जनकपुरधामः नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि दोस्रो चरणको निर्वाचनमा शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहलाई समर्थन गर्ने भएको छ। कोइराला समूहका उम्मेदवार दिनेश प्रसैला यादवले निधि समूहका उम्मेवार योगेन्द्र पजियारलाई समर्थन गर्ने भएका हुन्।
सर्वसम्मतिको प्रयाय विफल भएपछि सभापति पदका उम्मेदवार प्रसैलाले पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका पजियारलाई समर्थन गर्ने भएका हुन्।
कोइराला समूहका नेता रामकृष्ण यादवले पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत ल्याएका उम्मेदवार पजियारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए।
उनले भने ‘हामीले सहमति गराउने प्रयास गरेकै हो तर सहमति हुन सकेन। सहमति नजुटेपछि सबैभन्दा बढी मत ल्याएका उम्मेदवारलाई समर्थन गर्नु हामीलाई उचित लाग्यो।’
सोमबार भएको निर्वाचनमा कूल तीन हजार १७३ मतदाता रहेकोमा दुई हजार ९१२ जनाले मत खसेको थियो। पजियारले एक हजार २४८ पाएका थिए।
अर्का प्रतिस्पर्धी सन्तोष यादवले ८८२ मत ल्याएका थिए। भने प्रसैलाले ६३० मत पाएका थिए।