीले जनाएको छ।